केजरीवालको भाग्य इविएममा कैद, मंगलवार खोलिने

दिल्ली विधानसभा निर्वाचन

आइतवार, माघ २६, २०७६



एजेन्सी । गत शनिबार सम्पन्न दिल्ली विधानसभा निर्वाचनपछि भारतको राजधानी दिल्लीमा कसले शासन गर्ला भन्ने चर्चा भारतीय राजनीतिमा गर्माएकाे छ ।

सन २०१४ को दिल्ली विधानसभा निर्वाचन मार्फत अकस्मात उदाएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको आम आदमी पार्टी र सत्तारुढ दल विजेपीको बीच प्रतिस्पर्धा हुने मानिएको यस निर्वाचनमा सम्पूर्ण एक्जीटपोल रिपोर्टले केजरीवाललाई फेरी दिल्लीको सिहासन मिल्ने अनुमान लगाएका छन ।

कुल ७० सिटको निम्ति ६७२ जना उम्मेदवारले आफ्नो भाग्य जाँच्न मैदानमा ओर्लिएका छन । सन २०१४ को विधानसभा निर्वाचनमा आम आदमी पार्टीले ७० सीट मध्य ६७ सीट जितेर तहल्का मच्चाएसँगै दोस्रो पटक मुख्यमन्त्री चुनिएका केजरीवालले दिल्लीवासीलाई विजुली र पानी सित्तैमा दिएको कारण यस निर्वाचनमा आम मतदाता उनी प्रति आकर्षित  भएको एक्जिट पोलले बताएको छ ।

 इबीएम भित्र कैद भएको केजरीवालको भाग्य आगामी मंगलबार खोलिने निर्वाचन आयोगले जनाएको छ ।  सन १९९८ देखि २०१३ सम्म् लगातार १५ वर्ष दिल्लीको सत्तामा कांग्रेस रहे पनि २०१४ को निर्वाचनमा उसले खाता समेत खोल्न सकेको थिएन ।

सन २०१३ को दिल्ली विधानसभा निर्वाचनमा पहिलो पटक आम आदमी पार्टीले २८ सीट ,विजेपीे ३२ सीट र कांग्रेसले ८ जित्दा केजरीवाल कांग्रेसको समर्थनमा पहिलाे पटक मुख्यमन्त्री बन्न सफल भएका थिए । अत्यन्त छोटो समयमा उनले सत्ताबाट राजीनामा दिएसँगै एक वर्षपछि भएकाे निर्वाचनमा उनले अप्रत्यासीत जीत हात पारेका थिए । यस निर्वाचनसँगै केजरीवाल तेस्रो पटक प्रचण्ड बहुमत सहित मुख्यमन्त्री बन्ने आंकलन तमाम एकजीट पोलहरुले गरिरहेका छन ।

यद्पी विजेपी सांसद एवम विजेपी दिल्ली अध्यक्ष मनोज तिवारीले ४८ सिट सहित दिल्लीमा विजेपीले जित हासिल गर्ने दाबी गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments