लिम्पियाधुरासम्म नेपाली भूभाग नै हो – प्रधानमन्त्री ओली

बिहिबार, मंसिर ५, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता लिने पहल भइरहेको बताएका छन् । “लिम्पियाधुरासम्म नेपाली भूभाग नै हो,” प्रधानमन्त्री ओलीले भने, “त्यहाँ अहिले सीमा सम्बन्धी विवाद देखिएको छ । लिम्पियाधुरा महाकाली नदीको शीर हो । बीचको समयमा त्यहाँ सम्पर्क टुटेका कारण अतिक्रमण गरिएको छ । फिर्ता लिनका लागि कूटनीतिक पहल भइरहेको छ ।”

नवनियुक्त मन्त्रीसहित सबै मन्त्रीहरुलाई निर्देशन दिने क्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालले आफ्नो भूभाग फिर्ता लिने बताएका थिए ।“हामी हाम्रो भूभाग फिर्ता लिन्छौं,” उनले भने, “कति छ भन्ने भन्दा पनि नेपाली भूभाग ठूलो कुरा हो ।” प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिँदै सरकारले लिएको लक्ष्य पूरा गर्न भनेका थिए ।

यसैबीच उनले मन्त्रीहरूलाई एकसाथ राखेर सरकारको काम प्रभावकारी बनाउन र मितव्ययीता अपनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार सिंहदरबारमा पुनःगठित मन्त्रिपरिषद्का सदस्य, सचिवहरू र योजना आयोगका सदस्यहरूलाई सँगै राखेर सरकारको दोस्रो चौमासिक योजनाबारे निर्देशन दिएका हुन् ।

 “विकासका योजनहरू अघि बढाउँदा प्रधानमन्त्री, मन्त्री, सचिव, सम्बन्धित विभागका प्रमुखलाई भाग चाहिन्छ भन्ने मैले सुनेको छु । जनताको काम गर्न सरकारले हामीलाई छुट्याएको तलब, भत्ता सुविधा पर्याप्त छ,” भन्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत हुन निर्देशन समेत दिएका थिए ।

एक अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले मन्त्रालयबीच समन्वय नहुँदा एकातिर विकास र अर्कोतिर विनासको शृङ्खला बढेको बताए । उनले पारस्परिक सहयोग, समन्वय, सहकार्यका आधारमा कार्यसम्पादन गर्न पनि जोड दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata