प्रतिबन्ध – कृष्णसेन इच्छुक

मङ्लबार, जेष्ठ १३, २०७७



काठमाडौं । प्रेस सङ्गठन नेपालले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ ले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि दिएको योगदान महत्वपूर्ण भएको जनाएको छ ।

काठमाडौं । प्रेस सङ्गठन नेपालले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ ले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि दिएको योगदान महत्वपूर्ण भएको जनाएको छ ।

सङ्गठनले कोरनो भाइरसबाट बच्न जारी बन्दाबन्दीका अवस्थामा उनको स्मृतिमा प्रदान गरिने केन्द्रीयस्तरको पुरस्कार पछि वितरण गरिने जनाएको छ । विसं २०१३ कात्तिक ३ दिने जन्मिनुभएका ‘इच्छुक’ २०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लबको हिरासतमा मारिएका थिए । उनका शोकाञ्जलि (२०४८), इतिहासको यस घडीमा (२०५६) बन्दी र चन्द्रागिरि (२०५८) आदि कृति प्रकाशित छन् । संगठनले मातहतका कमिटीका हकमा भने सम्भव भएमा नेपाल सरकारले लागू गरेको बन्दाबन्दीको नियमलाई पूर्णपालना गर्दै रचनात्मक कार्यक्रम आयोजना गरेर स्मृति दिवस मनाउन आग्रह गरेको छ ।

प्रस्तुत छ उनको ‘प्रतिबन्ध’ शिर्षकको कविता “

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ– गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ

हाम्रा विचारमा प्रतिबन्ध लाउँदै
हाम्रा हातहरूमा हत्कडी पहिर्‍याउँदै
तिमी भन्छौ– लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ

हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ– हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिँडिरहन्छौँ।

ओ शासक, प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरंकुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडनहरू सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर, ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ।

उठाइरहन्छौँ हामी तिम्रा विरुद्ध संघर्षका हातहरू
कसिरहन्छौँ हामी तिम्रा विरुद्ध विद्रोहका मुठीहरू
ओ, अत्याचारका पहरेदारहरू !
अन्तिम जीत हाम्रै हो
तिम्रो हारमाथि विजयको झन्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौँ।

इतिहासको यस घडीमा
यसबेला केही निस्तेज शिरहरू झुकेर
सभक्ति अभिषेक चढाइरहेछन्
म तिम्रो ठाडो शिरलाई
झन् ठाडो देख्न चाहिरहेछु

यसबेला केही दुर्बल मुठीहरू फुकेर
विनीत भावले जुम्लेहात जोडिरहेछन्
म तिम्रो बज्र मुठीलाई
झन् सबल देख्न चाहिरहेछु

यसबेला केही थकित पाइलाहरू गलेर
माझ बिसौनीमै बास मागिरहेछन्
म तिम्रा जब्बर पाइलाहरूलाई
झन् अग्रसर देख्न चाहिरहेछु

यसबेला केही कर्णकटु स्वरहरू काँपेर
प्रशस्ति वाचन गरिरहेछन्
म तिम्रो प्रखर वाणीमा
युगको हुंकार सुन्न चाहिरहेछु

व्यथित देशको चिन्ताले
आहत जनताको पीडा र सुस्केराले
हरदम अभिभूत तिमी
ए मेरो युगको तरुण नायक !
यसबेला मैले कविता लेखूँ–नलेखूँ केही फरक पर्दैन
तर तिम्रो आँधी–बेहरीमय महायात्रा भने रोकिनु हुन्न
इतिहासको यस संक्रमणशील घडीमा
भोको पेटमा ऊर्जस्वी चेतनाहरूलाई
निधारबाट रगतका बाछिटाहरू पुछेर
दयालु मुद्रामा विषालु खाजा पस्किरहेछ, भद्र पुरुष
तिमी भने झुक्किनु हुन्न
कहाँ फुलेको छ र डाँडाको फेदीमा रातै लालीगुराँस
तिमी भने यो फेदीमै अलमलिनु हुन्न।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments