मेरो लोग्नेको दोस्रो बिहे

कथा

शनिबार, भदौ २४, २०७४

loading...

- ऋषिकेश भट्टराई



मंसिर–पुषको जाडो । बिहानको आठ बजिसकेको रहेछ । चिसो कोठाबाट बाहिर जाँदा अर्कै मज्जा अलिअलि घाम लागे पनि जिउ त्यत्ति खुलेको छैन । त्यसमाथि आज शनिबार । कार्यालय जान नपर्ने हो । आ– के हतार–हतार दौडेकी ए रूपा,–पसलेकी छोरीले भनी । आफू चाहिँं जाडो भए’नि रायो किन्न बीस रुपैयाँ बोकेर पसल जाँदै थिएँ । बूढाको अफिस पनि आज विदा नै । दुई ज्यान मात्र थियौँ । बिहान अबेर उठे पनि पिरोल्ने कोही छैन भन्ने ठानेर होला । मन भित्रभित्रै यिनै तर्कहरू अलमलिनु अस्वाभाविक थिएन किनभने रोशन र मेरो बिहे भएको दश– बाह्र वर्ष भैसके पनि बालबच्चा भएका थिएनन् । धेरै जोगी–सन्यासी, धामी–झाँक्री, डाक्टर–वैद्य समेतलाई देखाइसकेका थियौँ । अझ भनौं गर्नु पर्ने र गर्न हुने जति उपचार रोशनले गरिसकेको थियो । मभित्र यी तर्कना त्यत्तिकै पनि उठ्थे । बजारबाट दश रुपैयाँकै भए पनि मूला ल्याएकी थिएँ । १० रुपैयाँको रायो ल्याएर अचार राखे दुई गाँस बढी खाइने अचारसँग भात । घरमा सासू, आमाजू, नन्द आदि भए पो सोध–खोज गरेर के –के राख्ने भन्न,,आ… के सोध्नु, पल्ली निरूपालाई अस्ति सोधेंँथेँ, ऊ पनि मूलामा रायोको छोप राखे, ठीक भन्दै थि ।

कोठाभित्र पस्दै थिएँ– ट्यार ट्यार फोन बज्यो, गाउँबाट कमल दाइले फोन गर्नुभएको रहेछ । कमल मेरो एक्लो दाइ, म पनि एक्ली बहिनी । हामी दुईजना छोराछोरी बाहेक एउटी ठूली दिदी बितेकी रे ! आमा भन्नु हुन्थ्यो । हुन त गाउँकै सर्वोदय मा.वि. बाट २०४० तिर प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि जागिर खाने एउटै मात्र सोच आएको थियो ममा । त्यै पनि बाबाको प्रयास खेर गएन । एउटा भूतपूर्व मन्त्रीले महिला विकास कार्यालयमा मासिक रू.५०० को नोकरी मिलाइदिए । नोकरी गरेँ करिब ५ वर्ष । कहिले नेपालगञ्ज, कहिले झापा गएँ, तर महिला विकासबाट स्थायी जागिर लिन नसकेपछि मैले जिल्ला शिक्षा कार्यालयमा खरिदार पास गरें,२०४६ सालको अन्त्यतिर । मलाई जिल्ला शिक्षा कार्यालय मकवानपुर, हेटौंडामा गएर काम काज गर्नुपर्ने अवस्था आएको हो । अहिले म काठमाडौं……., आ म पनि कता के के सम्झन पुग्छु भने ….. आ; दाइसँग टेलिफोनमा कुरा भयो । दाइले वहाँलाई पनि (झ्वाट्ट) सोध्नुभयो । एक त वहाँ अल्छे, त्यै पनि आज शनिबार । टेलिफोनमा एक मिनेट कुरा के गर्नुभयो– दाइले– वहाँले त जुरुक्क उठेर निकै ठाडा कान लगाउनु भयो । म चाहिँ त्यै दश रुपैयाँको रायो र एउटा मुठो मूला लिएर किचेनतर्फ जान लागँे । वहाँले मलाई उठ्नबाट रोक्दै ए रूपा ! पख त, लेउ दाइसँग कुरा गर भन्दै फोनको रिसिभर दिनु भो । दाइका कुराको सुइँको मैले पाएँ । कुरा के रहेछ भने हामीबीचको सन्तान बिनाको घरलाई भरिपूर्ण बनाउन एउटा अब अर्को उपचार (म त यसलाई नाटक मञ्चन मात्र भन्छु) गर्ने विचार रहेछ– त्यो के हो दाइ ? मैले दाइसँग जिज्ञासु पारामा सोधेँ; किनभने दाइको नाटकीय पारालाई मैले अन्तर हृदयदेखि नै बुझिसकेकी थिएँ । वहाँको अर्को नाटकलाई मैले निकै चाख मानिरहनुपर्ने अवस्था पनि थिएन किनभने हामी बीचको समस्या मेरो बढी थियो । डाक्टरले मलाई आमा बन्न नसक्ने अवस्थामा पु¥याइदिएको थियो । दुई दिन–तीन दिन,गर्दै चार वर्ष–पाँच वर्ष गर्दा गर्दै हाम्रो विवाह (प्रेम विवाह) भएको झण्डै बाह्र वर्ष बितेको थियो । यो बीचमा निकै उतारचढाव आएका थिए । मैले वहाँका लागि गर्न नसकेको केही थिएन, थियो त केबल बाल–बच्चा जन्माउन नसक्नु । दश–एघार वर्ष बीचमा हामीमाथि छिमेकीहरूले हेर्ने दृष्टिकोण नै अलग थियो । हाम्रा छोराछोरी अमेरिका, जापान पढ्दा हुन् भन्ने सोच पनि राख्दथे । स्युचाटार क्षेत्रमा हामीलाई दुई–चार जनाको बीचमा रामै्र कोटीमा राखेर हेर्ने गर्थे भन्दा अत्युक्ति नहोला । अँ… ए… दाइ.. भन्नु न कुरा के हो ? मैले फेरि दाइसँग फोनमा जिज्ञासा राखेँँ । दाइले अरू समयमा जसरी कुरा खोल्न डराए जस्तो मानेँ फेरि सोधें– दाइ मलाई चैँ नभन्ने त, फोन राखौं ? जवाफमा दाइले भन्नु भो– ज्वाइँसँग सोध ल बैनी, है–त भन्दै फोन ‘डिस्कनेक्ट’ भयो । मेरो नजर वहाँतर्फ प¥यो । वहाँ निकै हतास र अमनचैन हराएझैँ बन्नुभयो । मेरो नजरमा वहाँले मलाई हेर्न सक्नुभएन । कतै उपचारका नाममा अर्कै स्थिति त आएको हैन ? कतै बाबालाई बेसञ्चो भो कि ? आमा …….. आ–के सोचेर बस्नु, दाइले त उपचार भो भन्नुभा’थ्यो नि ! फेरि वहाँलाई सोधेँ । हैन किन नबोलेको ? दाइले के भन्नुभो ? मेरो सोधाइले वहाँको एकाग्रता भङ्ग भएझैं भयो । मैले अलिक चर्को स्वरमा भन्दा वहाँलाई भन्नुपर्ने कुरा नभने पनि हुन्छ जस्तोे गर्नुहुन्छ । वहाँँले डराइ डराइ यसो भन्नुभो– मेरो दोस्रो विहे गरिदिने रे ! दाइले ….। मैले त मात्र दोस्रो विहे गरिदिने भनेको मात्र सुनेँ । मलाई बेचैनी बढेको महसुस भयो ।

आखिर वहाँ (मेरो श्रीमान्) दाइको आग्रहलाई स्वीकार गरी जाने अठोटमा लाग्नुभो । मेरो भावनामाथि वहाँले खेलवाड गरेझैँ भयो । मैले वहाँसँग गरेका बाचा….?, वहाँले मसँग खाएका कसम…..? चिठ्ठी लेखिएका थिए रगतले…..!…… ! ती दिन एक्कासि मेरो नजरमा के – के घुम्न थाले झैँ भयो । मैले ती दिन(जुन दिन वहाँसँग पहिलो भेटमै बचन मागेकी थिएँ)एकपटक सम्झिएँ । म त एक्ली छोरी, कतै तपाईंले मलाई धोका त दिनुहुन्न ? त्यसबेला मेरा श्रीमान्ले भन्नुभएको थियो– धत् रूपा के भनेकी ? के मलाई विश्वास गर्ने आधार अरू केही छैन र ?! के म तिमीले विश्वास गर्न लायक हुन सकिन त ? आदि–आदि र यस्तै–यस्तै प्रश्नहरूमा मैले वहाँलाई चिनेकी थिएँ । हो, घरपरिवारको सहमतिले भएको विवाह थिएन हाम्रो । ‘लभ म्यारिज’का नाममा पूरा ‘लभ’पनि थिएन, थियो त केबल, एक–दुई पटकको देखादेख मात्र । लामो चिनजान, जानपहिचान घरायसी सम्बन्ध केही पनि थिएन ।

हो, वहाँ मेरो श्रीमान् भन्नुपर्ने आधार के नि ? मैले श्रीमान्को नाममा के मात्र गरिन, मेरो गुनासो सुन्ने को त ? मैले गर्न हुने र नहुने के सम्म गरिन !? लेखाजोखा गर्ने हो भने ………….. ! तर मलाई वहाँले त्यस्तो गर्न के पो गर्नु भो त ? हो, मेरा सन्तान भएनन्; तर सन्तान नभए के भो त ? सन्तानका लागि म त हो नि !के महिला सन्तानकै लागि मात्र हुँन् त ? म प्रश्न गर्छु ? तर कसलाई……….?! मलाई वहाँको अगाडि जति सोध्नुपथ्र्यो त्यो सबै सोचिसकेँ, तर अब त वहाँ प्लेन चढेर विहेका लागि प्रस्थान गरि सक्नु भएको थियो । मैले जस्तोसुकै गरे पनि वहाँकै मनलाई बचाउन सकिन । वहाँले मलाई दिनुभएको वचन पूरा गरेको भएको भए के बिग्रन्थ्यो त ? मलाई एक शब्द, ‘म विहे गरू’? मात्र भनेको भए पनि त म जे भन्थेँ ; तर एक शब्द सोध्नुभएन । मन मिलुञ्जेल दुई आत्मा एक भएका थिए । अगाडि वहाँकै एक वचनले मलाई सधैँको लागि पुग्ने बनाउनु भो । अब म वहाँको नजरमा एउटी गलत अर्थमा लिनुपर्ने पात्र सावित भएँ । मैले मेरा पतिपरमेश्वरलाई सन्तानसुख दिन सकेकी भए त यी समस्याबाट उम्कन सजिलो हुने थियो तर के गर्ने?! दैवले त ठग्यो ठग्यो; आफ्नै भनेर सर्वस्व सुम्पेको मान्छेले पनि यस्तै गर्ने हो भने अब मैले के अर्थमा जिउने ? मैले बाँचेर पो कसलाई के दिएँ ? पहिलो कुरा म बाँचेर एक जनालाई हसाउँन मात्र सकेकी भए मेरो बचाइ सार्थक हुने थियो । एक जनालाई खुसी पार्न सक्छु भनी गरेको प्रतिज्ञा जीवित राख्न त सकिँन भनेँ मैले जीवनभर के पो गरौंला ?

दोस्रो कुरा म स्वास्नी मानिस, समाजले मलाई हेर्ने दृष्टिकोण नै हेरौं न । एक्लै बस्दा बाइफाले बेस्या वा नक्कलीको उपनामबाट विभूषित भइने; बस्दा के मुखले बसौँ ? दाइ, भाउजू, आमा, बुवा, फुपू, दाइका तीन जना छोराछोरी,एक जना काम गर्ने मान्छेसहित ८ जना र म पनि थपिएँ भने साँप्रो माथि पिँडो किन ? एक–दुई दिन त भाउजूले ठिकै भन्नुहोला । आमाले पनि केही नभन भन्नुहोला । भोलि आमाको शेषपछि मेरो र भाउजूबीच परेको झगडा मिलाउन दाजु आउनुहुन्छ । त्यसबेला लोकगीत गाएको जस्तो हुन्छ । घर गर्न सकिँन, एउटा पोइलाई खान दिन नसकेर आएकी–भन्दा मेरो मन कहाँ बग्ला ? मैले के जवाफ दिनु ?आँसुको सट्टा रगत नै भलभल आउन सक्छ नि ! समाजले पनि माइतीघरमा गएर बस्दा अर्कै दृष्टिकोणबाट हेर्न सक्छ नि ! सबै दाइ भाउजू आमाकै मनका होलान् भन्न पनि त गाह्रो । हो मेरो घरमा आमाभन्दा भाउजू र दाइ नै प्रिय छन्, प्यारो गर्दछन् तर ……तर त्यस्तो भए पनि …. माइत पनि त जानु भएन । मलाई निकै छटपट छ, तातेको तावामा माछाको भुरो राखिदिएको अवस्था जस्तो ……..। कहिलेकाहीँ आ….के भो त म मरे को रुने ? जान्छु भीरबाट हाम फालेर मर्छु जस्तो लाग्यो तर गाउँ भए पो भीरबाट हाम फालेर मर्नु, यहाँ त सहर; सहरमा भीर छैन । भैगो, अब मर्ने मात्र के सोच्नु ?! कम्तिमा मर्नुभन्दा अघि मर्नुको अर्थ र कारणसहितको एउटा चिठी नै लेखौँ भन्ने पो लाग्यो । चिठी पो कसलाई लेख्ने ? र, के भनेर लेख्ने ? बाह्र–बाह्र वर्ष सँगै बसेको लोग्ने बिहे गर्न गयो । के विश्वास, भोलि सौतासँग मिलेर बस्न सकिँन भने के हाल होला ? सौताका छोराछोरी होलान्, उसलाई नछुनु, त्यस्का छोराछोरी छैनन्–भन्लान्, त्यसबेला मैले के जवाफ दिनु ? मुसाको विष भए खानु पो पर्ला यसै पेट पौल्दै छ झन् विष खाँदा यो पेट कसरी पोल्दो हो ? झन्–झन् काटेको खसी झैं भटक भटक गर्दै मर्छु होला ! त्यस्तो मराई पनि के मर्नु ?! खुकुरी नखोजेको पनि होइन, यदि मर्न सकिन र त्यो खिया लागेको खुकुरी भए र ‘टिटानास’ रोग सरे के होला ? बरु अब जे त पर्ला खसमलाई एउटा अन्तिम पत्र लेख्ने विचार गरेँ–

मेरो प्रिय प्राणेश्वर !
आजका मितिसम्म आराम छु र हजुरको गाथमा चिरकालसम्म सुखले बास गरोस –भनी उनै परम् कृपालु भगवान श्री पशुपतिनाथसँग प्रार्थना गर्दछु ।
प्राणेश्वर,जिन्दगीको यी क्षणमा मैले तपाईंलाई सुख दिन सकिन । सायद यसैका कारण तपार्इँले दोस्रो बिहे गर्ने एकतर्फी निर्णय गर्नुभो । एक वचन गरौँ कि नगरौँ ? –मात्र भनिदिएको भए त मेरा लागि लाखै हुन्थ्यो तर मलाई त्यति सम्झने प्रयास पनि गर्नुभएन; साह्रै चित्त दुखेको छ तर के गरौँ आत्मा मानेर बस्न सकेन,म अब देहत्याग गर्ने निर्णयमा पुगेँ, मेरो अनुपस्थितिमा नयाँ श्रीमतीलाई सुखसँग राख्नुहोला, यसरी गल्ती गरेर दोस्रो सट्टामा तेस्रो बिहे नगर्नुहोला ।
ज्यादा के लेखौँ यस जन्ममा हजुरलाई खुसी दिन सकिन अर्को जन्ममा भेट भए….उही अभागिनी ,
रूपा …………… ।

चिठी तयार भो, मैले वहाँलाई पहिला पहिला पनि चिठी नलेखेकी हैन । बिहे हुनुभन्दा अघि पनि दुई–तीन वटा पत्र पठाइदिएकी थिएँ । ती पत्रहरू माया र प्रेमका भन्दा पनि बढी घरायसी व्यवहारसँग सम्बन्धित थिए । माया र प्रेमभन्दा घर व्यवहारका कारण म छिटो वहाँसँग आकर्षित भएकी थिएँ किनकि विवाह अघि एउटा परिपक्व पुरूषको खाँचो महसुस नगरेकी पनि होइन । मैले खोजेको भन्दै कोही पनि नआएका पनि होइनन् तर मन मिल्ने र स्तर मिल्ने कोही आएनन् । बाबाको जोडले हो भने त २०४१–०४२ तिरै बिहे गरिसक्नु भएको तर मेरो जिद्दीपनले म फुत्किएँ । फुत्किएँ के भन्नु ?!– मेरो त्यसको चिना टिपन मिलेन । म बिहे गर्नबाट जोगिएँ । त्यस्ता त कति आए– कति ? हिसाब गरी साध्य छैन । भोजपुर जस्तो ठाउँमा एक–दुई मुरी धानको बीउ राख्ने साहूकी छोरी म पनि ! बुवा शिक्षक हुनुहुन्थ्यो विज्ञानको । ‘साइन्सकी छोरी’ भन्थे मलाई । बाबाले चश्मा लगाएपछि बूढो कारिन्दा जस्तो तर सबै विद्यार्थी चुँगर्दैनथे ।

रातको करिब १ः०० बजेछ । म आफूलाई सम्हाल्न नसक्ने स्थितिमा नै पुगिसकेकी थिएँ । काठमाडौँंबाट वहाँ भोजपुर जान सकेको होइन । विराटनगर घर हाम्रो । दुई–चार चोटि विराटनगर गयौँ सँगै, त्यसपछि वहाँलाई फुर्सदै छैन । के जानु माइत ? फेरि वहाँलाई खै एक पटक ससुरालीमा यस्तो आशिष दिएका थिए रे –अर्को साल आउँदा काखमा नाति खेलाउन पाइयोस्, यस्तो आशिषले वहाँलाई चोट पुगेछ, दोस्रो पटक जान मान्नुभएको थिएन । विस्तारमा यसको भेद खुल्यो । ‘काखमा नाति’ शब्दले वहाँको असक्षमतालाई जिस्काएको रे । खै म त के भनौँ के नभनौँं ? के लेखौँं के नलेखौँ ? लेख्न शब्द छैन, रुन आँसु छैन, बोल्न एक्लै, के बकौँ । खाट, दराज, टी.भी., रेडियोबाहेक केही र कोही साथमा छैन । आफ्नो भन्ने कोही छैन । कसलाई के भनौ त ? अन्ततः मैले आफ्नो प्राण त्याग्ने नै पुग्ने विचार गरेँ । मनले हरेस नखा भन्छ फेरि सम्झियो, म जस्ती एक्ली, पतिपरित्यक्ता नारीले सौताको अगाडि कसरी आँसु देखाउनु, कसरी आँसु लुकाऊँ ? दोष मेरो हो तर मैले रुनु नै थियो त किन विवाह बन्धनमा बाँधिनु पथ्र्यो ? यी र यस्तै प्रश्नहरू मेरो मन मस्तिष्कमा घुमिरहे । बिहान ५ बजेको कुखुराको आवाजले मलाई झल्याँस्स बनायो । रातभर म यस्तै भुमरीमा अल्झिएछु ।

बिहान ९ः०० बजेसम्म निदाएँ । फोन बज्यो ट्यार–ट्यार । रिसिभ गरेंँ । वहाँको अर्थात् मेरो श्रीमान्कै रहेछ । यताबाट बोल्न सकिन । उतैबाट के छ रूपा ? सञ्चै त छौ ? रिसायौ कि ? भन्ने चार–पाँच वटा प्रश्नहरू एक्कैचोटी मतिर तेर्सिए । म अक्क न बक्क भएँं । बोल्न वाक्य फुटेन । तैपनि वहाँले रूपा तिमी किन बोलिनौँ ? के मप्रति रिस पलायो ? के गल्ती गरेँ र ? –भन्दै हुनुहुन्थ्यो । मेरो धैर्यको बाँध टुट्यो । एक्कासि डाको छोडेर रुन मात्र आयो । वहाँको आवाज झन् मलिन र रूद्द थियो । रूपा ! रूपा मात्र भन्नुभो तर म बोल्न सकिनँ । सकिन के भनौंँ, बोल्न मनै लागेन । मैले त्यत्तिकैमा फोन राखिदिएँ ।

झण्डै तीन घण्टा बित्यो । मैले पत्तो पाइन । १२ः३० बजेको थियो । कसैले ढोका ढक्–ढक् ग-यो । यसो आँखा खुल्यो, अघिल्लो दिनदेखि पानी बाहेक केही खाएकै थिइन । ढोका खोल्न उठेँ। उहाँ त विराटनगरबाट प्लेनमा तु आउनुभएछ । म ढोकामा एक्कासि ठोक्किन पुगेंँ । वहाँसँग ठोक्किन पुगेंँ । बेहोस् थिइन तर अर्धचेत जस्तै थिएँ । रूपा ! तिमीलाई के भयो ? किन यसरी हुत्तिएर ठोक्किएकी ? टाउको ठोक्किएको भए ?रूपा, तिमी यसरी सोचेर बस्ने ? यस्तो गति बनाएको ? म कसरी हेर्न सक्छु ? के तिमीले मलाई यति कुरा पनि राम्ररी भन्न सकिनौ ? सरोजले एकै सासमा आफ्नो कुरा राख्नु अनौठो थिएन । मैले सबै हेरेर बस्नु शिवाय अरू केही बोलिन । वहाँले बुझ्नु भो –भएन ? मैले वहाँसँग जिकिर गर्न पनि सकिन । शिवाय रुन बाहेक मेरो यसमा प्रतिक्रिया रहेन । एकपटक खै त ? ऊ …….किन ………….एक्लै आउनुभयो ? –मात्र बोलेँ । वहाँलाई सबै कुरा भन्न सकिन । वहाँ सबै भन्दै हुनुहुन्थ्यो, –हेर यो वास्तविकता भनेको मेरो दोस्रो बिहे केवल पहिले नै तिमीले भन्ने गरेको अर्को नाटक मात्र थियो । यसमा न त दुलही थिइन न त दुलहा । ए साँच्चि दुलाहा त म नै हुँ । यस अर्थमा मेरो बिहे केवल नाटक झैं हो । दाइ भाउजूको मनको शान्ति, ग्रहदशाको नाममा झारपात विशेष ‘आँक’ (एकप्रकारको सानो बुट्यान या बुट्टो)सँग औपचारिक रूपमा बिहे गराएको खण्डमा सौतेनीे ग्रहबाट बालबच्चा नभएका रहेछन् भने त्यो दशाबाट जोगिन सकिन्छ–भन्ने मनोदशाबाट तिम्रा दाइ भाउजू गुज्रिनुभएको रहेछ । बस् कुरा यति हो । म त पूरा दुई दिन खाना नखाई बसेकी मान्छे, यति वहाँका कुरा सुनेपछि मलाई पूरा त्राणमा प्राण मिलेको झैं भयो । मैले वहाँलाई छोपेंँ र बेसरी रोएँ । वहाँ पनि त्यसरी नै……….. तर मलाई पछि लाज पनि भयो । मैले त कुरै नबुझी ………आम्मै !?
आखिर मेरो लोग्नेको दोस्रो बिहे त भयो नै तर सौता भने आइन ।
समाप्त

लेखक परिचय – ऋषिकेश भट्टराई
बुढानिलकन्ठ –११, काठमाडौं

569 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv