कुमाल समुदायको परम्परागत लोक संस्कृति लोप हुँदै

बुधबार, बैशाख २६, २०७५



 

पाल्पा ।
कुमाल समुदायको परम्परागत मौलिक लोक संस्कृति लोप हुँदै गएको छ ।

दशैँ तिहार, माघे संक्रान्तिजस्ता पर्वमा देखाइने सोरठी, कृष्णचरित्र, झ्याउरे, पाङदुरेलगायतका विभिन्न लोक संस्कृति लोप हुँदै गएपछि अहिले गाउँमा देखाउनै छाडिएको पाल्पा रामपुर नगरपालिका–६ तिलकपुर बस्ने ७५ वर्षीय गंगाराम कुमाल बताउँँछन।

पुरानो लोक संस्कृति नयाँ पुस्ताले अवलम्बन नगर्दा समुदायबाटै लोप हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरे। “अहिलेका युवाले पुरानो संस्कृति सिक्न खोज्दैनन् पुराना गीत गाउने र नाच्ने व्यक्ति मरेर गएपछि संस्कृति पनि हराउन पुग्यो” उनले भने ।

रामपुर नगरपालिका–६ को तिलकपुर क्षेत्रमा करीब २२५ घरपरिवार कुमाल समुदायको बसोबास छ । तर कुमाल समुदायका नयाँ पुस्तालाई अहिले लोक कला संस्कृतिबारे कुनै पनि ज्ञान छैन ।

अबको पाँच वर्षभित्रमा नगरपालिका र वडा कार्यालयसँग विभिन्न कार्यक्रम माग गरेर कुमाल समुदायको लोक संस्कृति संरक्षणको काम गर्ने रामपुर नगरपालिका–६ की वडा सदस्य तथा स्थानीयवासी लोकमाया कुमालले बताईन । उनी आफैँलाई कुमाल संस्कृतिबारे कुनै पनि ज्ञान छैन ।

“गाउँमा म सानो छँदा नै बुबा आमाले गीत गाउने, नाच्ने गर्नुहुन्थ्यो, हामीले उहाँबाट संस्कृतिबारे ज्ञान सीप सिकेनौँ र अर्कोतर्फ संरक्षणमा कसैको ध्यान नपुग्दा समुदायबाट पुरानो संस्कृति हराउन पुगेको छ” उनले भनिन ।

कुमाल समुदायको संस्कृति समुदायबाटै लोप हुनु भनेको समुदायको पहिचान मेटिनु हो । समुदायको लोक संस्कृति बचाउनका लागि नगरपालिका र वडा कार्यालय सदैव प्रतिबद्ध रहने नगरका प्रवक्ता तथा वडाध्यक्ष हुमनाथ न्यौपाने बताउछन ।

पाल्पा जिल्लाका रामपुर, घोरबन्दा, पोखराथोक, गेझा, चिर्तुङधारा, ख्याहालगायतका स्थानमा कुमाल समुदायको बाक्लो बस्ती छ । करीब छ हजारको हाराहारीमा कुमाल समुदाय वसोवास गर्दछन् ।

86 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank