नवनियुक्त मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देश : तलमाथि भए कारबाही हुन्छ

शुक्रबार, मंसिर ६, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरूलाई सचिव र सचिवलाई कर्मचारीसँग समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । मन्त्रिपरिषद्को पुनर्गठनपछि बिहीवार पहिलो पटक मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै  उनले यस्ताे निर्देशन दिएका हुन् ।

सचिव र कर्मचारीले नै काममा ध्यान नदिए आफूले मात्र चटपटाएर केही नहुने ओलीकाे भनाइ थियाे । उनले भने, ‘म मात्रै चटपटाएर केही हुँदैन, मन्त्रीहरू र सचिवहरू पनि चटपटाउनुपर्‍याे ।’

उनले हरेक मन्त्रालयले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर कामको योजना बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । उनले हरेक मन्त्रालयले आफ्नो मातहतका कामको स्थितिबारे चार दिन भित्र रिपोर्ट तयार गर्न समेत निर्देश गरेका छन् ।

“पहिले सडक पिच गर्ने, अनि पोल गाड्न अर्काे निकाय सडक भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने । अब यस्तो चल्दैन,” प्रधानमन्त्री ओलीले भने, “भत्काउनु अघि कहिलेसम्म निर्माण भइसक्छ, स्पष्ट योजना बनाउनु पर्यो । अब हरेक मन्त्रीले विकासमा सहकार्य मात्रै होइन सहउपयोगको नीति अपनाउनुपर्छ ।”

विकासका लागि सरकारको समथ्र्यमाथि जनताको विश्वास रहे पनि तत्परतामाथि अविश्वास उत्पन्न रहने गरेको बताउँदै प्रधानमन्त्री ओलीले तत्परता अपनाउन निर्देशन दिए । मन्त्रीहरूलाई पारदर्शी हुन पनि उनले निर्देशन दिए । मन्त्रीहरूलाई तर्साउने शैलीमा उनले भने, ‘तपाईंको पछाडि पनि मान्छे लगाएको छु, तलमाथि भए कारबाही हुन्छ ।’

ओलीले अब मुलुकमा उद्योग तथा उत्पादनमूलक क्षेत्रको विकास हुनपर्ने भन्दै सम्बद्ध विभागहरूलाई पनि समन्वय गराउन निर्देशन दिए । उनले कार्यसम्पादनका क्रममा लोभ गर्ने र मिलाएर आम्दानी गर्ने प्रवृत्ति देखिए सिधै कारवाहीको भागीदार हुने पनि चेतावनी दिए ।

यस्तै अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले आगामी फागुनमा हुने आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाडौं उपत्यकाका सडकमा खाल्डा देखिन नहुने बताए ।

“दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाडौं उपत्यकाका कुनै पनि सडक बन्न बाँकी छन्, कतै खाल्डा छन् भन्ने देखिनु हुँदैन,” प्रधानमन्त्री ओलीको भनाइ थियो, “विकास निर्माण भइरहेका ठाउँमा धुलो उड्नु स्वाभाविक हो, जहाँ निर्माण कार्य भइरहेको छैन, त्यहाँ धुलो उड्नु हुँदैन ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata