प्रधानमन्त्री ओलीको सम्बोधन आज, गुठी विधेयक देखि युरोप भ्रमणबारे बोल्ने

मङ्लबार, असार ३, २०७६



काठमाडौं । नौ दिने युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज(मंगलबार) प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सरकारमाथि उठाइएका विभिन्न प्रश्नहरुको जवाफ तथा आफ्नो युरोप भ्रमणबारे जानकारी दिन बैठकलाई आज सम्बोधन गर्न लागेका हुन् ।

आज ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमण र समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताएका छन् ।

प्रधानमन्त्री ओली बेलायत, फ्रान्सलगायतका युरोपेली देशहरु घुमेर आइतबार स्वदेश फर्किएका थिए । संसदीय परम्परामा राजकीय भ्रमण अघि र पछि संसदलाई जानकारी दिने गरिन्छ । त्यहीअनुरुप ओलीले भ्रमणबारे जानकारी गराउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषय तथा सदनमा पेश भएका विधेयकबारे पनि आज सरकारी धारणा राख्नेछन् ।

प्रधानमन्त्री ओलीले आज बस्ने संसद बैठकमा गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान गरिएको  छ ।

त्यस्तै, मिडिया काउन्सिल विधेयकबारे पनि प्रधानमन्त्रीले धारणा राख्ने छन् । सरकारले यो विधेयक संसद्मा प्रस्तुत गरे पनि चौतर्फी विरोधका कारण अघि बढ्न सकेको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata