ओली र प्रचण्ड वार्ता निष्कर्षविहीन, अब के होला पार्टी एकता ?
पार्टी एकता संयोजन समितिको बैठक मंगलबार बिहान
सोमवार, बैशाख ३, २०७५

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्ता निष्कर्ष विहीन भएको छ । एकताको विषयमा टिकाटिप्पणी भइरहेको बेला सोमबार दुई अध्यक्षबीच भेटवार्ता भएको थियो ।
वाम एकता प्रक्रियाबारे अन्योल भइरहेका बेला ओली र प्रचण्डबीच एक्लाएक्लै वार्ता भएको हो । शीर्ष तहमा छलफल नभएको बेला भएको भेटवार्ता पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएलगत्तै बस्ने भनेको पार्टी एकता संयोजन समितिको बैठक समेत बस्न सकेको छैन् ।
संयोजन समितिको बैठक बसेर निष्कर्षमा पुग्ने नेताहरूले बताएका छन् । नेताहरूको व्यवस्थापन र निर्वाचन चिह्नबारे सहमति जुट्न सकेको छैन । संयोजन समितिको बैठक मंगलबार बिहान ९ बजे बोलाउने र त्यही थप छलफल गर्ने भन्दै दुई अध्यक्षबीचको वार्ता सकिएको थियो ।
दुवै पार्टीले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आगामी ९ गते पार्टी एकता गर्ने घोषणा गरेका छन् । तर, २ सातायता शीर्ष तहमा सम्बाद हुन नसक्दा पछिल्लो समय एकता प्रक्रियामा अन्योल देखिएको छ । ओली र प्रचण्डको सोमबारको छलफलबाट निकास निस्कने अपेक्षा नेताहरूले गरेपनि निष्कर्षविहीन भयो ।
अधिकांश बिषयमा सहमति बनिसकेको भएपनि नेताहरुको व्यवस्थापन र निर्वाचन चिन्हको विषयमा सहमति बनेको छैन् । माओवादीले ५० प्रतिशत सहभागिताको विषय उठान गरेपछि एकताबारे अनेक टिकाटिप्पणी सुरु भएका छन् । तरपनि नेताहरूले भने एकताबारे शंका गर्न आवश्यक नभएको बताएका छन् ।
204 पटक पढिएकोप्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments