जेलबाट निस्कनेबित्तिकै पूर्वसभामुख महराद्वारा धन्यवाद ज्ञापन

मङ्लबार, फाल्गुन ६, २०७६



काठमाडौं । जबर्जस्ती करणी मुद्दामा आइतबार जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महराले डिल्लीबजार कारागारबाट निस्कनासाथ आफूलाई निर्दोष सावित गर्ने सम्मानित अदालतप्रति विशेष आभार र धन्यवाद व्यक्त गरेका छन् ।

उनले एक विज्ञप्ति प्रकाशित गरी अदालती प्रक्रियाका क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने परिवारका सम्पूर्ण सदस्यहरू, मित्रहरू, उनकाे पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरू र राजनीतिक व्यक्तित्वहरूप्रति समेत हार्दिक आभार प्रकट गरेका छन् ।

विज्ञप्तिमा महराले भनेका छन्, ’मैले ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित् आरोप खेपेको छु। यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरू, शुभचिन्तकहरू, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरू, प्रहरी मित्रहरू र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरूलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु।’

उनले थपेका छन्, ’एक देशभक्त नेपालीका रूपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ। नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ।’

महरा डिल्ली बजार कारागारको ‘क’ ब्लकमा बस्दै आएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments