हार्दिक पान्ड्याको ९१ रन गयो खेर, कोलकाता विजयी

सोमवार, बैशाख १६, २०७६



एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) को ४७ औं खेलमा  कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ३४ रनले हराएको  छ ।

आइतबार राती इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा मुम्बईलाई ३४ रनले पराजित गर्दै कोलकताले प्ले अफको संभावना कायम राखेको छ । २ सय ३३ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन बनाउन सक्यो ।

मुम्बईका लागि हार्दिक पान्ड्याले विश्फोटक ब्याटिङ गर्दै ९१ रन बटुले पनि टोलीको हार टार्न सकेनन् । १८ ओभरको अन्तिम बलमा हेरी गुर्नीले आन्द्रे रसेलबाट क्याच गराउनु अघि उनले ३४ बलमा ६ चौका र ९ छक्का प्रहार गर्दै ९१ रन बनाए पनि एक्लो प्रयास टोलीको जितको लागि प्राप्त रहेन ।

त्यस्तै कुनाल पान्ड्या २४, काइरन पोलार्ड २०, सुर्य कुमार यादव २६, इभिन लुईस १५ र कप्तान रोहित शर्मा १२ रनमा आउट भए । कोलकताका आन्द्रे रसेल, हेरी गुर्नी र आन्द्रे रसेलले समान २ विकेट लिए ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै २ सय ३२ रन बनायो । कोलकतालाई विशाल योगफल बनाउन आन्द्रे रसेलले विश्फोटक ब्याटिङ गर्दै मैदानमा चौका र छक्काको वर्षा गराए । रसेलले ४० बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै ८० रनमा अविजित रहे ।

कोलकाताका लागि युवा खेलाडी सुभमन गिलले पनि उत्कृष्ट अर्ध शतक प्रहार गरे । १६ ओभरको दोस्रो बलमा हार्दिक पान्ड्याले इभिन लुईसबाट क्याच गराउनु अघि गिलले ४५ बलमा ४ छक्का र ६ चौका सहित ७६ रनको महत्वपूर्ण योगदान दिए ।

त्यस्तै क्रिस लिनले मात्र २९ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५४ रनमा क्याच आउट भए । गिल र लिनले ९.३ ओभरमा पहिलो विकेटका लागि ९६ रनको साझेदारी गर्दै कोलकतालाई विशाल लक्ष्य तर्फ लम्काएका थिए । यी दुई बीचको साझेदारी राहुल चाहरले लुईसबाट लिनलाई क्याच गराउदै तोडेका थिए । त्यस्तै कप्तान दिनेश कार्तिक १५ रनमा अविजित रहे । मुम्बईका राहुल चाहर र हार्दिक पान्ड्याले समान १ विकेट लिए ।

यो जितसँगै कोलकाता १२ खेलमा ५ मा जित र ७ मा हारका साथ अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ भने मुम्बई १२ खेलमा ७ मा जित र ५ मा हारसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank