कृष्णप्रसाद अर्यालका तीन गजल

शनिबार, असार ७, २०७६



गुल्मीमा जन्मिएका कृष्णप्रसाद अर्याल अध्ययनको सिलसिलामा हाल देवघाटमा बसोबास गर्दछन् ! मनोसंस्करणात्मक लेख र गजलमा सक्रिय अर्यालको तीन गजल यहाँ प्रस्तुत गर्दछौं:

यहाँ खाली को बस्छ ? केही त गरेर बस्छ,
टुकी निभ्यो अब हावालाई सरापेर बस्छ ।

आँसु आँखामा आयो  र फेरि फर्केर गयो,
यो आँसु पनि अचेल के के सोचेर बस्छ।

तिमीले लगाएको त घाउ पनि बढ्दो रैछ ,
मैले लगाएको त गुलाव पनि सुकेर बस्छ ।

म ज्युँदो छु  ऊ पनि अर्कैको अंगालोमा छे,
बिचरा कसम के गरोस्, अचेल हाँसेर बस्छ।

अब के बताऊँ मेरो प्रेमको बारे हजुरलाई ,
कुनै भाँचिएको हाँगो रुखमै अड्केर बस्छ ।

 


यस्तै यस्तै रह्यो प्रेमको बुझाइ पनि ।
किनारसम्म न हो छालको दौडाइ पनि ।

फेरि सम्झिएँ आफूलाई भएको पीडा,
धोका दिऊँ दिऊँ लागेथ्यो मलाई पनि ।

केही दिन मन नदुखे मन दुख्न थाल्छ,
दुखाइबाटै दुखित रहेछ दुखाइ पनि ।

द्वारमा त स्वागतम् नै लेखिदो रहेछ,
कार्यक्रम किन नहोस् बिदाइ पनि ।

सानोमा मिठाइको खोल तानेझैं लाग्छ,
तन्काइ रहँदा सम्बन्धको लम्बाइ पनि ।


पुगिसकेछ अर्कै घाउमा सियो फेरि ।
हाय! धागो कपडामै अल्झियो फेरि ।

धोका दिन्छु भनेको थियो, दिएन
ऊ पनि धोकेवाज निस्कियो फेरि ।

भनेकै त हुँ श्रृङ्गार गरेर नआऊ
मेरो नियत खराब भैदियो फेरि ।

यहाँ प्रेमिका त दोहोरिइरहन्छन्,
ऊ भन्छ काफिया दोहोरियो फेरि ।

यति जोडले अंगालोमा कस्नु भो,
लाग्यो छातीको तस्वीर खुम्चियो फेरि ।

© कृष्णप्रसाद अर्याल

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank