कुन अवतार लिउँ?

आइतवार, अशोज ५, २०७६

- राधिका कल्पित



कुन अवतार लिउँ?

जब संकट पर्छ – दुर्गा बन भन्छौ
जब सुनको अन्डा पार्नुपर्छ –
तब जादुमयी मुर्गा बन भन्छौ
जब चुनौती आउँछ – बारुद बनेर पड्क भन्छौ
जब मृत्यु नजिक पुग्छौ – साबित्री बन भन्छौ
जब फोर्नु पर्छ खेतका डल्ला
तब भीम जस्तै बन भन्छौ ।
बन्न चाहिँ म केके बनौँ ?
यही एउटा शरीर हो जो तिम्रै निहितमा छ ।

कसरी भरुँ फूलजस्तो शरीरमा
भिमको जस्तै तागत मभित्र पनि ?

रातमा राग जगाउँदा रति झैँ बन भन्छौ
उज्यालो हुन नपाउदै फेरि सती झैँ बन भन्छौ
झिसमिसे हुन नपाउँदै फेरि पवित्र गंगा झैँ खोज्छौ
तिम्रो मन बहलाउनु पर्दा चंगा बन भन्छौ ।
पानी बन भन्छौ तिमीलाई रिस उठ्दा
आगो बन भन्छौ तिमीलाई चिसो हुँदा
परीक्षाको पर्बत बोक्नु पर्दा हनुमान बन भन्छौ
अभावको पराकास्ट पर्दा भगवान बन भन्छौ
जब गरिबीका चिउरा चपाउनु पर्छ
– फलाम बन भन्छौ
जब चोट लाग्छ तिम्लाई
– मलम बन भन्छौ
म तिम्रो कठपुतली हुँ या तिम्रो अर्धाङ्गीनी ?
म तिम्रो लागि केके बन्नु पर्ने हो ?

कसरी फेरुँ म हरदम स्वरूप ?
जो तिम्रै इसारामा मात्रै चलिरहेको छ ।

बारुलाको जस्तो छिनेको कम्मर
सुन्छु मन पर्छ रे तिमीलाई
मृगका जस्ता नयनले हेर्नू पर्यो रे तिमीलाई
नागको जस्तो लचक पनि आउनु पर्यो रे जिउमा
गुलाबको जस्तो ओठ चाहन्छौ रे तिमी मग्न हुन
नवजात छाउरालाई डकार्ने बनाउन पर्दा
लैनी भैँसी झैँ बनिदिनु पर्ने फेरि ?
जब हुर्कन्छन् थोरै छाउराहरू
तिम्रा लागि फेरि दिपिका बनिदिनु पर्ने ।
अहाे कस्ता कस्ता डर लाग्दा चाहना हाे तिम्राे ?
सबथाेक मै मात्रै बनिदिनु पर्ने ?

बारुलाको शरीरमा गुलाब कसरी फुलाउँ म ?
जाे तिम्रै आदेशमा खाेलिन्छ मेराे लाज ।

किन सहन सक्तैनौ तिमी
– गुलाबको बोटमा दुइचार काँडाहरू ?
किन पचाउँदैनौ कमलको पातमा
– थोरै हिलाका बाछिटाहरु?
किन पचाउँदैनौ
सीताका सारीमा थोरै खोटका धब्बाहरू देख्न ?
किन स्विकार्दैनौ बिषकन्याको
– शरीरबाट निस्कने मन्द बिष पिउन ?
किन स्विकार्दैनौ मत्स्यगन्धामा
माछाको नजानिँदो नमिठो गन्ध सहन गर्न ?
सबै म‌ैले पचाई दिनु पर्ने हाे भने
तिमी चाहिँ बन्छाै के ?

नबिर्से हुनी चन्द्रमामा पनि दाग हुन्छ
र त सुन्दर छ आकाश ।

तिम्रै खातिर,
जब पानी बनेर तरल हुन्छु
– यसरी पोखिन कहाँ हुन्छ भन्यौ
जब आगो बनेर बल्न खोज्छु
– यसरी दन्कन कहाँ हुन्छ भन्यौ
जब अप्सरा बनेर श्रृङगारिएँ
– यसरी मस्कन कहाँ हुन्छ भन्यौ
लौ त भनेर फेरि अरठ्ठ जिउ लिएर आएँ
तब मलाई अलच्छिना भन्यौ
म के भइनँ तिम्राे लागि ?

आगोमा नौनीलाइ
भन म कसरी जोगाउँ ?

जब भोलेनाथ बनेर बौलाउँछौ
– पार्वती बन बन्छौ
जब कृष्ण बनेर बजाउँछौ मुरली
– राधा बनेर आऊ भन्छौ
कुन अवतार लिऊँ
कामदेवकी रति
या महादेवकी सती
इन्द्रकी उर्वशी
या सूर्य कि शशि ?
भन- आखिर तिमी के चाहन्छाै मबाट ?
****

राधिका कल्पित
काठमान्डौ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata