“गरिबको लाइफ-डाउन”

आइतवार, जेष्ठ ११, २०७७

- दिवस खनिया



अरू सबै ठिक छ हजुर,

अरू सबै ठिक छ यहाँ,
गरिबले कुन्नि कतिन्जेल टिक्छ यहाँ।

पसिना जमी धुलो भयो,
पौरखले दम ताेडी सक्यो,
हिजो सम्म दुख थियो,
आज भोकले बाटो मोडी सक्यो।

बस्! बिहानको गाँसमा
बेलुकीको डर छ,
बिहान त जाउलो खाएँ,
बेलुकी खै के ले छाक टर्छ।

तपाईँको महलमा होला
लकडाउनको सदुपयोग,
हाम्रो तिर नियाल्नुस्,
वास्तविक लकडाउन झुपडीमा पस्छ।

बस्! खानालाई केही छैन,
अरू सबै ठिक छ।

सरकारले भन्छ,
नजाऊ काममा कोरोना सर्छ,
यो बन्दलाई सदुपयोग गरी
घर भित्र बस्नु पर्छ।

होला कसैलाई अवसर यो समय,
तर गरिब भोकले मर्छ,
कोरोना भन्दा पापी पेटको डर छ।

हेर्छु माथि छन् कि भनी भगवान्,
कालो बादलले छेकी दिन्छ।
बाँच्नु पर्छ मैले,
तर भाग्य किन भगवान्ले लेखिदिन्छ।

खुसी त म पनि हुन्थेँ होला
तर कदम बढाउन नपाउँदै,
परजीवीको पाउले टेकिदिन्छ।

बस्! थेगी नसक्नु पिर छ,
भोको पेट र रुमलिएको शिर छ,
अरू सबै ठिक छ।

अरू सबै ठिक छ हजुर
अरू सबै ठिक छ यहाँ,
गरिबले कुन्नि कतिन्जेल टिक्छ यहाँ,
अरू सबै ठिक छ।
(खनिया सामाजिक अभियन्ता तथा टेलिभिजन कार्यक्रम निर्माता हुन।)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments