केपी ओलीलाई जेलमा कांग्रेसीले हेप्थे

शनिबार, असार १६, २०७५



पुष्पराज कोइराला/नयाँपत्रिकाबाट

देशमा रोग, भोक, शोक, विभेद र असमानता व्याप्त थियो । निर्दलीय पञ्चायती व्यवस्थाअन्तर्गत राजाको प्रत्यक्ष शासन थियो । देशवासी नेपाली जनता राजाका ‘रैती’ थिए । तिनलाई आफूखुसी पढ्ने, लेख्ने र बोल्ने स्वतन्त्रता थिएन । आफूलाई अन्याय परेको कुरासमेत बोल्न पाउँदैनथे । यो कठोर दमनकारी निरंकुश शासनविरुद्ध ०३६ सालमा विद्यार्थीले बृहत् आन्दोलन सुरु गरे । त्यही आन्दोलनबाट राजनीतिमा होमिए हालका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना । लक्ष्य थियो– निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्ने ।

राजतन्त्रको अन्त्य गरी स्वतन्त्रता र बहुदलीय प्रजातन्त्रसहितको समतामूलक शासन व्यवस्थाको स्थापना गर्ने । अझ त्यसभन्दा पर साम्यवादमा पुग्ने लक्ष्यसहितको समाजवादको स्थापना गर्ने । चुनौती थियो– भूमिगतमै राजनीतिक दल तथा संगठनमा आमनेपालीलाई संगठित गर्दै लैजानु । पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा सक्रिय हुँदै गर्दा भोलि आफू कहाँ पुग्छु भन्ने उनले कहिल्यै सोचेनन् । राजनीतिक भविष्य वा पदमा आसिन हुने कुरा उनको मनमै उब्जिएन । न त उनले कुनै सपना नै देखेका थिए, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय सभाको पहिलो अध्यक्षजस्तो गरिमामय पदमा पुगौँला भन्ने ।

बमकाण्ड र गिरफ्तारी
०४२ सालको कुरा हो । कांग्रेसले पञ्चायतविरुद्ध सत्याग्रहको आन्दोलन गरिरहेको थियो । आन्दोलनकारी कांग्रेसका नेतालाई गिरफ्तार गर्ने र थुन्ने क्रम चलिरहेको थियो । त्यसताका म पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सचिव थिएँ । यसैबीच रामराजाप्रसाद सिंहको नेतृत्वमा राजतन्त्र र पञ्चायतविरुद्ध राष्ट्रिय पञ्चायतलगायत देशका विभिन्न स्थानमा बम विस्फोट भयो । विस्फोटमा संलग्न भएको आरोप लगाउँदै स्ववियु सदस्य हितकाजी गुरुङलाई गिरफ्तार ग¥यो । त्यसवेलाका स्ववियु सभापति खगराज अधिकारी बाहिर थिए । गुरुङलाई छुटाउन आफूमाथि पक्राउ आदेश भए पनि अधिकारी क्याम्पस प्रमुखलाई लिएर अञ्चलाधीशकहाँ पुगेँ । छुट्टै सिख राज्यको माग गर्दै भारतमा भइरहेको सिख आन्दोलनसँग विद्यार्थी आन्दोलनलाई तुलना गर्दै बमकाण्डमा विद्यार्थी नै दोषी रहेको अञ्चलाधीशले बताए । तर, आफूहरूको संलग्नता अस्वीकार गरेपछि अञ्चलाधीशले गुरुङलाई छाडिदिए । चार दिनपछि पुनः क्याम्पस प्रमुख तथा स्ववियु सदस्य गुरुङलाई पक्राउ गरियो । फेरि पनि साथीलाई छुटाउन जाँदा मलाई प्रहरीले गिरफ्तार ग¥यो । केही दिन हिरासतमा राखेपछि गुरुङसहित पोखरा जेलमा लग्यो । शान्तिसुरक्षा ऐनको धाराअन्तर्गत मुद्दा लगाएर चार वर्ष जेलमा राखियो ।

ओलीसँग ६ महिना जेल बसेँ
म र गुरुङलाई लगेकै जेलमा तत्कालीन नेकपा एमालेका नेता केपी शर्मा ओलीलाई राखिएको थियो । त्यसताका जेलमा अधिकांश कांग्रेसका नेता थिए । पोखरा जेलमा केपी ओलीले हामीलाई स्वागत गर्नुभयो । कांग्रेसका नेताहरूबाट केपी ओली हेपाइ(डोमिनेसन)मा थिए । कांग्रेसका राजबन्दीले उहाँलाई हेप्ने किसिमका व्यवहार गर्थे । कांग्रेसका नेताहरूबीच कुरा हुन्थ्यो । उनीहरूलाई भेट्न अनेक मानिस आउँथे । तर, केपीसँग मिल्ने, गफ गर्ने र भेट्ने कमै हुन्थे, जसले उनलाई न्यास्रो पनि लागेको हुनुपर्छ । मलगायका नेताको पोखरा जेल आगमनले केपीलाई पनि जेलमा साथीभाइ मिल्यो ।

केपी १२ वर्षअघिदेखि जेलमा थिए । हामी भर्खर जेल परेका थियौँ । विद्यार्थी नेता जेल परेको भन्दै आफन्त र साथी भेट्न आउँथे । जेल परेको लामो समय र केपीको जिल्ला नभएकाले केपीलाई भेट्न जाने मानिस कम हुन्थे । अनेरास्ववियुका विद्यार्थीको आगमनपछि ओलीलाई न्यास्रो केही कम भएजस्तो लाग्यो । झापा विद्रोहपछि पक्राउ परेका केपी ओलीलाई पञ्चायती सरकारले गोलघरमा राख्ने, चरम यातना दिने गरेको थियो । यसले गर्दा ओली दुब्लो पातलो र अत्यन्तै कमजोर थिए । बाहिर रोग नदेखिए पनि कमजोर थिए । खाना कम खान्थे । अध्ययन गरिरहन्थे । राति सुत्दा उनको खुट्टै तात्दैनथ्यो, चीसो भइरहन्थ्यो ।

सामन्तवादको अन्त्यका लागि आफूहरूले झापा आन्दोलन गरेको, तर केही व्यक्ति मारिएकोमा दुःख लागेको केपी बताउँथे । विचार, संगठनले वैध तरिकाले आन्दोलन गर्न पाएसम्म हतियार उठाउनु हुँदैन भन्ने उनको बुझाइ थियो । जेलमा बस्दा ओली हरेक कुरामा उत्कृष्ट थिए । चेस खेलमा कसैले जित्न सक्दैनथ्यो । क्यारेम्बोर्डमा मलाई देब्रे हातले नै हराउँथे । रमाइलो गर्थे । स्नातक पढ्ने विद्यार्थीलाई जेलभित्रै अंग्रेजी पठाउँथे । नेकपा मसालका नेता वाचस्पति देवकोटाबीच निकै ठूलो बहस हुने गथ्र्यो । ओलीसँगको त्यही तार्किक बहसकै कारण जेलबाट छुटेपछि प्रखर नेता देवकोटा एमालेमा आउने वातावरण बनेको थियो ।
त्यसताका मेरो लक्ष्य जेलबाट बाहिर निस्कने र शासकलाई फाल्ने थियो । तर, केपी ओलीको प्रधानमन्त्रीत्वकालमा आफू राष्ट्रिय सभाको अध्यक्ष वा यस्तै कुनै महŒवपूर्ण नेतृत्व पाउँला भन्ने सोच र चाहना थिएन ।

जेलमा पाएको दुःख
जेलभित्र मिलेर, रमाएर बसेको पञ्चायत शासकले देखिसहेनन् । र, हामीलाई छिन्नभिन्न बनाए । साउनदेखि पुससम्म पोखरा जेलमा राखेपछि मलाई तौलिहवा जेलमा पठाइयो । त्यहाँ पुसमा मौरीको गोलोजस्तो लामखुट्टे आउने रहेछ । भोलिपल्टदेखि झुल टाँगेर सुत्न थालेँ । गर्मी महिनामा खडेरीले मर्ने भएकाले लामखुट्टे लागेन । तर, गर्मीका कारण पसिनाले भिज्ने भएकाले एउटा तन्ना मात्रै ओच्छ्याएर सुत्नुपर्ने अवस्था बन्यो । राजबन्दीमा करिब एक वर्ष तौलिहवामा राखिएँ । त्यसताका प्रवीणता पत्रमाणपत्र तहको परीक्षा परेकाले मलाई भैरहवा जेलमा लगियो । तर, त्यहाँको बेथिति देखेपछि त्यसको समाधानका लागि म अनशन बसेँ । अनशन बसेपछि परीक्षा नै दिन नपाई फेरि तौलिहवा फर्काइयो । त्यसपछि नख्खु, भद्रगोल, सेन्टरजेल हुँदै वीरगन्ज जेलमा समेत पु¥याइयो ।
मलाई खगराज अधिकारीसहित वीरगन्ज जेलमा पु¥याइएको थियो । त्यस जेलमा सलिम मियाँ अन्सारी (हाल दिवंगत) पनि थिए । ग्यास्ट्रिकका बिरामी अन्सारी एक दिन औषधि खाएपछि बेहोस भए । जेल प्रशासनले अस्पताल लान मानेन । मलगायतले नाराबाजी गरेपछि बल्ल मेरै रोहबरमा अस्पताल लगियो । तर, अन्सारीको हातमा लगाइएको हतकडी प्रहरीले खोल्न मानेन । अन्सारी राजबन्दी नभएको (ख) श्रेणीको सिधा खाने) भन्दै उनको हातको हतकडी प्रहरीले खोल्न मानेको थिएन । अस्पतालमा चिकित्सकले हतकडी नखोली उपचार नगर्ने बताएछि बल्ल हतकडी खोलियो ।

दासढुंगा दुर्घटना दुःखद
राजनीतिमा लाग्दा विभिन्न किसिमका खुसी पाएँ । ०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि म नै सबैभन्दा बढी खुसी भएँ । गणतन्त्र आएपछि अझ अर्को किसिमको खुसी थपियो । राजनीतिमा सक्रिय हुने क्रममा जेल पर्नु स्वाभाविक नै भएकाले त्यो खासै दुःखको कुरा लागेन । तर, दासढुंगामा गाडी दुर्घटनामा परी एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको निधनले ठूलै पीडा दियोे । अरू नेताको पनि निधन भएको छ, दुःख त लाग्छ नै । तर, जतिवेला देशले आवश्यक ठानेको र जुन उचाइको नेताहरू मदन र आश्रित थिए, त्यस बखतमा त्यसरी उहाँहरूको दुर्घटनामा परी अप्रत्याशित निधन भएकाले निकै दुःख लाग्यो ।

पारिवारिक साथ
मेरा मामाहरू बामपन्थी आन्दोलनमा थिए । त्यसले गर्दा उहाँहरूको तर्फबाट कम्युनिस्ट आन्दोलनमा लाग्न मलाई राम्रै सहयोग मिल्यो । राजनीति वा कम्युनिष्ट सिद्धान्त नबुझे पनि दिनहीनलाई सहयोग गर्ने स्वभाव आमाको थियो । समाजमा थिचोमिचो, हेलाहोचो र विभेद हुनुहुन्न भन्ने आमाको सोचका कारण दमनकारी पञ्चायती व्यवस्थाविरुद्ध लाग्न आमाका तर्फबाट मलाई सहानुभूति नै मिलेको थियो । तर, पुरोहित पेसामा रहेका पिताले भने राजनीतिमा लागेको मन पराउनु हुँदैनथ्यो । बरु आफूजस्तै पुरोहित बनिदिए हुन्थ्यो भन्ने बुबाको चाहना थियो । खर्च माग्दा पनि भाषण गरेर पैसा आइहाल्छ भन्ने जस्ता जवाफ दिनुहुन्थ्यो । पढ्नुपर्छ भन्ने प्रेरणा दिइरहनुहुन्थ्यो । पोखरा जेल परेको तीन महिनापछि बुबा मलाई भेट्न आउनुभयो । बदमासी गरेर जेल नपरेको भन्दै उद्देश्य पूरा नहुन्जेल नडराइ जेलमा बस्न आग्रह गर्नुभयो । घरमा हुँदा बुझाउन नसकेको कुरा जेलमा परेपछि बुबाले बुझेको र उहाँमा एक सय ८० डिग्रीको परिवर्तन आएको देखेपछि मलाई असाध्यै खुसी लाग्यो ।

196 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank