कथा-ब्रत

बुधबार, अशोज ३१, २०७५

- सीता ओझा- अध्यक्ष महिला अध्ययन केन्द्र



” नित्या  तिमी त सुतिरहेकी रहिछौ त ? हिजो राती सुत्ने बेलामा आउ सुतौं भन्दा  त  ”  चोखो गर्नु पर्छ  ।  म चारै बजे मन्दिर जान्छु, त्यसैले म एक्लै सुत्छु  । त्यहाँ आउदिन भन्थ्यो , गएन छौ त ”   फतफताउदै गरेका मेरा पतिदेवको आवाजले  म झल्यास भए । उठ्दा त उज्यालो भइसकेको रहेछ ।

हतार गरेर पहिले नुहाएँ अनि घर पुरै बढारें र  सर्फ पानीले सफासगँ पुछें । घरमा पुजा सकेपछि पतिदेवलाई चिया चमेना पनि गराएँ र मन्दिरतिर निस्किएँ ।

घरबाट निस्किएको आधा घण्टा जतिमा मन्दिर पुगें । जुनसुकै मन्दिर गए पनि मैले जुत्ता बाहिरै खोलेर जाने गरेकी थिएँ । यहाँ पनि त्यसै गर्ने विचारले यताउता पल्याकपुलुक मन्दिरको  छेउकुना हेर्न थाले ।

मानिसहरूको भिड नै थियो । चप्पलजुत्ता जस्तो कुरा जतापायो त्यतै राख्ने कुरा पनि भएन । पोहोर साल पनि मन्दिर दर्शन गरेर बाहिर आउदा चप्पललै थिएन । पछि खाली खुट्टै आउनु पर्यो ।

अघिल्लो दिन किनेर त्यसै दिन मात्रै लाएको त्यै पनि हरायो । रङ्ग विर्सिएँकी भनेर खुबै खोजें । किन विर्सनु र ? नापीनापी ,रङ्ग र साइज मिलाएर किनेकी थिएँ । त्यो नयाँ देखेर नै चोरेको हो भन्ने मेरो मनमा लागि रहेको थियो ।

चप्पलको व्यवस्था गर्ने क्रम सकिएकै थिएन । मन्दिर छिर्नु  पहिले अगाडिको भित्तामा ठुला अक्षरमा लेखेको कुरा प्रति मेरो ध्यान गयो । वितारै त्यसलाई पढें । ” सत्य र तथ्य भन्दै यस्तो लेखेको भेटें, — ” व्रत बसेर इश्वर खुसि हुने भए ,धेरै दिन देखि भोका भिखारीहरू दुनियाँमा सबै भन्दा सुखी हुने थिए । व्रत अन्न छोडेर होइन विचार र व्यवहारको शुद्धीकरणमा हुनुपर्छ । सज्जनहरू त आफैदेखि आफैसगँ खुसि हुन सक्नु पर्छ तर दुनियाँ त तिनै भगवान देखि दुखि छन , ” किन यस्तो लेखेको होला भनेर निकैबेर घोरिएँ म ।

मैले त्यो भनाइलाई तीन पटक पढें । दस पटक सोझें र हजार पटक महसुस गरें । अनि व्रत बस्नेहरू तिर हेरें । व्रत भगवानको बसेका छन , कुरा अरू मानिसको काटेका छन । मान्छेको व्यवहार या आफ्नो स्वार्थ पूरा नभएकै कारण सरापेका छन । के गरेका होलान् जस्तो लाग्यो ।

पुजा गर्न लाईनमा बस्दा पनि लोग्ने मानिसको मन स्वास्नीमान्छे पट्टी, स्वास्नी मान्छेको मन , आफ्ना छोराछोरीको बढाइ, अरूका  कुरा काट्ने ,  हिन्दी सिरययल , गालौज  मै सिद्दिने ।  जस्तो लाग्यो ।

चप्पल त्यहीँ खोलें , निकै बेर गमेर म मन्दिर भित्र छिरे । निकै भिड थियो । लाइन बसें तर मन इश्वर प्रति केन्द्रीकृत गर्न सकिन । त्यै भित्तामा लेखेको कुराले कौतुहलता गरायो । यो कुरा कसले सोचेको होला ? कहाँ भेटेको होला भनेर मन तुल्ल बुल भइरयो ।
लाइन अघि सरीसकेको रहेछ । पछाडीबाट बुढी आमाले  ” नानी किन टोलाएकी हँ ? अगाडि सर बा ” भन्नू भो अनि पो झल्यास भएँ त ।

टोलाउदै भए पनि मन्दिरमा पसेर पुजा गरें । सधै भगवान देख्ने आँखाले आज ढुङ्गा कोरेर बनाएको मुर्ति देखें । निकै जान्ने कालीगढले कुँदेको मुर्ति रहेछ ।

कति समय लाग्यो होला ?  यतिको राम्रो बुट्टा कुँदेर मुर्ति बनाउन । पैसा पनि निकै पर्यो होला । वास्तवमा धार्मिक पर्यटनको माध्यमले पनि राष्ट्रले आम्दानी गर्न सक्छ नि जस्तो लाग्यो ।

मानिसको कल्पना शक्तिलाई त मान्नै पर्छ । त्यहि कल्पना शक्तीको संघर्ष त होला नि यी सब तेरो मेरो, रिस,राग द्वष ,सत्ता र शक्ति सबै !  जस्तो लाग्यो ।

मन्दिरमा पुजा सकें । यसो हातको घडी हेरेको त घडीमा नौ बजि सकेको रहेछ । सोचें आज नक्साल भगवती पनि जानू पर्यो । बुढा खाना खाएर अफिस गइहाले । घरबाट निस्केको बेला भगवागलाई सम्झने काम पनि सक्नु पयो भन्ने लाग्यो ।

सडकमा आए अनि माइक्रोबसमा  बसें । म बसेको माइक्रोबस भन्दा अगाडि गुडी रहेको माइक्रोबसको पछाडी  एउटा कोटेसन लेखेको देखें ।  ” एउटा ढुङ्गा एक पटक मन्दिर पुग्छ,मन्दिर पुग्ने वितिकै त्यो ढुङ्गा इश्वर बन्छ । मानिस त सयौं पटक मन्दिर जान्छ तर कहिल्यै ” हो त नी  भगवान बन्न सक्दैन । त्यो ढुङ्गालाई भगवान बनाउने  कल्पना गर्ने मानिस कसरी मानिसबाट भगवान नबनेको होला ? जस्तो लाग्यो
पढेर म मै सगँ कृतघ्न भएँ । आज म कस्तो बेलामा घरबाट निस्के छु । जताततै ज्ञान गुनका कुरा मात्रै भेटिन्छन । त्यो पनि निशुल्क !

हिजो मात्रै छोरीको स्कुलको प्रिन्सिपलले बोलाएर गएकी थिएँ । ”  छोरीको पढाइ कम्जोर भयो । सुधार गर्न अलिकति कोच गर्नु पर्ने भो ” भने प्रिन्सिपलले । म जिल्लै परें । घरको काम छोरी नआउदै सकेर छोरी आएपछि त्यसैलाई पढाउछु ,गृहकार्य गराउछु तर पनि कम्जोर भन्छन । आफै शिक्षामा स्नाकोत्तर गरेकी त्यै पनि केही नजान्ने बनाइ दिए । छक्क पर्दै फर्के ।

ज्ञान लिन सक्ने क्षमता हुनेका लागि कोच गर्नै पर्दैन नि । घर त केटाकेटीहरूको पहिलो पाठशाला नै हो नी ! पोहोर साल म व्रिटिस एम वेसिको एउटा शैक्षिक कार्यक्रममा गएकी थिएँ । त्यहाँ एउटा सानो फिल्म / चलचित्र हेराएका थिए । त्यसमा भनेकै थियो हरेक बच्चाको जीवनको पहिलो पाठशाला घर हो । पहिलो गुरु आमा हो र पहिलो उत्प्रेरक बुवा हो । त्यस पछि बाबा र मैले छोरीलाई नै समय दिएका थियौँ ,तै पनि  यसो भनेर व्यपार गर्न खोज्ने गर्छन बा !

आ जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिड भन्थे हो रहेछ । धेरै किताब बोकेर एका विहानै गाडीमा भोकै नानीहरू पठाउदा मात्रै चाहिँ शिक्षाको गुणस्तर बढ्ने होइन । म त छोरीको कुराले टेन्सन लिन्न भो !  मनमा कुरा खेलाउदै खेलाउदै भए पनि आज नक्साल भगवतीको पनि दर्शन भयो । हुन त भगवानको पुजा गर्दा एक चित्त भएर गर्नु पर्छ रे । आज मेरो मन खासै एकचित्त चाहिँ भएन है । मनमनै सोचिरहें ।

बेलुका एक्लै सुत्छु भन्दा पतिदेव नाराज भए । भगवानको शरणमा आँउदा भगवानको भक्तिमा भन्दा अन्तै मन जान्छ के भएको होला मलाई ! किन मन स्थिर नभएको होला ? आफैले आफुलाई प्रश्न गरिरहें ।

नक्सालबाट सानो गौचरन हुँदै कालोपुल तिर तेर्सिएकी  मात्रै थिएँ । कालो पुलतिरबाट ठूलो यात्रु बाहाक बस आइरहेको देखें । निकै छिटो गतिमा आउदै गरेको बस जामले गर्दा रोकियो ।

यात्रुहरू विच सडकमै  हुरूरू ओर्लेर हिड्न लागेको देखें ।किन रहेछ ?  भन्दै बिस्तारै हेर्दै आएँ । विचैमा पन्चड भएछ र यात्रु ओर्लेका रहेछन ।

हिड्नु अघि पुर्व तयारी नगर्ने हाम्रा बानी व्यवहारले दुख पाईन्छ भनेको यहि हो नि । कहाँबाट हिडेको हो ? यात्रु कोचाकोच थिए । बीच सडकमा ओर्लनु परेपछि भाडा त दिदैनन । दिने कुरा पनि भएन नि ! तर कन्डक्टर चाहिँ भाडा दिएनन् भनेर फतफताइरहेको देखें । खोइ के के  गर् मुख बङ्ग्याएर गाली  पनि गर्दै थियो ।

म अघि बढ्दै गाली सुन्दै गर्दै थिएँ ।  त्यसैको बसमा यस्तो लेखेको देखें – अहंकारले तीन चिज  सकिन्छ, पहिलो धन, दोस्रो बैभव र तेस्रो  बंश  ! त्यो कन्डक्टरलाई त्यसको अर्थ के थाहा ?  मलाई चाहिँ  सत्य मात्रै होइन चित्तै बुझ्यो अनि रामयणको रावण , महाभारतका  कौरव र  कृष्ण कंशको लिला सम्झें । धिकार छ जिन्दगी भनेर हिडें ।

अनि मलाई लाग्यो ज्ञान र ध्यानका लागि मन्दिर जानू पर्दैन मन र वचन शुद्द हुनुपर्छ । आत्माको ज्ञान भन्दा ठूलो ज्ञान कहिँ गएर पनि पाइदैन । भोकै बसेर जिउ सुकाउनु भन्दा पवित्र मनले मानवको सेवा र अमानवीय कामबाट टाढा रहनु जाती भनेर व्रत बस्नै छोडिदिएँ ।

519 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank