स्थानीय तहमा कर्मचारी नहुँदा जनतालाई सास्ती  

बिहिबार, मंसिर २०, २०७५

- प्रमित वि. क.



बाजुरा ।  जिल्लाका नौ वटै स्थानीय तहमा कर्मचारीको अभाव देखा परेको छ । स्थानिय निकायमा कर्मचारी  नहुँदा जनताले सास्ती खेप्नु परेकाे छ ।  स्थानिय निकायमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा गाँउपालिका र नगरपालिकाको सेवा लिनका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता रहेको स्थानियले गुनासो गरेका छन् ।

हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले भने, ‘नयाँ संरचना आयो भनेको त झन काम गर्न उस्तै समस्या छ ।’सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि स्थानीय सेवाग्राहीलाई सुलभ सेवा दिन नसकेको वडा अध्यक्षहरू बताउँछन् ।

 गाउँमा सबै सेवा उपलब्ध गराउने भनेर चुनावी प्रचार गरिएको तर कर्मचारी ब्यवस्थापनमा समस्या भएकाले जनताको माग पूरा गर्न नससेको बडिमालिका नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए । ‘कर्मचारी छैन कसरी वडा कार्यलय चलाउने ?’ वडा अध्यक्ष पाध्यायले भने । कार्यालय सचिव देखि वडा अध्यक्षसम्म सबै काम आफैंले गर्ने गरेको उनको भनाइ छ । गाउँपालिका र नगरपालिकामा वडा कार्यलय समेत स्थापना भइसकेको छन् तर कर्मचारी भने एकजना पनि नभएको वडा अध्यक्षहरुको गुनासो छ ।

 सामाजिक अभियान्ता शेर बहादुर शाहीले भने निर्वाचन अघि गाउँ गाउँमा सिंहदरबार आउँछ भनी ढुङ्ग्रो फुकेको भए पनि अहिले गाउँ घर जाँदा सिंह आयो दरबार आएन भनेर गुनासो गर्ने गरेको बताए । अहिले केही काम त वडाअध्यक्षहरुले गरिरहेका छन् भने केही कर्मचारी नहुँदा निकै प्रभावित भएका छन् ।

जिल्लामा ५ गाउँपालिका र ४ नगरपालिका गरी ९ वटा स्थानय तह छन् । जिल्ला भरी ६९ वडा रहेका छन् । यी स्थानीय निकायका वडामा १ सय २९ जना प्रशासनिक कर्मचारी अभाव रहेको जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्रकुमार रोकायाले जानकारी दिए ।

वडामा सुब्बा स्तरको कर्मचारी हुनु पर्ने ब्यबस्था भएपनि खरीदार समेत नभएको रोकायाले बताए । कर्मचारी ब्यवस्थापन समितिले भने कर्मचारी आवश्यक भनेर सामान्य प्रशाससन मन्त्रालयलगायत अन्य निकायमा पठाइसकेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।

133 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank