खिचातानीमा वाम एकता !

नेपालपाटी टिप्पणी

सोमवार, चैत्र ११, २०७५

- भूपेन्द्र शाह



मुलुक वामपन्थीमय छ । मतादेश मार्फत प्राप्त सुविधानजनक अंकगणित सहित सरकारको नेतृत्व वामपन्थीले गरिरहेका छन् । गत जेठ ३ गते नेपालका ठूला दुई वामपार्टीहरु एउटै चुल्हो बाल्न राजी भएसँगै जुट भन्दा फुटको अभ्यास गर्न हौसिने आफ्नै विगतलाई झुटो प्रमाणीत गर्न सफल हुँदै छन् ।  आम कार्यकर्ताको भावना अनुरुप चल्ने मात्र होइन । आफ्नै नीति,कार्यक्रम,सिद्धान्त र घोषणापत्रलाई जनताको जीवनसँग जोड्ने उद्घोषका साथ थुप्रै कुरालाई थाँती राख्दै निर्माण गरिएको नेकपा पछिल्लो समय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र वइटीङ प्राइमिनिस्टर प्रचण्डको खिचातानीको सिकार बन्दै छ ।

पहिलो संबिधान सभामा पराजीत भएसँगै आफ्नो भुमिका स्थापित गर्न सफल पूर्व एमाले नेता ओली त्यस यता कहिल्यै पछाडी फर्केर हेरेनन। मिसन कुर्सीको निम्ति पार्टी कार्यकर्ता र जनताको नाडी छाम्दै अगाडि बढे। पर्दा भित्र सबैखाले उठबस , भलाकुसारी र लेनदेन कुशलता पुर्वक सम्पन्न गर्दै सार्वजनिक छवि भने राष्ट्रवादी र सपनावादीको देखाउन सफल भए। कमा, फुलस्टप र टिपिकल नेपाली शब्दसँग खेल्दै प्रतिपक्षी र आफूसँग असहमत पक्षसँग निर्मम ढंगले प्रस्तुत भइरहे। पुर्व एमालेको आन्तरिक शक्ति सन्तुलनमा वामदेवको महत्वकाँक्षालाइ प्रयोग गर्दै आफ्नो लक्षको नजिक पुगे। खोलो तर्यो लौरो बिर्स्यो मात्र हैन अगाडी बढ्दै पुल भत्काउँदै हिडने शैलीको अभ्यास ईश्वरलाई बेवास्ता गर्दै बिष्णुलाई काँध हालेर प्रचण्डसँग मीत लाउन राजी भए।

पूर्व एमालेमा माओवादी केन्दलाई मर्ज गर्दै प्राप्त सत्ताको निरन्तरताको निम्ति अघोषित र आन्तरिक चालबाजी पश्चात हराएको वाम एकता बिचित्रको राजनीतिक अभ्यासलाई संस्थागत गर्न मरिहत्ते गर्दैछ । पार्टी एकताको समयमा तीन महिना भित्रैमा करिब सात लाख कार्यकर्तालाई अन्तरपार्टी राजनीतिक रोजगारी दिने उद्घोष अहिले सम्म प्राथमिकतामा नपर्नुले नेपालको वाम आन्दोलन समान्तवादको नयाँ अभ्यास गर्न लालायित हुँदै गरेको राजनीतिक विश्लेषकहरुको धारणा रहेको छ ।

पुष्पलाल श्रेष्ठको नेतृत्वमा वि.स. २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्यहरु नरबहादुर कर्माचार्य,नारायाण विलास जोशी ,निरञ्जन गोविन्द बैध र मोतीदेवी श्रेष्ठ लगायतले जन्माएको कम्युनिष्ट पार्टीको आजको भीमकाय रुप नेपालको वाम आन्दोलनले कल्पना गरेको थिएन । ६९ वर्षीय इतिहासमा हरेक दिन शरिर ठूलो बन्दै गएको तर गुणमा रित्तिदै गएको नेपाली वाम आन्दोलन सत्ता राजनीतिको जोड घटाउमा फस्न पुग्दा वर्तमान समयमा पार्टीलाई कमाउको माध्यम बनाउने होडबाजीकाे सिकार बन्दैछ ।

चीन जस्तो विशाल मुलुकमा २०५ केन्द्रीय सदस्य र १७१ वैकल्पीक केन्द्रीय सदस्यले सक्षम,लोकप्रिय र समृद्धशाली पार्टी र मुलुक हाँक्न सक्ने तर नेपालमा भने भेडीगोठमा रुपान्तरण गर्दै निर्माण गरिएको नेकपाले समाप्त पारेको संगठनात्मक कम्युनिष्ट पार्टीले कसका निम्ति के काम गर्ने छ ? भन्ने वर्तमान नेतृत्वको चाहाना बन्दैन ।

पाँच जना नेताले देखाएको सपनालाई साकार बनाउने समयमा पार्टीको आकार बढाउने तर गुण रित्याउने वर्तमान नेकपा भित्र पार्टी सिद्धान्त,नीति,नियम र प्रकृयालाई म्युजियममा थन्काउन लालायित वर्तमान नेतृत्वले वाम आन्दोलन कसरी धरासायी बनाउँदै छ ? आम पार्टी कार्यकर्ताले बुझ्न ढिला भइसकेको छ ।

सत्ता प्राप्ती र व्यक्तिगत सुखको निम्ति समाप्त पारिएको संगठन र संगठनात्मक पद्धतिपछि वर्तमान नेकपा विचित्रकाे नाेक्सानी कुरेर बस्दैछ । भएको कुरा भत्काउने र नयाँ निर्माण गर्न अल्छि मान्ने नेतृत्वको कारण नेकपामा भाले माहुरीहरु दिन प्रतिदिन बढदै छन्। श्रम गर्ने , इमान्दारिता अप्नाउने , जनताका समस्यासँग एकाकार हुनेहरुले लाज मान्न पर्ने नेकपा भित्र ‘बा , भक्त र परिक्रमावादी’ हाबी हुने नयाँ विधि बिधान अघोषित रुपमा लागू गरिएको छ। संगठन र कमिटी पद्धतिलाई धरासायी बनाउँदै खोजिएको समृद्धि र समृद्धशाली पार्टी नेतृत्वकै लहडकाे विषय बन्दैछ। तुरुन्तै , छिट्टै , एकाध दिन पछि, अमेरिका जानू अघि , अमेरिकाबाट आए पछि , मन्त्री मण्डल पुनर्गठन पछी भन्ने ‘छेपारे कथन’ ले वाम एकता कुहिरोको काग बन्दै छ।

नेताहरु पार्टीको हितमा भन्दा पनि आफू कसरी शक्ति र प्रभावमा आउने भनेर गुट उपगुटको अभ्यासमा तल्निन छन् । पार्टी एकता पश्चात फालिएको करिव १० महिनाको बहुमुल्य समयमा निर्मित गुट,उपगुट र सहगुटको उदय नेतृत्वकै कारण भएको छ । जसको प्रभाव केन्द्र देखि जिल्ला सम्म प्रत्यक्ष रुपमा देखा पर्न थालिसकेका छन् । शीर्षस्थ नेताहरु समेत गुट,उपगुटको विरोध गर्नु भन्दा आफु निकटलाई काखा र असहमत पक्षलाई पाखा लगाउनमा ब्यस्त देखिदा कार्यकर्ताहरु निरास बन्दैछन् ।

सार्वजनिक कार्यक्रम समेत गुट उपगुटको छुट्टाछुट्टै भेला गर्ने अबस्थामा पुगेको नेकपा पूर्ण एकता प्रकृया सम्पन्न हुनु अगावै ठूलो नोक्सानी कुरेर बस्दैछ । अध्यक्षद्वय केपी ओली,पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालका तीन गुटका कारण एकता प्रकृया झनै जटिल बन्दै गइरहेको छ । अध्यक्षद्वयले पेलेरै जाने नीति लिए तदर्थ कमिटी बनाउने चेतावनी दिने परिस्थती आउनुले नेकपाको आन्तरिक पार्टी जीवन स्वास्थ्य पूर्ण नरहेको बुझ्न सकिन्छ । पार्टी पद्धतीमा नचलेको आरोप लगाउँदै नेतृत्वलाई प्राइभेट कम्पनीको मालिक बन्ने चाहाना तत्काल त्याग्न सच्चा वाम कार्यकर्ताको सुझाव छ ।
लामो समय पार्टी एकता टुङ्गोमा पुर्याउन असफल नेतृत्वलाई सहयोग गर्नको निमित्त पार्टी स्थायी समितिले कार्यदल गठन गर्दा हौसिएका नेकपा कार्यकर्ता कार्यदलको नियोजित हत्या गरिएसँगै रुष्ट बनेका छन् । नेताहरुको स्वार्थ, गुट उपगुट र सहगुटले थलिएको एकता प्रकृया पश्चात वाम एकता हराउँदै गइरहेको प्रस्ट देखिन्छ । पार्टी नेतृत्वको मोनोपोलिले आन्तरिक विवाद समाधान भन्दा अनिष्ट निम्त्याउनेमा लागेको देखिन्छ ।

सत्ता प्राप्तीसँगै कुम्भकर्ण बन्न पुग्दा पैसा कमाउने, पार्टीको पद कब्जा गर्ने,परिक्रमावादीलाई टिके प्रथा मार्फत प्रमोशन गर्दै सामन्तीवादी सत्ताको अभ्यास गर्न तम्सीएको वर्तमान नेतृत्वको कारण वाम एकता कसरी टुङ्गिन्छ ? स्वयंम नेतृत्व नै अनविज्ञ देखिन्छ । सत्ताको उन्मादमा ध्वस्त पारिएको विगतको चुस्त दुरुस्त संगठन अब चाहेर पनि स्वस्थपूर्ण हुनेमा आशंका पैदा भएको छ । जसरी भए पनि कुर्सीमा पुग्ने र कुर्सीको निम्ती सामान्य भन्दा सामान्य मुल्य र मान्यता पनि त्याग्न राजी भएको वर्तमान नेतृत्वले ध्वस्त पारेको नेकपाको संगठन कहिँ कतै नरहेको अबस्थामा वाम आन्दोलन एका देशको कथा बन्न मात्र बाँकी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata