लकडाउन अवधिमा २ जनाभन्दा बढी भेला हुन नपाइने

मङ्लबार, चैत्र ११, २०७६



काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बेलायतमा लकडाउन गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले तत्काल लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडाई गर्ने घोषणा गरेका हुन् ।

नागरिकहरूलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाउनुका साथै दुई जनाभन्दा बढी जमघट हुन तथा सामाजिक कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको छ ।

प्रधानमन्त्री जोन्सनले बेलायतमा कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन नयाँ नियन्त्रणको उपाय अघि सारेका हुन् । सर्वसाधारणले आवश्यक किनमेल, दैनिक व्यायाम, औषधोपचार तथा अत्यावश्यक काममा जान आउनबाहेक घरबाहिर निस्किन पाउनेछैनन् ।

प्रधानमन्त्री जोन्सनले यी नियम अटेर गर्नेविरुद्ध प्रहरीले जरिमाना गराउन सक्ने पनि बताए। जोन्सनले आफूले घोषणा गरेका जस्ता उपाय घोषणा गर्न कुनै प्रधानमन्त्रीलाई पनि रहर नहुने भन्दै तीन सातामा यी नियमको समीक्षा गरिने बताए।

कोरोनाभाइरस संक्रमणका कारण बेलायतमा पछिल्लो २४ घन्टामा मात्रै ५४ जनाको मृत्यु भएको छ । बेलायतमा यो सँगै ३ सय ३५ जनाको मृत्यु भइसकेको छ ।

यसअघि सरकारले भौतिक दूरी कायम गर्न मानिसहरूलाई गरेको आग्रहको पूर्ण पालना नभएकोमा मन्त्री तथा अधिकारीहरू चिन्तित थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments