नेपाल–भारत सम्बन्धः आगो निभ्यो भन्ठान्यो फेरि धुवाँउँदै निस्किने

बिहिबार, मंसिर १६, २०७३

loading...

- केपी शर्मा ओली



‘पृथ्वी झै जीवन पनि गोलाकार छ । कहिलेकाही ठूस्किएर, ठ्याक्कै बिपरित दिशामा हिँडे पनि फेरि हाम्रो भेट हुने निश्चित छ। नेपाल भारत सम्बन्धको नियति पनि त्यस्तै हो।’ विजयकुमारले एउटा आलेखमा भनेका थिए । नेपालभारत सम्बन्ध त्यही अवस्थामा देखिएको छ । भूपरिवेष्ठित नेपाल तीनतिरबाट भारतले घेरिएको छ । त्यही कारणपनि भारतसँगको सम्बन्ध विषेश छ । तर नजिकको छिमेकीसँगको सम्बन्धमा उतार चाढव आइनै रहन्छ ।

नेपाल–भारत सम्बन्ध विगत, वर्तमानमा कस्तो रह्यो र छ । भविश्यमा कस्तो रहला । नेपाली राजनीतिको पहिलो पुस्ता, पूर्व प्रधानमन्त्रीहरु र युवा राजनितिज्ञ, नेपाल भारत सम्बन्धका विभिन्न पाटाका विषयमा जानकार विज्ञहरुको दृष्टिमा नेपाल भारतसम्बन्ध कस्तो छ भन्ने विषयमा खोजमुलक आलेख सहितको किताव तयार भएको छ । युवा राजनीतिज्ञ डा विजयकुमार पौडेलले तयार पारेको नेपाल भारतसम्बन्धका पाटाहरुलाई मसिनोगरि केलाइएको पुस्तक‘नेपाल भारत सम्बन्धः विगत, वर्तमान र भविष्य’ बिहीबार काठमाडौंमा सार्वजनिक हुँदैछ । त्यही कितावबाट लिइएको केपी शर्मा ओलीले लेखको सम्पादित अंश ।

ऐतिहासिक सन्दर्भः
प्राकृतिक हिसाबले नेपाल र भारत छिमेकी छौं । राजनीतिक भूगोलका हिसाबले हामी ठूलो–सानो छौं । हामी पूर्व, पश्चिम र दक्षिण तीनतिरबाट भारतद्वारा घेरिएका छौं । अर्थात, हाम्रो अधिकांश सिमाना भारतसँग जोडिएको छ । उत्तरतिर अल्गा हिमालय छन् भने दक्षिणतिर समथर मैदान छ ।

नेपाल–भारत सम्बन्ध प्राकृतिक, परम्परागत र राजनीतिक हिसाबमा मात्र सीमित छैन, त्यसभन्दा बढी यसका सामाजिक, सांस्कृतिक र आर्थिक पक्षहरु छन् । नेपाल–भारत सम्बन्ध आफैंमा मात्र होइन, अन्तर्राष्ट्रिय मञ्च र अन्तर्राष्ट्रिय प्रश्नहरुम समेत सम्बन्धित भएर जान्छ । उत्तरतिर छिमेकी राष्ट्र चीन छ ।

त्यो सत्य नेपाल–भारत सम्बन्धका प्रश्नहरुमा पनि प्रकट भइरहन्छ । भूगोल र जनसङ्ख्यमा नेपाल सानो र भारत ठूलो छ । यो कुरा बेला–बेलामा प्रकट भइरहन्छ । दक्षिणी भूभाग हिजो राज्यको उत्पत्ति हुनुभन्दा अगाडिदेखि अथवा राजनीतिक सिमाना बन्नुभन्दा अगाडिदेखि समाज विकासका क्रममा रजौटा वा राजौटाभन्दा उक्लिएका सामन्ती राज्यहरु हुँदा पनि थियो । त्यसक्रममा जुन सम्बन्धहरु विकास भए, ती सामाजिक–सांस्कृतिक सम्बन्धहरु राजनीतिक सम्बन्धभन्दा पुराना छन् । नेपाल–भारत सम्बन्धमा त्यो पक्ष पनि प्रकट भइरहन्छ ।

सार्वभौमसत्ताः बोली र व्यवहारमा देखिने भिन्नता
प्राप्त नभएकाले प्राप्त गर्न खोज्छ । यो प्रवृत्ति हो । जोसँग छ, त्यसले गुमाउन खोज्दैन, इच्छापूर्वक छोड्न खोज्दैन । मान्छेहरुले भन्छन् नि–‘बेलायत शान्तिपूर्ण ढङ्गले भारतबाट फर्कियो ।’ फर्कनैपर्ने परिस्थितिले पोलेपछि फर्केको हो । नत्र, अगाडि पनि त्यहाँ बेलायत नै थियो, कब्जा गर्न आउने पनि बेलायत नै थियो ।book

त्यो प्रवृत्ति नेपाल–भारतका सम्बन्धमा पनि देखिन्छ । अलिकति रस्साकस्सी देखिन्छ । हामीले २००७ सालयताका कुरा गर्ने हो भने २०१७ सालमा वीपी कोइराला कसरी अपदस्थ भए ? २०१८ सालमा काङ्ग्रेसमाथि त्यत्रो दमन कसरी भयो रु ३० वर्षसम्म पञ्चायत कसरी टिक्यो ? अरु अनेका घटनाक्रम छन् ।

नेपाल स्वाभिक रुपमा स्वतन्त्र ढङ्गले आफ्नो सार्वभौम प्रयोग गर्न चाहन्छ । त्यो एउटा राष्ट्रको चरित्र हो । एउटा राष्ट्रसँग आफ्नो सार्वभौम स्वतन्त्रता (सोभरिन इन्डिपेन्डेन्ट) भन्नुस् वा स्वतन्त्र सार्वभौमसत्ता (इन्डिपेन्डेन्ट सोभर्निटी) हुन्छ । त्यो प्रयोग गर्दा बलियोले आफूलाई अलिकति चुनौती (थ्रेट) महसुस गर्छ, अलिकति अटेर गरेको ठान्छ । यो इतिहासको लामै सन्दर्भ र घटनाक्रमहरुबाट देखिएको छ ।

नेपाल–भारतबीचको सम्बन्धलाई हेर्दा उतारचढाव देखिन्छ । कहिले तनावपूर्ण हुने, फेरि सुमधुर हुने । आगो निभ्यो भन्ठान्यो फेरि धुवाँउँदै निस्किने । फेरि साम्य भयो भन्यो अर्को कुनाबाट पुत्पुताउने । यस्तो घटनाक्रम हामीले देखिरहेका छौं । जो बलियो छ, उसले समानताको सैद्धान्तिक लेख लेख्दा मान्छ, भाषण गर्दा मान्छ, तर व्यवहारमा आएपछि आफूलाई चुनौती दिएको ठान्छ । ‘बराबरीको हैसियत खोज्ने ?’ भन्ने रुपमा लिन्छ । त्यो ग्रन्थीले काम गरेको हुन्छ ।

नेपाल र भारतका बीचमा कुनै समस्या छैनन्, गम्भीर समस्या छन् । समस्या यस अर्थमा छैनन् कि यो एउटा सार्वभौम राष्ट्र हो । यसले आफ्नो स्वाधीनताको उपयोग गर्छ । आफ्ना मामिला आफैं सञ्चालन गर्छ, आफैं हेर्छ । नेपालमा कोही पनि भारतको बैरी छैन, हुन सक्दैन, हुने सोच्न पनि सक्दैन । यत्ति हो –नेपाल २१औं शताब्दीको सार्वभौम देशका रुपमा सार्वभौम समानता चाहन्छ । कुनै खर्च गर्नुपर्दैन, त्यति मानिदिए पुग्छ भन्ने नेपालको मान्यता हो ।

हामी कारिन्दा होइनौं, मित्र हौं
नेपालका तर्फबाट केही समस्या छैन । हामी भारतसँग मिलेर काम गर्न चाहन्छौं । स्रोतहरुको उपयोग पनि मिलेर गर्न चाहन्छौं । भारत भूगोलमा ठूलो छ, जनसङ्ख्यामा ठूलो छ, विकासमा अगाडि छ । यसबाट हामी बेखुसी छैनौं । त्यसबाट हामीलाई पनि राम्रै हुन्छ । हामी भारतले बाटो दिए वा भन्सार खुला राखिदिए खान पाउने नत्र भोकै मर्ने हुन चाहँदैनौं । त्यो हामीलाई अन्तर्राष्ट्रिय कानुनले दिएको छ । त्यसो गर्नुपर्दैन, भारतले त्यसो गर्न मिल्दैन ।

तर, हामीले भोगेका छौं नि ! ‘नाकाबन्दी छैन, हामीले लगाएका छैनौं, तिनीहरुकै साथीभाइको कच्याककुचक हो, हाम्रो सुरक्षा भएन र चालक जान मानेनन्’ भन्दै सवारीसाधन रोकेको अनुभव त हामीसँग छ नि ! एउटा मात्र देशबाट घेरिएको भए सायद त्यो हाम्रो ‘नसिब’ हुन्थ्यो । तर, हाम्रो त चीन पनि छिमेकी छ । चीनबाट पारवहन अधिकार प्राप्त गर्ने हाम्रो हक हो ।

एकछिन छाडिदिऔं, नाकाबन्दी भारतले लगाएको होइन । त्यो हामी आफैंले लगायौं । हाम्रा आफ्नैहरुले हामीलाई भोकै मार्न खोजे । जेसुकै होस् वैकल्पिक बाटो भएपछि त हामी त्यसरी त मर्दैनौं नि ! हामीले हाम्रो बाटो बनाए थप अनुकूलता खोज्दा भारत विरोध भयो र ? यसबाट कहीँकतै भारतको विरोध भएको छैन, भारतको अहित भएको छैन ।

हामी भारको अहित सोच्दा पनि सोच्दैनौं । हामीले भारतका जायज चासो, चिन्ता र सरोकारहरु बुझेका छौं र तिनलाई सम्बोधन पनि गरेका छौं । तर, केही सञ्चारमाध्यम र एजेन्सीहरु उनीहरुले भनेअनुसार हुनुपर्छ भन्छन् । त्यो भारतको केन्द्रीय नीतिअनुसार पनि छैन । आफूले भनेअनुसार भएन भने तिनीहरुले त्यसलाई बढाएर र उछालेर आफ्नो ‘बिजनेस’ चलाउँछन् ।

केन्द्रीय राजनीतिक नेतृत्वले त्यस्ता खेल–तमसालाई रोक्नुपर्ने हो, अस्वीकार गर्नुपर्ने हो । त्यस्तो अनुचित खेल–तमासा नहुनेबित्तिकै नेपाल–भारत सम्बन्ध बहुतै सुमधुर र सुन्दर भएर जान्छ । नेपाल एउटा मित्र हो, मित्र भएर नपुग्ने ? आदेश तामेल गर्ने कारिन्दा चाहिने ? स्वाभिमान भएको राष्ट्रले त्यो कुरा मान्दैन ।

8342 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom