मोदीलाई बधाई दिन प्रधानमन्त्री ओली आज भारत जाँदै

बिहिबार, जेष्ठ १६, २०७६



प्रधानमन्त्री केपी शर्मा ओली आज(बिहिबार) नयाँ दिल्ली जाँदैछन् । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा समारोहमा सहभागी हुन उनी दिल्ली जान लागेका हुन् ।

मोदीले अघिल्लो कार्यकालको शपथ ग्रहणमा सार्क सदस्य राष्ट्रलाई निम्ता गरेका थिए। यसपटक मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रलाई निम्त्याएका छन्। प्रधानमन्त्री ओली बिम्स्टेक सदस्य मुलुकका नाताले मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनेछन्।

भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रम रहेको छ । उनीसँगै उनको मन्त्रिपरिषद्ले पनि बिहीबार नै शपथ ग्रहण गर्दै छ ।

प्रधानमन्त्री ओलीले नेपाल र भारतका दुईपक्षीय विषयमा कुराकानी गर्ने बताइएको छ। प्रधानमन्त्री ओली सार्क अध्यक्षसमेत रहेकाले सार्कको विषयलाई उठाउने उनी निकट अधिकारीले बताए।

बिहीबार दिउँसो १ः३५ को नेपाल वायुसेवा निगमको नियमित उडानबाट नेपालबाट दिल्ली ओर्लन्छन् । प्रधानमन्त्रीका साथ पत्नी राधिका, परराष्ट्र सचिव, सल्लाहकार, शिष्टाचार महापाल र केही सहयोगी भारत भ्रमणमा जानेछन्। शुक्रबार ३ः४० को निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

मोदीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओली, बंगलादेशी राष्ट्रपति अब्दुल हामिद, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, म्यान्मारका राष्ट्रपति विन मिन्ट, भुटानी प्रधानमन्त्री लोटे छिरिङ सहभागी हुनेछन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना मुलुकबाहिर भएका कारण राष्ट्रपति हामिदले सहभागिता जनाउन लागेका हुन्। बिम्स्टेक सदस्य मुलुकबाहेक मोरिससका प्रधानमन्त्री प्रवीण जुगनौत र किर्गिजस्तानका राष्ट्रपति सुरोनबे जिनबेकोव पनि शपथमा सहभागी हुँदैछन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments