कास्कीमा उपनिर्वाचनको मतदान शुरु, मतगणना पनि आजै

शनिबार, मंसिर १४, २०७६



कास्की । कास्की २ मा प्रतिनिधिसभा उपनिर्वाचनको मतदान शुरु भएको छ । आज(शनिबार) बिहान ७ बजेदेखि ३२ मतदानस्थलका ८२ केन्द्रमा मतदान शुरु भएको हो। निर्वाचनलाई लक्षित गरी जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको छ । आज अपरान्ह ५ बजेसम्म जिल्लाभर सार्वजनिक गाडी गुड्न प्रशासनले रोक लगाएको स्रोतले बतायो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिएअनुसार शुक्रबार राति १२ बजेदेखि निर्वाचन हुने दिन शनिवारसम्म अत्यावश्यक सेवाका बाहेक अरु गाडी सञ्चालनमा रोक लगाइएको छ । उनका अनुसार, अत्यावश्यक सेवा र चुनावी प्रयोजनका लागि जिल्ला प्रशासनबाट पास लिएका गाडीबाहेक अरु गाडी गुड्न पाउने छैनन् ।

राजमार्ग हुँदै अन्य जिल्ला जाने सवारीको हकमा यात्रुलाई असुविधा नहोस् भनेर ३ र ३ घन्टामा नाकाबाट स्कर्टिङको व्यवस्था मिलाइएको उनले बताए । सिडिओ केसीले भने, ‘पूर्वमा कोत्रे खोला पुल, तनहुँ सीमाना, पश्चिम–उत्तरमा नयाँ पुल(पर्वत सिमाना) तथा दक्षिण पश्चिममा भकुण्डे (स्याङ्जा सिमाना)मा गाडी होल्ड गरी स्कर्टिङ गराइने छ ।’ एम्बुलेन्स, शवबाहन, दमकल, खानेपानी लगायतका अत्यावश्यक सेवाका गाडी भने नियमित चल्न पाउने छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी फौजले गाडीलाई बीचमा यात्रु नचढाउने र नओराल्ने गरी स्कर्टिङ गराइने सहायक सिडिओ श्रीनाथ पौडेलले जानकारी दिए । मतदान अवधिभर कास्की क्षेत्र नम्बर २ लाई सम्पूर्ण सुरक्षाका तहले निगरानी गरिने उनले बताए । उक्त अवधिमा अपरिचित व्यक्तिहरुको प्रवेश, अस्वभाविक व्यवहार र शंकास्पद गतिविधि देखिएमा प्रहरीमा खबर गर्नसमेत जिल्ला प्रशासनले आग्रह गरेको छ ।

मतगणना आजै

कास्की २ को उपनिर्वाचनको मतगणना आजै नै शुरु हुने छ । केही बेरअघि शुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ। संकलित मतपेटिका पोखरामा संकलन गरी आजै मतगणनाको काम थाल्ने तयारी छ।

मतदान सम्पन्न भएलगत्तै नेपाल प्रहरी र शसस्त्र प्रहरीको पहरामा जिल्ला समन्वय समितिको हलमा मतपेटिका संकलन गरिनेछ । साँझ ७ बजेसम्ममा मतपेटिका संकलन गर्ने र लगत्तै सर्बदलीय बैठकबाट मतगणनाबारे निर्णय हुने जिल्ला अदालत कास्कीका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata