बाँझो जमिन खोसिने, किनबेचमा रोक्का गरिँदै

सोमवार, चैत्र १९, २०७४

- भगवान खड्का



काठमाडौं । तपार्इँले आफ्नो जमिन खेती नगरेर बाँझो राख्नु भएको छ ? छ भने कि तपाईले तत्काल कुनै खेती गर्नुपर्नेछ नभए त्यो जमिन तपाईबाट खोसिनेछ । सरकारले जमिन बाँझो राख्ने किसानबाट खोसेर उपयोग गर्ने भएको छ । कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयले बाँझो जमिन खेती गर्न किसानलाई सहुलियत दिने र त्यसो गर्दा पनि उपयोग नभए जमिन खोस्ने नीति ल्याउँदैछ ।

बाँझो जमिनलाई उपयोग गर्न भूमि बैंक स्थापना पनि गर्ने भएको छ । मन्त्री चक्रपाणी खनालले खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि नयाँ नीति ल्याउन लागेको जानकारी दिए । उनले कृषि उत्पादनमा वृद्धि ल्याउन भूमि नीति र भूउपयोग नीति ल्याउन लागेको नेपालपाटीलाई जानकारी दिए ।

‘अब सबै खेतीयोग्य जमिनमा चक्लाबन्दीको कार्य अगाडि नबढाइए कृषि उत्पादनमा वृद्धि आउन नसक्ने देखियो’ मन्त्री खनालले भने, ‘बाँझो जमिनलाई उपायोग गर्न र खेतीमा आधुनिकरण ल्याउन के गर्न सकिन्छ भन्नेमा गृहकार्य सुरु भएको छ ।’ जमिन बाँझो राख्ने उपर निगरानी गरी बाँझो जमिनलाई स्थानीय तहको अधिनमा राखिनेछ ।

बाँझो राख्ने प्रवृत्ति निरुत्साहित गर्न स्थानीय सरकारले नियन्त्रणमा लिएर खेती गर्ने अवस्था सिर्जना गर्न नयाँ नीति ल्याउन लागेको हो । सुरुमा स्थानिय तहबाटै हरेक नागरिकलाई पत्र पठाइनेछ । पत्र पठाउँदा पनि वेवास्ता गरिएमा सरकारले नै बोलपत्र आव्हान गरी जमिन नियन्त्रणमा लिएर खेती गर्नेछ । देशभर ३ अर्ब कित्ता जग्गा जमिन रहेको र ती मध्ये अधिकांश जग्गा कृषियोग्य रहेको सरकारी अनुमान छ ।

अबदेखि टुक्राएर किनबेच गर्न प्रतिबन्ध

कृषियोग्य भनेर सरकारले तोकेको जमिनलाई अबदेखि टुक्राएर अन्य प्रयोजनका लागि किनबेच गर्न नपाउने गरि देशभर प्रतिबन्ध लगाउने पनि तयारी गरेको छ । मन्त्रालयले देशभर कृषियोग्य भनेर तोकिएको जग्गा जमिनलाई अबदेखि टुक्राएर अन्य प्रयोजनका लागि किनबेच गर्ने कार्यमा प्रतिबन्ध लगाउने गरि गृहकार्य अगाडी बढाएको छ ।

जथाभावी ‘प्लटिङ्’ गरेर घर निर्माणको क्रम नियन्त्रण गर्न त्यस्तो नियम ल्याउन लागेको मन्त्रालयले जनाएको छ । यसअघि नै जग्गा किनेको भएपनि यदि राम्ररी कित्ताकाट पनि नगरेको, बाटो नखोलेको, खुल्ला क्षेत्र नछुट्याएको भए त्यो जग्गा रोक्का गरिनेछ । भूमि सम्बन्धी ऐनमा भएको व्यवस्थालाई कडाईका साथ लागु गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

देशभरका जग्गाहरुलाई अब विभिन्न १६ प्रकारमा वर्गीकरण गरिनेछ । कृृर्षियोग्य जमिन, औद्योगिक क्षेत्र, बसोबास क्षेत्र, जंगल क्षेत्र, सिमसार क्षेत्र जस्ता गरी १६ किसिमको जमिनको वर्गीकरण गरिएको छ । मन्त्रालयले कृषियोग्य जमिनमाथि हुन सक्ने आक्रमणलाई रोक्न स्थानिय तहको समन्वयमा देशभरी नै नियमित अनुगमनको व्यवस्था गरिने पनि जनाएको छ ।

किसानलाई पेन्सन विउँतिने

किसानलाई पेन्सन दिने यसअघिको कार्यक्रम फेरि विउँतिने भएको छ । कृषि मन्त्री हरीबोल गजुरेलले ल्याएको कार्यक्रम वर्तमान मन्त्रीले फेरि अगाडी बढाउन लागेका हुन् । किसानले आफ्नो उत्पादनको आधारमा सरकारी कोषमा निश्चित रकम तिर्नुपर्छ । सोही आधारमा उसले पेन्सन पाउने छ ।

372 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank