नसुध्रेको काँग्रेस !

नेपालपाटी टिप्पणी

बुधबार, माघ २३, २०७५

- भूपेन्द्र शाह



गत माघ २१ गते प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वाम सरकारको विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्‍यो । करिव एक वर्ष देखी सत्ताबाट बिमुख नेपाली काँग्रेस वर्तमान ओली सरकारलाई अनेक आरोप लगाउँदै सडकमा आउने कार्यलाई लोकतन्त्रले अन्यथा नलिए पनि काँग्रेस आन्दोलनले के कुरा प्राप्त गर्छ ? भन्ने सवाल नेपाली राजनीतिमा खडा भएको छ । मुलुकले नयाँ संविधान पाएसँगै भएको तीन तहको निर्वाचनको परिणामले काँग्रेसलाई सात प्रदेश , स्थानिय तह र केन्द्र सरकारमा पातलो स्थान दिएको अन्देखा गर्दै सडक मार्फत गरिएको हुँकारलाई नेपाली लोकतन्त्रले कसरी लिन्छ ? भन्ने सवाल काँग्रेस र मुलुकको निम्ति यक्ष प्रश्न बन्दै छ ।

चिकित्सा शिक्षा विधेयक २०७५ खारेजी , राज्य आतंक , हत्या हिंसा बन्द गर्न र वाइडबडी भ्रष्टाचार काण्डमा संग्लग्नलाई कार्बाही, निर्मला पन्त वलात्कारी र हत्यारालाई कार्बाही  , चर्को मुल्यबृद्धि , ३३ किलो सुनकाण्ड लगायत अनेकौं अनियमितताको विरोध गर्दै काँग्रेसले सरकारलाई अधिनायकवादीको आरोप लगाएको छ । सत्ताबाट बाहिर बस्नु परेको झोकमा सडक मार्फत सरकारको विरुद्ध लगाइएका आरोपलाई अन्तराष्ट्रिय जगतले सुक्ष्म ढंगले लिने हुँदा नेपालको लोकतान्त्रीक आन्दोलन कतै धरापमा पार्ने खेल खेलिदैं त छैन ? भन्ने संका उत्पन्न भएको छ । मुलुकको तमाम परिवर्तन आफ्नो नेतृत्वमा भएको दावी गर्ने नेपाली काँग्रेस वर्तमान लोकतन्त्रमा कस्तो संस्कार र परम्परा बसाउन चाहन्छ ? भन्ने कुराले शान्ति , स्थीरता र विकासमा प्रभाव पार्ने निश्चित  छ।

नेपालको राजनीतिक परिवर्तनमा विदेशी शक्तिले कुनै न कुनै रुपमा सहयोग पुर्याएको कारण मुलुकको सार्वभौम सत्ता अत्यन्त कमजोर बनेको जगजाहेर नै छ । संविधान जारी गर्दा होस कि त्यसपछि पनि निरन्तर आफ्नो राजनीतिक उपस्थीती खोजीरहेको विदेशी शक्तिको कारण अझै गति लिन नसकेको नेपाली राजनीति काँग्रेसको कारण फेरी नयाँ झमेलामा फस्ने त हैन ? वा नेपालमा अस्थिरतालाई दिर्घकालिन रोग बनाउन लागेका शक्तिले कतै काँग्रेसको काँधमा बन्दुक राखेर पडकाउने त हैन ? भन्ने सवालले अचानक जन्म लिएको छ ।

०४६ को राजनीतिक परिवर्तनसँगै सम्पन्न पहिलो निर्वाचन पश्चात निर्मित बहुमतको गिरिजा सरकार विरुद्ध तात्कालिन प्रमुख प्रतिपक्ष दल एमालेले निर्माण गरेको रोडम्यापमा आँखा चिम्लेर हिँडन शुरु गरेको नेपाली काँग्रेस आखिर कस्तो लोकतान्त्रीक शक्ती बन्न चाहन्छ ? भन्ने काँग्रेसले तत्काल फैसला गर्नु पर्नेछ । आफुलाई लोकतन्त्रको ठेकेदार सम्झने काँग्रेसबाट पछिल्लो समय हुँदै गरेका असंसदीय गतिबिधी , सडकको अराजकता र अराजनीतिक प्रचार शैली लोकतन्त्रको निम्ति महँगो पर्ने निस्चित छ । मतपत्र मार्फत प्राप्त दुई तिहाईको जनादेशलाई अधिनायकवाद देख्ने , जनताले राजनीतिक अस्थिरता समाप्त गर्न दिएको संसदीय अंकगणितको विरुद्ध धावा बोल्ने काँग्रेसको अलोकतान्त्रीक चरित्रलाई वर्तमान लोकतन्त्रले किन र कसरी सहन्छ ? आगामी दिनको निम्ति महत्वपुर्ण हुनेछ ।

प्रजातन्त्र , लोकतन्त्र र गणतन्त्रको नाममा दलिय सहमती गर्दै गरिएका कथित घोटाला र अलोकतान्त्रीक कृयाकलापको सबैभन्दा ठूलो हिस्सा काँग्रेस कै पोल्टामा परेको छ । गिरिजाबाबुको कार्यकालमा शुरु गरिएको शेरबहादुर कार्यकालमा अत्यन्त मौलाएको हत्या , हिंसा , झुट्टा मुद्धा , सुरा सुन्दरी काण्ड , पजेरो प्राडो काण्ड , सांसद खरिद बिक्री काण्ड , राष्ट्रघात , भ्रष्टाचार ,तमाम विकृति र बिसंगति आम जनताको मन मस्तिकमा ताजै रहेको समयमा काँग्रेसको पछिल्लो गतिबिधी नेपाली लोकतन्त्रको निम्ति कति हितकारी छ ? आम जनताले तत्काल बुझ्नु पर्ने छ । आफ्नै नेतृत्वमा सम्पन्न निर्वाचनमा जनताले दिएको जनादेश बिर्सदै सडकमा अनुपयुक्त धाकधम्की छोडने काँग्रेस गतिबिधी पश्चात नेतृत्वले अझै जनताको भावना नबुझेको मान्न सकिन्छ । देउवा नेतृत्वको काँग्रेसले सत्तामा बस्दा गरेको अलोकप्रिय कामको सजाय मतपत्र मार्फत प्राप्त गर्दै पाँच वर्ष शान्तिपुर्ण राजनीति गर्न र विगतको गल्ती कमजोरीको समिक्षा गर्न जनताले दिएको आदेश आजसम्म मानेको देखिएन । अपबित्र गठबन्धन निर्माण गर्दै सत्तामा टिक्ने , सत्ताको दुरुपयोग गर्दै म्यानपावरवाली राजदूत नियुक्ती गर्ने , प्रहरी संगठनलाई पंगु बनाउने , अदालतको हुर्मत लिने , प्रधानन्यायाधीश विरुद्ध अनुपयुक कदम चाल्ने जस्ता हर्कतको सजाय पाएको काँग्रेसले अझै स्वीकार गरेको देखिएन ।

सरकारलाई खबरदारी र नागरिकलाई सुसुचित गर्ने नाममा काँग्रेसले जनता माझ गरेको कुप्रचार र धम्कीपुर्ण भाषा लोकतन्त्रले पचाउन सक्दैन । निश्चित रुपमा जनताले चाहेको सेवा , सुबिधा , विकास , सुशासन देख्न र भोग्न नपाएको वर्तमान अवस्था काँग्रेसले प्रचार गरे जस्तो देखिदैन । केवल आफ्ना कार्यकर्ता जगाउने र जोगाउने नाममा लोकतन्त्रलाई दुरुपयोग र दुर्गान्धीत बनाउने कार्य कुनै पनि मुल्यमा स्वीकार योग्य मानिदैन । निर्वाचनमा जनतालाई देखाएको सपना वर्तमान सरकारले पुरा नगरे आगामी निर्वाचनमा उसले पाउने सजाय हालको काँग्रेसको भन्दा नाजुक हुने ओली सरकारले बुझेकै होला ।

सामान्य मानिसले पनि बुझेको कुरा हो । लोकतन्त्रमा पुँजीवादी शक्ति जती बदनाम भएपनि जनताको विकल्प बनिरहेको फेला परेको इतिहास छ । तर कम्युनिष्ट शक्ति वा वामपन्थीहरु एक पटक सत्ताबाट फुस्के पछी पुन सत्तामा पुग्नु फलामको च्युरा चपाए सरह मानिन्छ । जनतालाई सामान्य राहत र सुबिधा दिन चुकेको वर्तमान सरकार अनुपयुक्त सपना र काँग्रेसको झमेलामा अल्झिनुको सट्टा तमाम पार्टी कार्यकर्ता , सर्व साधारण जनताको भावनासँग एकाकार हुँदै विकास निर्माणमा दिन रात खटे नसुध्रेको काँग्रेसको निम्ति दरिलो झापड हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments