खलिल जिब्रानका तीन लघुकथा

शनिबार, चैत्र ३०, २०७५



बहुप्रतिभाशाली व्यक्तित्व खलिल जिब्रान दार्शनिक, चित्रकार, कवि तथा लेखकको रुपमा सुपरिचित छन् । सन् १८८३, जनवरी ६  मा लेवनानमा जन्मिएका जिब्रान अंग्रेजी र अरबी दुवै भाषामा कलम चलाउथे । सन् १९२३ मा प्रकाशित पुस्तक ‘द प्रोफोट’ ले उनलाई सफलताको स्वाद दिलायो । सो पुस्तक हालसम्म ४० भन्दा ज्यादा भाषामा अनुवादित छ ।

४८ वर्षको उमेरमा क्षयरोगको कारण सन् १९३१, अप्रिल १० मा उनको मृत्यु भएको थियो ।

प्रस्तुत: छ उनको तीन लघु कथा:-


आलोचना – खलिल जिब्रान 

एक रात समुद्रीयात्रामा निक्लेको एक घोडसवार सडक किनारको एक विश्रामगृहमा पुग्यो। उ घोडाबाट ओर्लियो र अरू सबै यात्रुहरू जस्तै मानिसहरू तथा रात प्रति निश्चिन्त हुँदै घोडा विश्रामगृहको द्वार नजिकैको एउटा रूखमा बाँध्यो र विश्रामगृहभित्र पस्यो।

बिहान यात्रु बिउँझेपछि आफ्नो घोडा चोरीएको थाहा पायो। उसलाई आफ्नो घोडा हराएकोमा र चोरीको विचार कुनै मानिसको मनमा आएकोमा दुःख लाग्यो।

त्यसपछि त्यस विश्रामगृहमा बस्ने उसका सहयात्रीहरू उसको नजिक आए र कुरा गर्न थाले।

पहिलो व्यक्तिले भन्यो, “कति बेवकुफ तपाईँ त, घोडालाई तबेलाबाहिर बाँध्नु हुन्छ त?”

अनि दोश्रोले भन्यो, “अझ घोडाको खुट्टा नबाँधी छोड्ने।”

अनि तेश्रोले भन्यो, “पाटे अल्छी र सुस्तहरूले मात्र घोडा राख्छन्।”

यो सबै सुनेपछि त्यो यात्रुलाई आश्चर्य लाग्यो। उसले मुख फोऱ्यो, “मित्रवर, मेरो घोडा चोरी भएको छ त्यसैले तपाईँहरू सबै यहाँ जम्मा भएर मेरै दोष तथा कमजोरीहरू देखाउन हतार गरिरहनु भएको छ। आश्चर्य, यहाँहरूबाट एकै शब्दको गुनासो पनि त्यो चोरको बारेमा निस्केको छैन जसले मेरो घोडा चोऱ्यो।”

खलिल जिब्रानको लघुकथा ‘Critics’ को नेपाली अनुवाद


खोजी – खलिल जिब्रान

एक हजार वर्ष पहिले दुई दार्शनिकहरू लेबनानको एक पर्वतमा भेट भएछ

अनि एक दार्शनिकले अर्कोलाई सोध्यो – “कहाँ जाँदै हुनुहुन्छ?”

अनि अर्को दार्शनिकले उत्तर दियो – “म यौवनको झरनाको खोजीमा हिँडीरहेछु जुन मलाइ थाहा छ – यीनै पर्वत, पखेरोहरूमा कतै हुनु पर्छ। मैले पढेको छु कि त्यो झरना सूर्यको दिशातिर बगिरहेको हुनेछ। अनि तपाईँ के खोज्दै हुनुहुन्छ?”

पहिलो दार्शनिकले उत्तर दियो – “म मृत्युको रहस्यको खोजीमा हिँडीरहेछु।”

अनि ती दुवै दार्शनिकलाई लाग्यो कि अर्को चाहिँ ज्ञानमा त्यति पोख्त छैन, अनि उनीहरू एक अर्कासँग वाद-विवाद, घोच-पेच गर्न थाले र अर्कोलाई आध्यात्मिकतामा अन्धो भएको दोषारोपण गर्न थाले।

त्यति बेला जब ती दुवै दार्शनिकहरू एक-अर्कासँग चर्को रूपमा विवाद गर्दै थिए, एक अपरिचित, जसलाई मानिसहरू मूर्ख मान्ने गर्थे, नजिकै आयो र उनीहरूको चर्का-चर्की ध्यान दिएर सुन्न थाल्यो।

त्यसपछि ऊ ती दुवै दार्शनिकहरू भए छेउ आयो र भन्यो – “महाशय, मलाई यस्तो लाग्दैछ कि यहाँहरू दुवै दर्शनशास्त्रको एकै भागको बारेमा कुरा गरिरहनुभएको छ, तर फरक शब्दहरूमा त्यहि कुराहरू अर्कोलाई मनाउन खोज्दै हुनुहुन्छ। तपाईँहरू एकजना यौवनको झरना खोज्दै हुनुहुन्छ भने अर्को मृत्युको रहस्य जान्न चाहनुहुन्छ। तर दुवै एकै कुरा त हो, अनि ती दुवैको वासस्थान तपाईँहरूमै छ।”

अनि त्यो अपरिचित फर्कँदै भन्न थाल्यो – “अलविदा सन्तहरू।” अनि जब ऊ फर्कँदै थियो ऊ सन्तुष्ट मुद्रामा हाँस्दै थियो।

अनि ती दुई दार्शनिकहरूले एकअर्कालाई केहिबेर मौनतापुर्वक नियाले, अनि उनिहरू पनि हाँस्न थाले। अनि एउटाले अर्कोसँग भन्यो – “हिँडनुस, सँगै खोज्न जाउँ।”

खलिल जिब्रानको लघुकथा ‘The Quest’ को नेपाली अनुवाद


उचाइ – खलिल जिब्रान 

चार कविहरू एउटा टेबलमा राखिएको सोमरसको वरिपरि उभीइरहेका थिए।

पहिलो कविले भन्यो – “मेरो तेश्रो आँखाबाट मैले देखिरहेछु यस मदिराको मधुर बासना यहाँ वरपर यसरी घुमिरहेछ मानौँ चराको एक हुल कुनै तिलस्मी जङ्गलमाथि बादलसरी विचरण गरिरहेछ।”

दोश्रो कविले मुख खोल्यो – “मेरो भित्री श्रवण शक्तिबाट मैले गोधुली साँझमा सुनिने चराहरूको मधुर चिरबिर सुनिरहेछु। त्यस सङ्गीतको माधुर्यले मेरो हृदय यसरी कैद गरेको छ जसरी कमलको पत्रभित्र मौरी कैद हुन्छ।”

तेश्रो कविले आफ्ना आँखा बन्द गरेर आफ्ना दुबै हात माथि फैलाउँदै भन्यो – “म तिनीहरूलाइ आफ्ना यी हातहरूले स्पर्श गरिरहेछु। म ती पँखेटाहरू अनुभव गरिरहेछु मानौँ सुतिरहेकी परीहरूको मन्द श्वास मेरा औँलाहरूलाइ स्पर्श गरिरहेछन।”

चौथो कवि नजिकै गयो र कप आफ्नो हातमा लिँदै भन्यो – “दुःखको कुरा मित्रवर! म यहाँहरूले भन्नुभए जस्तो दृष्टि, स्पर्श र श्रवणमा निकै कमजोर छु। म न त यस मदिराको बासना देख्न सक्छु, न यसको मधुर सङ्गीत सुन्न सक्छु, न यसका पँखेटाहरूको स्पर्श गर्न सक्छु। म त यहाँ मात्र मदिरा देख्छु जसलाइ म पिउन चाहन्छु ता कि म मा पनि यहाँहरू जस्तै इन्द्रीय ज्ञानको अङ्कुर फुटोस र यहाँहरूको उचाईमा पुग्न सकुँ।”

अनि उसले त्यो कप उठायो र अन्तिम थोपासमेत नराखेर घट-घट पियो।

ती तीन कविहरू, आश्चर्यचकित हुँदै उसलाई हेरेको हेऱ्यै भए, अनि उनीहरूको आँखामा अतृप्त साथै नरमाइलो किसिमको घृणाको भाव प्रष्ट देख्न सकिन्थ्यो।

खलिल जिब्रानको लघुकथा ‘Poets’ को नेपाली अनुवाद


अनुवादकर्ताः एकदेव अधिकारी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata