लोडसेडिङ अन्त्य गरेका कुलमान घिसिङ डुबेको प्राधिकरणलाई नाफामा लैजान सफल

मङ्लबार, साउन २९, २०७५



काठमाडौँ । लोडसेडिङ अन्त्य गरेर आम जनताको मन जित्न सफल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधिकरणलाई नाफामा लगेका छन् । ‘प्राधिकरणको गत आवको वार्षिक बजेटमा खुद नोक्सानी करीब रु दुई अर्ब ५० करोड हुने प्रक्षेपण गरेका थियौँ, तर प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट संस्थालाई नाफामा लैजान सफल भएका छौँ’ घिसिङले भने ।

उनले थपे ‘मैले जिम्मेवारी सम्हाल्दा संस्था रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा थियो, प्रधानमन्त्री, ऊर्जामन्त्री, उर्जा सचिव, सञ्चालक समितिसहित नेपाल सरकारका विभिन्न निकाय, आम उपभोक्ता, प्राधिकरणका कर्मचारीलगायत सबैको निरन्तर सहयोगबाट गतवर्ष पनि संस्था नाफामा गएको हो, तर हामीले सोचे जति सफलता हासिल गर्न अझै सकिरहेको छैन ।’

गत आवमा प्राधिकरणको सञ्चालन मुनाफा रु सात अर्ब ८६ करोड थियो । अन्य वित्तीय खर्च कटौती गरेपछि खुद मुनाफा आउँछ ।

विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युत्को औसत खरीद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, विद्युत्भार कटौतीको अन्त्य, वित्तीय पुनःसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो ।

चुहावट नियन्त्रणबाट प्राधिकरणलाई झण्डै रु चार अर्ब थप आम्दानी भएको छ । गत वार्षिकोत्सवमा आव २०७३÷७४को प्राधिकरणको खुद नोक्सानी रु ९७ करोड ८९ लाख हुने प्रक्षेपण गरिएकोमा अन्तिम लेखा परीक्षणपछि खुद नाफा रु एक अर्ब ५१ करोड देखिएको थियो । प्राधिकरणको सञ्चित नोक्सानी अझै रु २८ अर्ब १२ करोड छ ।

यी आयोजना निर्माण सम्पन्न हुँदै

चालू आवमा प्राधिकरणले आफैँले निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो, ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रि ए र सहायक कम्पनीमार्फत निर्माण भइरहेका ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन थाल्ने भएकाले प्राधिकरणको आम्दानी बढ्ने छ ।

‘ती आयोजना आएपछि हामीले सहायक कम्पनीमार्फत निर्माण गर्ने जलविद्युत् आयोजनामा लगानीका लागि सरकारमाथि भर पर्नु पर्दैन प्राधिकरण आफैँले लगानी गर्न सक्छ’ घिसिङले भने ।

प्राधिकरणले जलविद्युत् आयोजना सहायक कम्पनीमार्फत निर्माण गर्ने निर्णय यसअघि नै गरिसकेको छ । प्राधिकरणले आव ०७३÷७४मा विद्युत् बिक्री र ब्याजलगायतबाट रु ५१ अर्ब ७० करोड आम्दानी गरेकोमा आव ०७४÷७५मा यसलाई बढाएर रु ६० अर्ब ४८ करोड पु¥याएको छ ।

विद्युत्भार कटौतीको अन्त्य र आफ्नो स्वामित्वका विद्युत्गृहको कुशलतापूर्वक सञ्चालनले प्राधिकरणको आम्दानी बढेकोे हो । विद्युत्भार कटौतीको अन्त्य हुँदा सहरी क्षेत्रका ठूला ग्राहस्थ तथा व्यापारिक र औद्योगिक ग्राहकतर्फको आम्दानी बढेको छ ।

‘हामीले सञ्चालन गरेको ‘उज्यालो नेपाल अभियान’बाट उपभोक्ताले उज्यालो मात्रै पाएका छैनन्, कहीँ केही हुँदैन भन्ने समाजमा व्याप्त निराशासमेत चिर्दै केही हदसम्म आशाको सञ्चार गराएको छ, नियमित विद्युत् आपूर्ति हुन थालेपछि मुलुकको अर्थतन्त्र नै चलायमान भएको छ’, घिसिङले भने ‘प्राधिकरण सवल र सक्षम संस्था बन्दै गएको छ, अब विद्युत्भार कटौतीको अन्त्य भइसकेकाले संस्थाले प्रवाह गर्ने सेवा सुधारमा ध्यान केन्द्रित गरिरहेका छौँ ।’

भारतबाट विद्युत् आयातमा लिइएको विवेकपूर्ण रणनीतिक नीतिका कारण ढल्केवरबाट खरीद गरिएको विद्युत्को महशुल केही वृद्धि भएता पनि आयातित विद्युत्को औसत खरीददर बढेको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments