१३औं साग तयारी : कराँते टोलीमा उत्साह

सोमवार, अशोज २७, २०७६



१३औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका नेपाली कराँते खेलाडी उत्साहित बनेका छन्। लामो समयदेखि सागको तयारीमा रहेका खेलाडी विदेशी प्रशिक्षकको प्रशिक्षणले थप उत्साहित बनेका हुन्।

खेलाडीलाई मलेसियाका प्रशिक्षकले एक साता प्रशिक्षण दिएका थिए। एसियन कराँते टेक्निकल कमिटीका संयोजकसमेत रहेका मलेसियाका प्याट्रिक लिमले नेपालको साग कराँते टोलीलाई प्रशिक्षण दिएका थिए। लिम काताका विशेषज्ञ हुन्।

नेपाली खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लैजानुभन्दा विदेशका राम्रा प्रशिक्षक झिकाएर नेपाल कराँते महासंघले खेलाडीलाई प्रशिक्षण दिएको हो।

सागका लागि कराँतेमा दुई वैकल्पिकसहित ३४ खेलाडी छनोट भएका छन्। छनोट भएका खेलाडीको बन्द प्रशिक्षण ललितपुरको सातदोबाटोस्थित कराँते एकेडेमीमा भइरहेको छ।

नेपाल कराँते महासंघले कातामा दुई वैकल्पिकसहित १२ र फाइटमा २२ खेलाडी छनोट गरेको छ। जसमा एकल कातामा महिला र पुरुषमा समान एक एक तथा टिम कातामा महिला र पुरुषमा समान तीन तीन जना खेलाडी छनोट गरिएको छ। फाइटमा महिलामा १० र पुरुषमा १२ खेलाडीले सागमा प्रतिस्पर्धा गर्नेछन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata