लकडाउनको तेस्रो दिन : अनावश्यक रुपमा हिँडडुल नगर्न आग्रह

बिहिबार, चैत्र १३, २०७६



काठमाण्डौ । लकडाउनको तेस्रो दिन बिहीबार देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका गाडीलाई मात्र चल्न दिइएको गृह मन्त्रालयले जनाएको छ । अरु सार्वजनिक र निजी गाडी भने चलाउन निषेध गरिएको छ ।

सरकारले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथामको लागि गएको मङ्गलबार लकडाउन घोषणा गरेसँगै अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । तर लकडाउन भएको भन्दै केही अत्यावश्यक वस्तु र सेवा सञ्चालन गर्ने निकाय बन्द भएको पाइएको भन्दै त्यसो नगर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, फोहरमैला व्यवस्थापन लगायतका आवश्यक वस्तुको कारोबार गर्ने पसल बन्द नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयले अति नै आवश्यक बाहेक हिँडडुल गर्ने मानिसलाई पहिले सम्झाउने, सम्झाउँदा पनि नमान्नेलाई कानुन अनुसार एक हजार रुपैयाँसम्म जरिबाना तिराउने, जिल्ला प्रशासन कार्यालयको पास बिना चलेका गाडी नियन्त्रणमा लिएर बेलुकी फिर्ता गर्ने गरेको पनि मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले बताए ।

उनका अनुसार नेपाल भारत सीमा नाकामा अलपत्र परेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर क्वरेण्टीनमा राख्ने गरी नेपाल ल्याउन पनि सबै निकायलाई निर्देशन दिइएको छ । तर साना शहरमा मानिसको ओहोरदोहोर पातलो हुँदै गए पनि ठूला शहरमा अझै पनि मानिस निस्किरहेको पाइएको उहाँले बताउनुभयो । अनावश्यक रुपमा हिँडडुल गर्दा कोरोना सर्ने वा फैलने जोखिम हुने भन्दै उनले अति आवश्यक नपरि ननिस्कन आग्रह गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments