ओलीका सारथि, यी हुन सुझाव र सल्लाह दिने हर्ताकर्ता

शुक्रबार, चैत्र १६, २०७४

काठमाडौं ।  मुलुकलाई भ्रष्टाचारमुक्त बनाई आर्थिक समृद्धिको दिशामा लैजाने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धतालाई मूर्तरूप दिन उनका सारथिको भूमिका महत्वपूर्ण रहन्छ। ओलीलाई उनको ‘किचन क्याबिनेट’ मा रहेर सहयोग गर्ने र सुझाव दिन राजनीतिक, आर्थिक, प्रशासनिक र सञ्चार क्षेत्रका हर्ताकर्ता सक्रिय छन्।

ओलीले सल्लाहकार तथा सहयोगी टिम राख्दा पनि अत्यधिक तौलेर मात्रै राख्ने गरेको निकट सहयोगीले बताएका छन्। आफूलाई ओली निकट ठान्ने कतिपय नेतालाई समेत अहिले उनले भेट दिनसमेत छाडेका छन्।

ओलीका सारथि प्रधानमन्त्री ओलीले आफ्नो सल्लाहकार टिममा तीनजना मात्रै नियुक्त गरेका छन्। मुख्य सल्लाहकारमा विष्णु रिमाल, प्रेस सल्लाहकारमा डा.कुन्दन अर्याल तथा जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली नियुक्त भइसकेका छन्। उनले सुरक्षा तथा परराष्ट्र सल्लाहकार र विकास सल्लाहकार नियुक्त गर्न बाँकी छ।

प्रधानमन्त्री ओलीले सल्लाहकार टिम र स्वकीय सचिवालयमा ९१ जनासम्म राख्न पाउने व्यवस्थामा कटौती गरिसकेका छन्। ओलीले दुवै टिममा गरी बढीमा ५० जनासम्म राख्न पाउने निर्णय गराएका छन्।

संघीयता कार्यान्वयन राजनीतिक विषय तथा प्रशासनिक पुनर्संरचनाको प्राविधिक विषय समायोजन गरी अघि बढ्न ओलीलाई सल्लाहकारको सुझाव बढी महत्वपूर्ण हुने राजनीतिक विश्लेषकको तर्क छ।

राजनीतिलाई स्वच्छ बनाउन, इमान र नैतिकता वृद्धि गर्न पनि सल्लाहकारको महत्वपूर्ण भूमिका हुने गरेको विश्लेषकको तर्क छ।

प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, पूर्वसभामुख सुवास नेम्बाङ, रक्षामन्त्री ईश्वर पोखरेल, एमाले सचिव विष्णु पौडेल, प्रधानमन्त्रीकै प्रमुख सल्लाहकार विष्णु रिमालबाट राजनीतिक सुझाव लिने गरेका छन्। ओलीलाई सुझाव दिनेमा नेम्बाङ पनि अग्रपंक्तिमै पर्छन्। यसका लागि उनी प्रायः बालुवाटारमा नै रहने गरेका छन्।

राजनीतिक सुझबुझयुक्त नेता मानिने भएका सचिव प्रदीप ज्ञवालीसँग ओली उनमा राजनीतिक विश्लेषणमा बढी भर पर्छन्।

राजनीति, योजना र अर्थशास्त्रमा दक्खल राख्ने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको पनि ओलीले निकै भर गर्ने नेतामा पर्छन्। तर अहिले पोखरेल ५ नम्बर प्रदेशमा बढी समय दिनुपर्ने भएकाले उनले नियमित सघाउन पाएका छैनन्।

ईश्वर पोखरेल पनि ओलीलाई सघाउन नियमित बालुवाटारमा नै जाने गरेका छन्। विष्णु पौडेल पनि ओली निकट रहेर सघाइरहेका छन्। उनीहरू राजनीतिक रूपमा प्रधानमन्त्रीलाई सुझाव दिने पहिलो घेरामा पर्छन्।

प्रधानमन्त्री ओली यतिखेर सबैभन्दा बढी भर अर्थमन्त्री डा.युवराज खतिवडामाथि नै परेका छन्। मुलुकको बिगँ्रदो आर्थिक अवस्था खतिवडाले सुधार्न सक्ने विश्वास ओलीको छ। त्यसैले पनि उनले आफू निकटका धेरै नेताले अर्थमन्त्री ताक्दाताक्दै पनि पार्टीभित्रको आलोचना खेपेरै खतिवडालाई अर्थमन्त्री बनाएका हुन्।

आर्थिक समृद्धिलाई प्रमुख एजेन्डा बनाएका ओलीले आफ्नो एजेन्डा सफल पार्न अर्थमन्त्री खतिवडा सक्षम हुने विश्वास छ। त्यसैले ओलीले खतिवडाका धेरै कुरा सुन्ने गरेको बताइन्छ।

ओलीले पत्याएका अर्का युवा नेता हुन्, डा.राजन भट्टराई। देशविदेशको राजनीतिक, परराष्ट्र तथा प्रशासनिक विषयमा समेत दक्खल राख्ने भट्टराईबाट ओलीले सुझाव लिने गरेका छन्। ओली निकट स्रोतका अनुसार भट्टराईलाई प्रधानमन्त्रीले सुरक्षा तथा परराष्ट्र सल्लाहकारको रूपमा नियुक्ति गर्ने तयारी गरेका छन्। यसैगरी प्रधानमन्त्रीलाई सघाउने पहिलो घेरामा सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा अग्रपंक्तिमै छन्।

प्रधानमन्त्री ओलीले राजनीतिक सल्लाह लिने दोस्रो घेरामा माधवकुमार नेपाल, भीम रावल, वामदेव गौतम पर्छन्। नेपाललाई बालुवाटार बोलाएर ओलीले नियमितजसो नै छलफल गर्छन् भने रावल र गौतमस“ग पनि बेलाबखत सुझाव लिने गरेको बताइन्छ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश महर्जनले प्रधानमन्त्रीलाई अन्य पक्षस“ग भेटघाटको चाँजो मिलाउँछन्। प्रेस विज्ञको रूपमा पत्रकार रामशरण बजागाईंले ओलीको प्रेस व्यवस्थापनदेखि अन्य राजनीतिक भेटघाटको समेत चाँजोपाजो मिलाउने गरेका छन्। बजगाईंलाई ओलीले सचिवालयका अन्य महत्वपूर्ण कामको समेत जिम्मा दिएका छन्।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीलाई महत्वपूर्ण सूचना उपलब्ध गराउने र प्रेसस“ग डिल गर्ने काम गर्छन्। प्रेस सल्लाहकारमा डा.कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकार अच्युत मैनाली भर्खरै नियुक्त भएका छन्।

ओलीलाई प्रशासनिक सुझाव दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रेमकुमार राई अग्रपंक्तिमा छन्। स्वच्छ छविका सचिव राईसँग ओलीले प्रशासनिक सुधारका लागि सल्लाह लिने गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसचिव दिनेशकुमार थपलिया पनि सल्लाह दिने सचिवमा पर्छन्। प्रधानमन्त्रीको मुख्य प्रशासनिक सल्लाहकार मुख्यसचिव हुने भएकाले ओलीले प्रशासन सुधारका बारेमा मुख्यसचिव लोकदर्शन रेग्मीस“ग पनि सल्लाह लिने गरेका छन्।

ओलीले प्रमुख सल्लाहकार रिमालमार्फत नै मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा अन्य मन्त्रालयका सचिवस“ग प्रशासन सुधारका बारेमा फिडब्याक लिने गरेका छन्। ओलीको निजी सचिवालयमा खटिएका उपसचिव युवराज दाहाल पनि विश्वास पात्र भित्रै पर्छन्। ओलीले प्रमुख सल्लाहकार रिमालमार्फत नै प्रशासकहरूलाई सुधारका लागि लाग्न निर्देशन दिँदै आएका छन्। अन्नपूर्णपोष्टबाट

184 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank