स्थापित र श्रेष्ठले ओलीलाई साथमै राखेर दिए शाक्यलाई जीतको शुभकामना

बिहिबार, बैशाख २१, २०७४



काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३१ मा हुने स्थानीय निर्वाचनका लागि आफ्नो पार्टी मैदानमा खडा भएको भन्दै स्वर्ण पदक ल्याउनेमा कुनै शंका नभएको दाबी गरेका छन् । एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको एक भेलामा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । ‘हामीले खेलको मैदानमा प्रवेश गरिसकेका छौँ,’ उनले भने, ‘स्वर्ण पदक बाहेक एमालेले सोच्नै सक्दैन । जनताको जनमत र अभिमत पनि यही हो ।’

उनले काँग्रेस र माओवादी केन्द्रप्रति लक्षित गर्दै रजत र काँस्यका लागि गरेको प्रतिष्पर्धाले एमालेलाई खासै फरक नपर्ने दाबी गरे । ‘नीति, विचार, सिद्धान्त, आचरण सबै कुरामा एमालेसँग प्रतिष्पर्धा गर्ने कुनै पनि शक्ति छैन,’ उनले भने, ‘जालझेलको मैदानमा उनीहरुसँग (काँग्रेस–माओवादी) एकलौटी छ । त्यसले केही समस्या भएको छ ।’

उनीहरुको जालझेलको राजनीति स्थायी नभएको भन्दै उनले यसलाई परास्त गरेर छाड्ने पनि दाबी गरे । ‘हरेक राजनीतिक परिवर्तनका क्रममा नक्कली आडम्बरी, जालझेल र तमासा गर्नेहरु पटक–पटक पहिलो भएकाले देश समस्यामा पर्यो,’ उनले भने, ‘अब जनतामा भ्रम फैलाएर राजनीति गर्ने दिन गए ।’

काँग्रेस–माओवादीको वैशाखीनै जालझेल हो

ओलीले अहिले काँग्रेस–माओवादी जनताकाबीचमा नराम्ररी पछारिएको भन्दै उनीहरुको टेक्ने आधार अथवा वैशाखी नै जालझेल भएको पनि दाबी गरे । ‘वगवास कुरा गरेर अब पनि जितौला भन्ने आशा नगरे हुन्छ,’ उनले भने, ‘अहिले एमाले महिला विरोधी भयो भनेर उनीहरुले हल्ला गरेका छन् । महाअभियोगको अनुचित प्रस्ताव ल्याएर पहिलो पटक बनेकी महिला प्रधानन्यायाधीलाई हटाउनेहरुले एमाले महिला विरोधी भयो भनेर हल्ला गर्न मिल्छ ?’
उनले महाअभियोग प्रस्ताव फिर्ता नगरेसम्म संसद् चल्न नदिने पनि ठोकुवा गरे । ‘अहिले एमाले राप्रपासँग तालमेल गर्यो भनेर हल्ला गरेका छन्,’ उनले भने, ‘उपप्रधानमन्त्री नछाड्नु है भन्दै दण्डवत गर्नेहरुले एमालेलाई त्यस्तो आरोप लगाउन मिल्छ ?’ उनले देशभक्त बामपन्थी शक्ति बाहेर काँग्रेस र माओवादीको तालमेल भएको भन्दै त्यसलाई अपवित्र गठबन्धनको संज्ञा दिए ।

विद्यासुन्दर सर्वाधिक सक्षम र योग्य उम्मेदवार

ओलीले एमालेले मेयरका रुपमा अघि सारेका विद्यासुन्दर शाक्य सर्वाधिक सक्षम र योग्य उम्मेदवार भएको पनि दाबी गरे । ‘एमालेमा सबै योग्य, सक्षम र इमान्दार उम्मेदवार थिए,’ उनले भने, ‘एमालेले ती सबै मध्येबाट विद्यासुन्दरलाई छानेको छ । अब उहाँ जत्तिको योग्य, सक्षम र इमान्दार उम्मेदवार अहिलेका मेयरका उम्मेदवारमा कोही पनि छैनन् ।’

स्थापित र श्रेष्ठले शाक्यलाई दिए जीतको शुभकामना

एमालेका तर्फबाट मेयरका रुपमा दाबी गरिरहेका केशव स्थापित र जीवनराम श्रेष्ठले शाक्यलाई जीतका लागि
शुभकामना मात्रै दिएनन् । उनीहरुले आफूहरु पनि शाक्यको प्रचार–प्रशारमा लागेको घोषणा गरे । अध्यक्ष ओलीलाई अघि राखेर तीनै जनाले हात उठाएर एक भएका सन्देश दिए ।

2446 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank