पूर्वराजदूत झाको हत्या अझै रहस्यमा

मङ्लबार, बैशाख ३१, २०७६



पूर्वराजदूत केशवराज झाको हत्या भएको नौ महिना भइसकेको छ  । तर उनको हत्या कसले गर्यो  भन्ने रहस्य खुलेको छैन । धारिलो हतियार प्रहार गरी हत्या गरिएका झाको शव उनी सुत्ने पलङ्मा फेला परेको थियो । झा हत्याको अनुसन्धानमा अहिले पनि महानगरीय प्रहरी अपराध महाशाखा खटिएको छ।

प्रहरीले झाको सुरक्षा गार्ड र मालीलाई पक्राउ गरी अनुसन्धान गरे पनि ‘सुराक’ फेला पारेको छैन । बबरमहलस्थित घरमा झा दम्पती बस्थे । छोरा–बुहारी आयरल्याण्डमा बस्छन् ।

प्रहरीले कामदार र सुरक्षा गार्डमाथि पोलीग्राफ परीक्षण गरे पनि मेल खाएन । झाको मोबाइलको कल डिटेल हेर्दा उनलाई ‘अननोन’ नम्बरबाट फोन आएको पनि देखिएन । परिवार भित्रै पनि प्रहरीले अनुसन्धान गरेको थियो      । तर पनि हत्याको कुनै आधार फेला परेन ।

झालाई फोनमा धम्की आएको परिवारले थाहा नपाए पनि उनी ‘सुरक्षा थ्रेटमा’ रहको तथ्य प्रहरीले फेला पारेको छ ।

झा हत्याको तीन दिनपछि ओच्छ्यानमा सिक्सर पेस्तोल फेला परेको थियो । परिवारले ओच्छ्यानमा भेटिएको पेस्तोल राजदूत हुँदा उनलाई उपहार आएको जानकारी गराएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले झा हत्याको गम्भीर ढंगले अनुसन्धान भइरहेको बताए  । उनले विभिन्न कोणबाट अनुसन्धान गर्न महाशाखाबाट फरफरक टोली परिचालन गरिएको जानकारी दिए ।

महाशाखाले एक हजार पाँच सय भन्दा बढी व्यक्तिको कल डिटेल हेरेर विश्लेषण समेत गरे पनि कुनै ‘नेक्सस’ फेला पार्न सकेन । थापाले भने, ‘झाको जस्ले हत्या गर्यो, उसले कुनै सुराक छाडेको छैन।

यो ‘प्रोफेसनल किलिङ’ हो । हामी अनुसन्धानमै छौं ।’ परिवारले झाको हत्यारा पत्ता लगाइदिन महानगरीय प्रहरी वृत्त सिंहदरबारमा उजुरी हालेका थिए । उजुरीमा कसैमाथि किटानी दिइएको छैन । गत वर्षको भदौमा झाको हत्या भएको थियो ।

यो समाचार आजको अन्नुपूर्ण पोस्टमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata