भीम रावल र जनार्दनलाई प्रचण्डको दनक, विन्दालाई ओलीको व्याङ्ग्य

शुक्रबार, जेष्ठ ११, २०७५



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा धारणा राखे । बिहीबार अबेर सम्पन्न बैठकमा प्रचण्डले केही नेताहरूको प्रचारशैलीको खुलेरै आलोचना गरे । बैठक स्रोतका अनुसार प्रचण्डले नाम उल्लेख नगरी स्थायी कमिटीका सदस्यद्वय भीम रावल र जनार्दन शर्माको कार्यशैलीलाई निरुत्साहित गर्नुपर्ने बताए ।

स्रोतले प्रचण्डको भनाई उदृत गर्दै नेपालपाटी डटकमलाई भन्यो ‘सचिवालयमा पाँच जना थपियो भनेर बधाई दिने काम भइरहेको छ । उसले उसलाई, उसले उसलाई बधाई दिने काम देख्दैछु । यो गलत तरिका हो । सामाजिक सञ्जलामा त्यस्ता गतिविधि देखेपछि मैले अध्यक्ष ओली (केपी ओली) सँग सोधेँ– के हो यो । उहाँले मलाई थाहा छैन भन्नुभयो । कसैले मिडियामा लेखाएर बाहिर माहोल बनाउने र नेतृत्वलाई प्रेसर गर्ने कम्युनिष्ट तरिका होइन । यसलाई निर्ममतापूर्वक निरुत्साहित गर्नैपर्छ ।’

रावल र शर्मालाई सचिवालयमा मनोनित भएको भन्दै सामाजिक सञ्जालमा धेरैे बधाई दिएका थिए । प्रचण्डले बैठक नै नबसी कसरी निर्णय हुन्छ भन्दै प्रश्न समेत गरेका थिए । यस विषयमा ओलीले भने कुनै टिप्पणी गरेनन् ।

ओलीले केन्द्रीय सदस्य विन्दा पाण्डेप्रति व्याङ्ग्य गरे । पाण्डेले ट्वीट गर्दै नेपाल कम्युनिष्ट पार्टी समावेशी नभएको भन्दै निर्वाचन आयोगले के गर्ला भन्ने प्रश्न गरेकी थिइन् ।

ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो ‘यो देशमा कम्युनिष्ट पार्टी नै हो सवैको अधिकार बराबरी हुनुपर्छ भन्ने । त्यतिबेला बुर्जुवाहरू हातका औला देखाएर ‘एउटै हातका औला त बराबरी छैनन्’ भन्थे । अहिले कतिपय ट्याउट्याउ गरिरहेका छन् । नेपालमा ट्याउट्याउ गर्नेहरूले कान खोलेर सुने हुन्छ नेपालमा कम्युनिष्ट पार्टी समानताको पक्षमा छ । जनतासँग गरेका बाचा पुरा गर्नेछौँ । मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउनेछौँ । केही एनजिओ/आइएनजिओले उचालेको भरमा हल्ला गरेर केही हुन्नँ ।’

सत्तामा पुगेपछि स्खलित हुने समस्या छः प्रचण्ड
बैठकमा प्रचण्डले बाहिर हुँदा क्रान्तिकारी बन्ने तर सत्तामा पुगेपछि आदर्श स्खलित हुने समस्या रहेको औल्याए । उनले भने ‘नेपालमा भएको क्रान्ति अभूतपूर्ण क्रान्ति हो । अरु देशमा बुर्जुवा बर्गले क्रान्ति गरे । नेपालमा हामी (कम्युनिष्ट) ले क्रान्ति ग¥यौँ । यो अभूतिपूर्ण क्रान्ति हो । तर, सत्तामा गएपछि आदर्श स्खलित हुन्छ । यो संसारभरका कम्युनिष्टमा देखिएको फेनोमोनो हो । सत्ताबाहिर हुँदा क्रान्तिकारी हुने र सत्तामा पुगेपछि स्खलित हुने समस्या अव आउनु हुन्नँ ।’

स्थानीय, प्रदेश र केन्द्रमा बहुमतका साथ कम्युनिष्टले सरकार बनाएको उल्लेख गर्दै प्रचण्डले भने ‘हामी अलिकति मात्र चुक्यौँ भने कसैले पनि छाड्ने छैन । हामीलाई अगाडि बाट, पछाडिबाट, दायाँबाट बायाँबाट आक्रमण सुरु भएको छ । हाम्रो एकताबाट मात्र यसको मुकाविला गर्न सक्छौँ ।’

 ओलीको जवाफ
बैठक स्रोतका अनुसार ओलीले ठट्टा गर्दै जवाफ दिएका थिए । उनले भनेका थिए ‘जेलमा बस्दा म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिन भन्नुको के अर्थ छ । जेलमा बस्दा नाताबाद, कृपावाद गरेको छैन भन्नुको पनि अर्थ छैन् । नातावाद, कृपावाद पदमा हुँदा गरे कि गरेनन्, भ्रष्टाचार गरे कि गरेनन भन्ने महत्वपूर्ण पक्ष हो । म पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रुपमा भन्न चाहन्छु– म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ ।’ राष्ट्रको ढुकुटी चलाउने जिम्मा पाउँदा भ्रष्टाचार ग¥यो कि गरेन भनेर हेर्नुपर्ने ओलीको तर्क छ ।

2244 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank