मेरा लाेग्ने बिदेशमा छन्-सामाजिक कथा

आइतवार, अशोज ८, २०७४

loading...

- केडी रेम्नीसीङ



“एउटा कुरा आज थाहा भयो, मातेपछि मान्छेको दया पलाउँदो रहेछ । अरु के केसम्म अरुलाई दिन तयार हुन्छन् म चाहिँ मेरो शरीरै अरुलाई सुम्पनु परे पनि तयार हुने रहेछु लागेपछि । तर भाइ तिमीलाई चाहिँ होइन है हा…हा…हा… । तिमीलाई त मैले उहिल्यै देखि आफ्नो भाइजस्तो मानेको छु, त्यसमाथि तिमी भन्या घरमा परिवार भएको मान्छे, हामीलाई के हेर्थिस् । बरु त्यो तिम्रो साथी बेरोजगार जस्तो छ त मिल्छ भने मलाई मिलाई देऊ न…”

“दिदी खास म पनि बेरोजगारै छु त ।”

“चुप लाग फटाहा, आज मलाई अलि बढी लाग्यो भन्दैमा जिस्काउँछस् । अघिदेखि मलाई खुवाउन बल गर्ने तिमी नै त हो नि, अनि ऊ त्यो कुनामा बस्या छिन् नि त्यसलाई कहाँबाट ल्याइस् ? खुब खुवाउने बल गर्दैछस् त, निको चाला देख्दिनँ है, यी केटा मान्छेहरू केही दिन श्रीमती टाढा जानै हुन्न चिट गरिहाल्छन् ।”

“होइन हौ दिदी, सहमतिमा नै आका हौँ, यस्तो रमाइलोमा म किन नजाने भनी त्यसैले लिएर आको, अलि अप्ठ्यारो मानिराकी थिइन् त्यसैले हौसला बढाउन अलि खुवाको ।”

“खाएपछि मै जस्तो होलिन् भनेर हैन ? बुहारीलाई मात्र भेटुँ न । खासमा म किन पिउँछु, थाहा छ? सुरुमा एक्लोपन मेटाउन, अहिले त बानी मेटाउन । कम्ती टेन्सन हुन्छ, तिमीलाई के थाहा? ओई त्यो पर बसेकी आजकी तिम्रोलाई बोलाऊ”

“काली ओई काली यतै आउन, दिदीले बोलाउँदै छिन् ।”

“किन बोलाको? अघिसम्म चाहिँ एक्लै राख्ने, अहिले माया लाग्यो?”

“एक एक थपौँ है…. ल दिदी पनि थप्नु….. मैले पनि थपेँ ।”

“सुन न बहिनी, यो भाइलाई म अघि के भन्दै थिएँ भने किन पिउँछु भनेर, मेरो पनि प्रेम विवाह नै हो, पाँच वर्षको प्रेमपछिको विवाह, बिहेका सुरुवाती वर्षहरुमा कति माया गथ्यौँ एक अर्कालाई, कतै जाँदा पनि साथै गइन्थ्यो । घर परिवार त्यति गरिब नभएकोले हामीलाई कतै जान गाह्रो हुन्थेन । यतिसम्म कि उहाँको क्याम्पसको परीक्षा दिन जाँदा समेतसँगै लानुहुन्थ्यो काठमाण्डौ ।”

“आ दिदी अब जाम, रात वितिसक्यो ।”

“तँलाई हतार भो? जाने भए मलाई त्यो तिम्रो साथीसँग पठा न त ।”

“ओई केटा यो दिदीलाई पुर्याउन गइदे न, नत्र उतै बस, भोलि बिहान आइज ।”

“होइट, दाजुभाइ अहिलेसम्म छुटेको छैन, आज नि दाइ जता सुत्छन् म नि त्यतै सुत्ने हो, हाम्लाई चाहिं दाइको माया लाग्दैन?”

“लु भाइ, यसले के भन्यो सुनिस्?”

“फेरी भाउजूले पनि दाइको केएर गर्नु भन्नु भाछ ।”

“मुला, तँ पनि बढी नै केएर गर्छस् कहिलेकाहीँ त, जा न भन्या ।”

“मरिगए छोडिन्न हौ, दाज्यै ।”

“लु त दिदी तपाईंको कथा नै सुन म त…..।”

“हा…हा…हा… एक जना पकाएर खान पनि जाँगरिलो अर्को पस्केको खाना पनि छोडेर हिँड्ने । ल सुन त्यसपछि… आँ… कसैले कुरा काट्थे, कसैले ईश्र्या गर्थे । तर दुई वर्ष अघि जब हाम्रो ससुरा वितनु भो र त्यसको एक महिनामै घर जलेर हाम्रो सारा पसल नष्ट भो, त्यसयता हाम्रो परिवार चौपट भो । भाइ बहिनी पढाउने देखि काखको छोरी हुर्काउने, घरपरिवार सम्हाल्नेसम्म गर्नुपरेपछि त विदेशको विकल्प थिएन । भाग्यवश उहाँ सेक्युरिटी गार्डमा फिट हुनु भो । अनि….”

“एकछिन ल दिदी, ओई भाइ अब त जा न दिदीलाई पुर्याउन, मलाई त कस्तो निद्रा लाग्यो, कालीलाई पनि लागिसक्यो ।”

“भनेँ त, बरु लु जा म सुत्न कोठातिर… यो दिदीसँग त मरिगए जान्नँ आज…”

“लु दिदी तपाईंको कथा नै सुनु म ।”

“त्यसपछि अहिले बहुत उहाँको यादले सताउँछ, उहाँको यादमा एक्लै तड्पिएर कति गुम्सिएर कति बस्ने भनेर बाहिर निस्केको पिउने भइयो । हा…हा…हा…”

“ए, त्यतिमात्रै? म त अस्ति पर डाँडामा मैले देखेको कुरा पनि भन्नुहुन्छ भनेको दिदीले त….”

“तिम्रो श्रीमतीको नम्बर खै दे त ।”

“किन?”

“फोन गरेर भन्नु परो, तिमी के के गरीराछौ भनेर । बढी हुन्छस्? कहाँको डाँडा? साँची बहिनी, तिमी चाहिं किन सदरमुकाममा एक्लै बसेको? के गर्छौ यहाँ?”

“के उसलाई सोधिराखेको? यहाँ भाइलाई सोध न, उसको श्रीमान् उता विदेश छन्आ, यहाँ त्यतिकै बसिराखेकी ।”

“ए, अनि पो…? मैले सबभन्दा विश्वास गरेको भाइ हो, धेरै राम्रो मान्छे छ, तर सोचेभन्दा नि राम्रो रहेछ, यो थाहा थिएन ।”

“बरु भन्नुस् न त त्यो डाँडामा नेखिएका कुराहरू ।”

“मान्छेसँग मन त हुने नै रहेछ भाइ, र त्यो मनलाई अर्को मनले छुन कुनै वेर नलाग्दो नि रैछ । सुरुमा कति भयो एक्लोपनको महशुस, जब श्रीमान विदेश जानुभयो । भौतिक सुख मात्रले नभरिएको मन केले भरिन्छ त्यो सिकाइराख्नु पर्दैन तिमीलाई । मन अचम्मको हुन्छ, यो एकैपटक अचानकभन्दा नि आफ्नै गतिमा अर्को मनलाई छुन जान्छ । त्यस्तै गरी भयो श्रीमान् र मेरो सम्बन्धको विस्तार, सुरुमा त सोचिएको थिइनँ कि यस्तो हुन्छ । तर पछि….. जब श्रीमान् विदेश जानुभयो, एक्लै थिएँ, चियापसल, पसल, अस्पताल, कार्यक्रम, भोज, काम जता पनि भेट हुने तेस्रो व्यक्तिसँग मैले कहिल्यै सोचिनँ र सोँच्दिनँ पनि सामिप्यमा आउन । तर नचाहँदा पनि नजिकिने मनकोभन्दा पनि उसको हाँसो, चकलेटीपना, सहयोगिपना, केयरनेस नै दोषमुक्त छैनन् त मनलाई के को दोष? हिहिहि…..”

“होइट! दिदीको साहित्य कडा आयो ।”

“नपत्याको होला, प्रकाश कोविदको अर्को जन्म उपन्यास देखि पाउलोको इलेभेन मिनेट्स उपन्याससम्म पढेको मान्छे पो हुँ त, कलेज पो चाहेजस्तो गरी पढ्न सकिनँ होला । उपन्यास पढ्नमा चाख लिने मान्छे बढी भावुक हुन्छ भन्छन्, हो क्यारे । तर त्यो मान्छेले एकदिन लोलिता उपन्यास पो पढ्न लगाएर वर्वाद गरो त । त्यो दिन त म साँचै लोलिता नै हुन पुगे छु त, सीनमात्र जंगलको थिएन र मात्र । हाहाहा….”

“ल दिदीको कुरा नि करिब छोटोमा बुझियो । अब जाम सुत्न आधा रात वित्यो । अब भने भाइले दिदीलाई पुर्याउने होला ।”

“यो भाइ जाँदैन ब्रो, बरु तिमी नै जाऊ, तिम्री कालीलाई मसँग पठाऊ ।”

“ल दिदी, बाँकी तपाईंको कथा सुनुम्…..।”

329 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv