देश कोरोनामुक्त नहुँदासम्म तलब लिन्न- प्रधानमन्त्री

सोमवार, बैशाख १, २०७७



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणबाट मुलुक मुक्त नहुँदासम्म तलब नलिने घोषणा गरेका छन् । नयाँ  वर्षका अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको बताएका छन् ।

“आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो । मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु,” उनले सन्देशमा भनेका छन् ।

उच्च ओहोदामा रहेका र जनप्रतिनिधिले पाउने सुविधामा कटौती गर्नसमेत सुझाव दिनुभएको बताउँदै प्रधानमन्त्री ओलीले ती सबै सुझावमा प्रधानमन्त्रीको ध्यान गएको बाएका छन् ।

“मैले पटकपटक भन्दै आएको छु, यो युद्ध सबैको बलियो एकतामा जितिने युद्ध हो । विश्वव्यापी यस संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ । देश भित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वाेपरि रहनुपर्छ । मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारबहन हामी सबैले नै मिलेर गर्नुपर्छ,” प्रधानमन्त्रीको भनाइ छ ।

यस अवधिमा विश्व बैंकबाट कोरोना संक्रमण रोकथाम आपतकालीन सहयोगका लागि २९ मिलियन अमेरिकी डलर बराबरको सहायता सम्झौता भएको प्रधानमन्त्रीले बताएका छन् । विश्व बैंकसहित विभिन्न साझेदार संस्थाबाट यसैगरी विभिन्न शीर्षकमा १ हजार ५६३ मिलियन अमेरिकी डलर बराबरको रकमको व्यवस्था भएको पनि प्रधानमन्त्रीले बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments