व्यावसायिक कुखुरापालक कृषक मारमा

सोमवार, पुस ७, २०७६



कुखुराले बजार मूल्य नपाउँदा रामपुरका व्यावसायिक कुखुरापालक कृषक मारमा परेका छन् । ठूलो लगानीमा व्यवसायमा चलाएका व्यवसायी लगानी पनि नउठ्ने गरी कुखुरा बिक्री गर्न बाध्य छन् ।

बाहिरबाट आएका जिउँदो कुखुरा र अण्डा सस्तो मूल्यमा पाएपछि स्थानीय उत्पादनले बजार नपाएको हो । अहिले जिउँदो कुखुराको मूल्य प्रतिकेजी १६० रूपैयाँको हाराहारीमा रहेको छ ।

बिक्री गर्ने बेला भएका कुखुराले बजार नपाउँदा समस्या परेको व्यवसायी मेगराज न्यौपाने बताउछन् । ‘कुखुरा बिक्री गर्न लायकका छन्, १६० मा दिँदा पनि व्यापारीले लैजान मानेका छैनन्, दानापानीको भाउ सुन्दा डरलाग्दो छ, कुखुरापालक व्यवसायी संकटमा परेका छौं, ’ उनले भने ।

उनको फार्ममा हाल एक हजार कुखुरा छन् । करिब एक करोडभन्दा बढीको लगानीमा कुखुरापालन व्यवसाय चलाएका रामपुर एग्रोफार्मका सञ्चालक भुवन अर्याल पनि लागतअनुसारको मूल्य नपाउँदा चिन्तित छन् । उनले अण्डा उत्पादन गर्ने उद्देश्यले लेयर्स जातका करिब तीन हजार कुखुरा पालेका छन् । अण्डाले बजार मूल्य नपाउँदा व्यवसाय नै धरापमा पर्ने स्थिति आएको उनले बताए ।

‘रामपुरमा दैनिक आठ हजारसम्म अण्डा आवश्यकता भए पनि स्थानीय उत्पादनले बजार नपाएको अवस्था छ, नगरपालिकाले निश्चित दरभाउ कायम गरिदिनुपर्ने र नियमित रेखदेख गरेमा मात्र कृषकले बजार मूल्य पाउने छन्,’ उनले भने ।

रामपुर नगरपालिकाभित्र अण्डा उत्पादन गर्ने चार वटा फार्म छन् । यहाँ दैनिक पाँच हजार अण्डा उत्पादन हुने गरेको छ। यहाँ उत्पादन भएको अण्डा प्रतिगोटा नौ रुपैयाँमा बिक्री भइरहे पनि उपभोक्ता भने १५ रुपैयाँमा खरिद गर्न बाध्य छन् ।

एक हजार १३५ रुपैया दानाको मूल्य रहँदा १२० रुपैयाँमा प्रतिकिलो जिउँदो कुखुरा बेचेका रामपुर कुखुरापालक कृषक समूहका अध्यक्ष धातानन्द अर्यालले अहिले दानाको मूल्य बढेर तीन हजार ५ सय ७५ पुग्दा पनि प्रतिकेजी १६० रुपैयाँमा बिक्री गर्नुपर्दा कृषक मारमा परिरहेको बताउछन् ।

‘केही होला कि भनेर व्यवसाय गर्ने हो, कुखुराको दानापानीको मूल्य अकाशियो तर कृषकको उत्पादनले कहिल्यै बजारमा लागतअनुसारको मूल्य पाउन सकेन, व्यवसाय गरेको उल्टै घाटा बेहोर्नुपरेको छ,’ उनले भने ।

नगरपालिकाले निश्चित मापदण्ड बनाएर बाहिरबाट आउने कुखुरा, अण्डा नरोक्दासम्म यहाँको उत्पादनले बजार नपाउने व्यवसायीले जनाएका छन् ।

रेखदेख, व्यवसायीको परिश्रम त परै जाओस् दानापानी खरिदको मूल्य पनि उठाउन नसकिरहेको व्यवसायीको गुनासो छ । अहिले रामपुर क्षेत्रमा कुखुरापालन गर्ने व्यवसायी बिचौलीको चरम मारमा छन् ।

विदेशबाट फर्केर गाउँमै सम्भावना बोकेर केही गर्न खोजेका युवा कुखुराले बजार मूल्य नपाउँदा पुनः विदेश नै फर्कने मनस्थिति बनाउन थालेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments