गाँजा किसानको मर्म : छैन जीविकोपार्जनको विकल्प

बिहिबार, कार्तिक ७, २०७६



गहुँ, मकैै र तरकारी उत्पादन हुने पाखाभरि गाँजैगाँजाका बोट छन्। यिनै बोटले ललितपुरको गोदावरी नगरपालिका–२ लाँकुरीभन्ज्याङस्थित चापाखर्क गाउँका स्थानीयको जीविका धानेको छ।

कच्ची सडक पुगे पनि अन्य आधारभूत सेवा–सुविधाबाट वञ्चित यो गाउँमा जताततै गाँजाका बोट गाँजिएका छन्।

वैशाखमा मकैसँगसँगै बीचबीचमा रोपेको गाँजा कात्तिकमा तयार हुन्छ। तयार भएपछि त्यसको झुप्पा टिपेर बिक्री गरिन्छ। तयारी गाँजा यसको ओसारपसारमा संलग्न व्यवसायीले गाउँमै आएर लान्छन्।

स्थानीयले काटेर, सुकाएर तयार पारेको झुप्पाको पोको लिन व्यवसायी घरघरै पुग्छन्। त्यसबापत गाँजा व्यवसायीले स्थानीयलाई जति पैसा दिन्छन्, त्यही नै उनीहरूको दैनिक गुजाराको माध्यम हो।

प्रतिबन्धित गाँजाको आम्दानीमा आश्रित चापाखर्क गाउँ चक्रपथको ग्वार्को चोकबाट एक घण्टाको सवारी यात्रापछि पुगिन्छ। गाँजाखेती गर्नु रहर नभई बाध्यता भएको स्थानीय बताउँछन्।

‘गाउँमा मकै, गहुँ र तरकारी खेती त्यति राम्रो हुन्न, अन्नले वर्षभरि खान पनि पुग्दैन, त्यसैले हामीले गाँजा खेती गरेका हौं,’ स्थानीय सीतामाया तामाङले भनिन्।

गाँजाको वार्षिक आम्दानीबाट दुई छोराछोरीको पढाइ तथा घरखर्च चलाउँदै आएको सीतामायाले सुनाइन्।

‘जनप्रतिनिधि आए पनि हामीले केही पाएनौं, उल्टै कर तिर्नुपर्ने भार थपिएको छ। न राम्रो बाटोघाटो बनेको छ। अझ खानेपानी, शिक्षा र रोजगारको त कुरै नगरौं,’ उनले भनिन्, ‘असुविधैअसुविधा भएको गाउँमा यस्तो काम नगरेर के गर्ने ? हाम्रो पीडा कसले बुझिदिने ?’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata