मोहनी (मुक्तक)

शनिबार, फाल्गुन १९, २०७४

- कृष्ण ओली अबिरल



मनको कुरा खोली दिने मान्छे
पलपल मुटु पोली दिने मान्छे ।

हराएको जस्तै भाछ आजभोलि
भेटमा मिठो बोलि दिने मान्छे

…………………………………

दूर दूर हुनुको कारण थाह भए
एकसुर हुनुको कारण थाह भए ।

म नि चित्त बुझाउँथे अलिकति
झन चुर हुनुको कारण थाह भए ।

…………………………………

आफ्नै कथा छन उड्ने चरिका पनि
कम कहाँहुन्छन गुनासा परिका पनि ।

कोसँग छैनन कथा व्यथा अवस्थाका
चुनौति नै कति हुन्छन झरिका पनि

…………………………………

जीवन जिउने आधार होस मेरो
तिम्रो माया नै संसार होस मेरो ।

प्रेम रोगले नै मर्छु कि जस्तो छ
सकभर छिट्टै उपचार होस मेरो ।

…………………………………

जुन बेलामा तिम्रो याद आउँछ
मनमा मर्ने बाँच्ने विवाद आउँछ ।

तिमी आउँदै गर्नु मुस्कुराउँदै गर्नु
अनि पो जिन्दगीमा स्वाद आउँछ ।

……………………………….

नजिक हुन आफ्नो पन चाहिन्छ
चाकडि र समर्थन झन चाहिन्छ ।

सजिलै त कहाँ चिन्ने गर्छ दुनियाँ
चिनिन त पैशा र यौवन चाहिन्छ

…………………………………

जहर पिलाउँछ मान्छे, भन्छ बाँचिरहनु
पीडा होस् कि कष्ट, सहेर नै हाँसिरहनु ।

बाहिर एक भित्र अनेक स्वरुप देखाएर
तनको स्वार्थमा चोखो नाता गाँसिरहनु ।

…………………………………

म कृष्ण उ राधा हुने भए
पिरति झन गाढा हुने भए ।

सम्बन्ध नि दिगो हुन्थ्यो
जीवन पनि सादा हुने भए ।

…………………………………

भन्नू पर्ने आखिर चाह के थियो
दिल जलाउनु पर्ने डाह के थियो ।

मनको धनी म पनि त थिएँ नि
त्यो भन्दानि अरु आह के थियो ।

 

467 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank