लागूऔषध ओसारपसारमा बालबालिकाको प्रयोग

मङ्लबार, माघ २८, २०७६



धरान । बालबालिकामाथि चेकजाँच नहुने भएपछि लागूऔषध कारीबारीले बालिकालाई तस्करीका लागि प्रयोग गर्न थालेका छन् । सहजै आफूले भनेको ठाउँमा पुग्ने र प्रहरीले पनि बालबालिकामाथि निगरानी नगर्ने देखेपछि बालबालिकाको प्रयोग बढ्न थालेको हो ।

सबैतिर लागूऔषध कारोबारी बालबालिकालाई लागूऔषध ओसारपसारमा प्रयोग गर्न थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै तराई क्षेत्रमा तस्करले लागूऔषधि ओसारपसारमा प्रलोभन दिएर बालबालिका प्रयोग गर्न थालेको पाइएको छ ।

पछिल्लो समय बालबालिका नै लागूऔषधि ओसारपसारमा संलग्न रहेका प्रहरीले पाएको छ । सोमबार बखरी प्रहरी चौकी विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगबनीबाट एक बालकले शरीरमा बाधेर लागूऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।

बालक पक्राउपछि प्रहरीले ठूलो मात्रामा लागूऔषध भारतबाट नेपालतर्फ ल्याउन बालबालिकालाई प्रयोग गर्न थालेको रहस्य खुलेको हो । धरानका १४ वर्षीय एक बालकको शरीरमा टेपले बाँधेर ल्याएको अवस्थामा लागूऔषध विराटनगर–१२ आइतबारेको नहरबाट बरामद गरेको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

जोगवनीमा लागूऔषध सेवन गरेपछि तस्करीमा संलग्न गिरोहले लागूऔषध बालकको शरीरमा टेपले बाँधेर पठाइदिएको उनले बताए । तस्करीमा संलग्न गिरोहले ती बालकलाई गन्तव्यसम्म पुर्याएवापत १५ सय रूपैयाँ दिने सहमति गरेको खुलेकोसमेत उनले बताए ।

प्रहरीले पक्राउ गरेका ती बालक पनि लागूऔषध दुव्र्यसनी रहेको पाइएको बताएको छ । तीन महिनादेखि लागूऔषधको लतमा लागेका उनले आफूले पनि प्रयोग गर्ने र केही रकम लिएर लागूऔषध ओसारपसार गर्ने गरेको प्रहरीसँग बयान दिएका छन् । उनको साथबाट ७५ सेट लागूऔषध बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

लागूऔषध कारोबारीले रकमको प्रलोभन दिने तथा लागूऔषधको लतमा लगाएर ओसारपसारमा प्रयोग गर्ने गरेको पाइएपछि प्रहरीले सीमामा बालबालिकामाथि पनि निगरानी बढाएको छ । कारोबारीले महिला र बालबालिकाको प्रयोग गरी सीमापारीबाट लागूऔषध नेपाल ल्याउने गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments