कसले जित्ला काठमाडौं महानगरमा ?

शनिबार, बैशाख ३०, २०७४



नेता वा कार्यकर्ताले मतदातासामु जित्ने दाबी गर्नु एउटा कुरा, खासमा काठमाडौं महानगरमा कसले जित्छ भन्नेमा अन्योल छ ।

सामान्यतया पार्टी नेटवर्कको रिपोर्टिङका आधारमा नेतृत्वले चुनाव नजिकिएपछि जित्ने-हार्ने अनुमान गरेको हुन्छ । यसपालि नेतृत्वले पनि महानगरको सम्भावित परिणाम आकलन गर्न सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवालाई बिहीबार भेटेका एक कांग्रेसी नेताका अनुसार देउवा पनि महानगरको परिणामबारे अन्योलमा थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

महानगरका २ लाख ८४ हजार मतदातामा १ लाख ५० हजारभन्दा बढी मतदान हुने अनुमान गर्न सकिन्छ । यसअघिको चुनाव (दोस्रो संविधानसभा) मा महानगरको क्षेत्र छुने काठमाडौंका नौमध्ये ७ कांग्रेसले जितेको थियो । एमाले नेता माधवकुमार नेपालले छाडेपछि भएको उपचुनावमा कांग्रेस नै सफल भयो ।

साढे ३ वर्षअघि कांग्रेसको किल्ला स्थापित भएको महानगरमा कांग्रेस नै ढुक्क नभएपछि अरू झनै छैनन् । एमालेले त ढुक्क हुन नसकेकै कारण राप्रपासग तालमेल गरेको छ । कांग्रेस र एमाले नै बलिया दाबेदार ठानिएका छन् । २०४९ सालको स्थानीय चुनाव कांग्रेसले जितेको थियो भने २०५४ मा एमाले ।

‘पूर्वानुमान गर्न यति गाह्रो यसअघिका चुनावमा भएको थिएन’, महानगरकै मतदाता रहेका मानवशास्त्री सुरेश ढकाल टिप्पणी गर्छन्, ‘उम्मेदवारी दर्ता हुदासम्म हुन्छ कि हुन्न भन्ने अन्योलबीच हुन लागेको चुनावको पूर्वानुमान अन्योलपूर्ण छ ।’ वैकल्पिक राजनीति भनेर गठन भएका विवेकशील, नया शक्ति र साझा पार्टीको सम्भावित अवस्था कसैले अनुमान गर्न सकेको छैन । तालमेल गरेको एमाले-राप्रपा कति बलियो भयो, आकलन गर्न सकिने अवस्था छैन । काठमाडौंमा जितका प्रमुख दाबेदार ठानिएका कांग्रेस र एमालेले लहर सिर्जना गर्न नसकेका कारण अन्योल देखिएको हो ।

वैकल्पिक राजनीतिको दाबी गर्ने विवेकशील नेपाली र साझा पार्टीले समयमै उम्मेदवार घोषणा गरी सामाजिक सञ्जालमा तरंग ल्याए पनि त्यहाँ देखिएको लहर केकति मात्रामा भोटमा परिणत हुने हो, कसैले अनुमान गर्नसक्ने अवस्था छैन । सामाजिक सञ्जालमा विवेकशील र साझाको उपस्थिति तिनले पाएको ‘रेस्पन्स’ जबर्जस्त छ तर तीमध्ये कति महानगरका मतदाता हुन्, अनुमान गर्न सकिन्न । ‘टोलतिर मतदाताको कुरा सुन्दा ती सामाजिक सञ्जालबाट कत्ति पनि प्रभावित नभएको पाउँछु’, उनी थप्छन् ।

ठूला पार्टीप्रति महानगरको मतदातामा असन्तुष्टि मात्र हैन निराशा त छ नै, तिनले यसपालि मतदातामाझ चिनिएका उम्मेदवार पनि दिएनन् । राजनीतिमा रुचि राख्ने एकदम सचेत मतदाताले समेत ती को हुन् भन्नुपर्ने राजुराज जोशी र विद्यासुन्दर शाक्यलाई कांग्रेस र एमालेले उम्मेदवार बनाए ।

यसअघि (२०५४ साल) कांग्रेस र एमालेका उम्मेदवार मनमोहन भट्टराई र केशव स्थापित देशैभरि चिनिइसकेका थिए । भट्टराई प्रखर वक्ताका रूपमा चर्चित थिए । जोशी निकैअघि पार्टीको जिल्ला सभापति भइसके पनि लामो अवधि कांग्रेसमै हराएका थिए ।

दुईचोटि वडाध्यक्ष भएका शाक्य पनि आममतदातासामु चिनिएका होइनन् । फेरि तिनले यसपालि उम्मेदवारी दर्ता गर्ने समय सिद्धिने बेलातिर उम्मेदवार घोषणा गर्न सके । उम्मेदवारका लागि सक्रिय प्रचारका लागि ९ दिनको मात्र समय रह्यो । यसले पनि तिनका पक्षमा लहर ल्याउनै सकेन ।

ढकालका अनुसार पहिला राजनीतिक आस्थाको सामाजीकरण हुन्थ्यो । मतदाताले राजनीतिका आधारमा मत बनाउँथे, मतदाता खुल्थे । अहिले राजनीतिक आस्थाको क्षयीकरण भएको छ । ‘राजनीतिक दलको नैतिक धरातल भासिएको छ’, उनी थप्छन्, ‘मतदाता खुल्न नचाहेको/अनिर्णीत भएकाले अन्योल कायम छ ।’ राजनीतिक कारणका लागि भोट मागिन्थ्यो ।

अहिले सिद्धान्तमा भोट माग्ने आधार केही छैन । ‘दलहरू सिद्धान्तबाट विमुख भइसकेपछि भोट माग्ने आधार नहुने रहेछ’, उनी थप्छन्, ‘यसैले हिलो/धुलो नियन्त्रणजस्ता सतही कुरा हाइलाइटेड छन् ।’ अक्षमता लुकाउन सतही र सस्ता सपना बाँड्ने काम भएको छ । सशस्त्र विद्रोहमार्फत मुलुकमा उथलपुथल ल्याएको पार्टी एउटा कुशल व्यवस्थापकले आयातसमेत बढाएर व्यवस्थापन गरेको बिजुलीको सहज आपूर्तिलाई मुख्य उपलब्धि देखाएर भोट माग्नुपर्ने अवस्थामा छ ।

केही वर्षयता परम्परागत पाराभन्दा फरक हिसाबले चल्ने दाबीका साथ मुलुकमा वैकल्पिक राजनीति बहसमा छ । यस्तै राजनीतिको वकालत गर्दै विवेकशील नेपाली र साझा पार्टीले महानगरमा उम्मेदवारी दिएका छन् तर तिनले जनताको कति विश्वास जिते भन्ने थाहा पाउन मतपेटिका खुल्नैपर्ने अवस्था छ ।

सामाजिक सञ्जालमा जबर्जस्त देखिएको लोकप्रियताले कति भोट आउँछ भन्ने आफैंमा अन्योलको विषय छ । तिनले जित्छन् कि उल्लेख्य भोट पाउँछन् वा न्यून भोट पाउँछन् भन्ने निश्चित छैन । तिनले सम्मानजक भोट पाए कांग्रेस वा एमालेमध्ये कसलाई बढी असर पर्छ, केही अनुमान गर्न सकिने अवस्था छैन । १८-२५ उमेरसमूहका मतदाताको उल्लेख्य उपस्थिति छ । तिनको पुराना पार्टीमा विश्वास नरहेको अनुमान गरिन्छ ।

महानगरमा पनि परम्परागत भोटरकै बाहुल्य रहेको बताउने ढकाल यसपालि वैकल्पिक भनिएका पार्टीहरूले त्यसलाई चिर्न नसक्ने देखिँदै गएको सनाउँछन् । समाजमा अहिले पनि भोट दिँदै आएको पार्टीलाई रोज्नेको बाहुल्य छ । अन्यत्र पनि हुन्छ । असहमति, उम्मेदवार आदिको कारण पार्टी फेरेर भोट हाल्ने (स्विङ भोटर) कम हुन्छन् ।

चुनावमा समाजका सम्बन्ध (नाता, चिनजान) आदिको नेटवर्कको कारण भोट झर्छ । तर विवेकशील र साझाले वडा तहसम्म उम्मेदवारी दिएका छैनन् । सबै पदमा उम्मेदवारी दिँदा उम्मेदवारको नेटवर्कले पनि मेयर/उपमेयरको भोट बढाउँछ । विवेकशील र साझाको हैसियत स्वतन्त्र उम्मेदवारको भएकाले चुनावचिह्नको लाभ पनि तिनले पाउने छैनन् ।

4456 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank