प्रधानमन्त्रीको रणनीति : स्थायी समितिको सट्टा संसदीयदल फेस गर्ने

बुधबार, बैशाख १७, २०७७



अनुचित समयमा प्रधानमन्त्रीले फ्याँकेका दुई अध्यादेशको पराकम्पन नेकपा राजनीतिमा रोकिने छाँटकाँट देखिएको छैन । मधेश केन्द्रित दललाई फुटाएर आफू बलियो बन्ने कुटिल खेलको कारण नेकपा राजनीति कठिन मोडतर्फ लम्किँदै छ । पार्टी अध्यक्ष एवम प्रधानमन्त्री ओलीको कारण सिर्जित समस्याबाट पार पाउन ओली कमरेड पार्टीमा नयाँ नयाँ समस्या निम्त्याउँदै छन् । पार्टीलाई कमिटी पद्धतिमा लानुको सट्टा अनेक जालझेल, षड्यन्त्र र कोठे बैठकमा लिप्त हुने शैलीको कारण पार्टीको छवी धुलीसात हुँदै छ ।

अध्यादेश प्रकरणसँगै पार्टी भित्रका तमाम समस्याको छिनोफानो स्थायी समिति बैठक मार्फत गर्न २० सदस्यीय स्थायी समिति सदस्यले लिखित निवेदन बुझाएपछी प्रधानमन्त्री ओली ठूलो दबाब महशुस गर्दै छन । पार्टी सचिवालय, स्थायी समिति र केन्द्रिय कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्री ओली यस कठिन समस्याबाट पार पाउन अनेक जोड-घटाउ गर्न व्यस्त छन । पुर्व एमाले हुँदा वामदेव गौतम र झलनाथ खनाल लिएर माधव नेपाललाई पेल्ने, नेकपा बनेसँगै कमरेड प्रचण्डलाई लिएर झलनाथ-माधव बीच खेल्ने , पार्टीलाई आफ्नै पेवा सम्झने, निर्णय प्रक्रियामा एकलौटी गर्ने, पार्टीलाई विधि र पद्धतिमा हिडाउन नचाहने ओली शैली अन्तत: विस्फोटमा पुग्नै लाग्दा प्रचण्ड, माधव, वामदेव र झलनाथ एक ठाउँ उभिने अवस्था ओलीको कारण सिर्जना भएको छ ।

कमरेड ओलीले भरसक प्रधानमन्त्री, नभए पार्टी अध्यक्ष छाड्नुपर्छ भन्ने निचोडमा ओली इतरका कमरेडहरु पुगे सँगै गत सोमबार बिहान प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपालसँग बालुवाटारमा कुरा गरे । नेपालसँग भेटमा पार्टीभित्रको झगडा मिलाउन उनले कुनै ‘अफर’ गरेनन् । मिलेर जाउँ भने, नमिल्ने भए परिस्थिति सामना गर्छु भन्दै नेपाल माथी दबाब सिर्जना गरे । त्यसको केहि समयपश्चात प्रधानमन्त्रीका निकट सहयोगीहरु नेपाल निवास कोटेशवरमा भेला भए । उनीहरुले माधव नेपाल सहित उनका सहयोगी सामु भावनात्मक केही कुरा राखे भने थोरै ‘ललीपप’ देखाए ।

ओली पक्षबाट फ्याँक्ने ‘चारा’ प्रचण्ड र माधवसँग समान भएको खुलेसँगै बालुवाटारले सोमबार देखि ‘परिआए सामना गर्ने’ रणनीति तय गरेको छ । जस अनुसार सांसद र स्थायी समिति सदस्यहरूलाई अनेक दबाब र लोभलालच दिँदै संसदीय दलमा बहुमत पुर्‍याउने खेल खेल्न कमरेड ओलीले आफ्ना विश्वासपात्रहरुलाई मैदान पठाएका छन । प्रचण्ड र ओली गुटसँग समान सम्बन्ध बनाउन सफल एक नेताले नाम नबताउने सर्तमा भनेका छनं । सत्ता र शक्तिको दुरुपयोग गर्दै सांसदहरुसँग हस्ताक्षर गर्न उनीहरुको घर , डेरामा पाखुरा ठूला भएका ओली कमरेडका मानिस पठाइएका छन । पूर्व माओवादीका केही सभासदलाई बालुवाटार लगिएको छ । प्रधानमन्त्रीलाई हटाउन अर्को क्याम्पले हस्ताक्षर शुरू गरेको भन्दै आफूहरूले पनि लबिङ बढाएको बालुवाटारको दाबी छ। स्रोतले नेपालपाटीलाई जनाए अनुसार आज बस्ने सचिवालय बैठकमा थप समस्या सिर्जना हुन पुगे बालुवाटार समर्थक सांसदहरुलाई एकै स्थानमा राखिने र उनीहरुको बहुमत देखाउँदै प्रधानमन्त्री पद सुरक्षित गरिने छ । नेपाल-प्रचण्डलाई  दबाबमा पार्ने रणनीति अनुरुप बालुवाटार नाङ्गो ढंगले प्रस्तुत हुँदा नेकपाको भविष्य थप अन्धकारतर्फ मोडिएको संकेत मिल्दै छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments