कविता-क्रान्तिको राँको

बिहिबार, भदौ २१, २०७५

- राकेश कार्की - लस एन्जेलस



क्रान्तिको राँको कहिल्यै निभ्दैन

जबसम्म दु:खको झिल्को

बाँकी रहन्छ

अभावको झिल्को

बाँकी रहन्छ

गरिबी, छुवाछुत, जातपात, भेदभाव अनि

बेरोजगारीको झिल्को

बाँकी रहन्छ

 

जब न्याय पाइदैन

देशकी चेलीको अस्मिता लुट्दा

जबसम्म नातावाद, कृपावादले

प्रतिभावानहरूलाई लखेट्दा

रूदैँ विदेशिनु परेका नेपालीहरूको

प्रिय र लालाबाला छुट्दा

सीप, लगन, अवसर सवै

ठूलाठालु पदधारीहरूले

झेलझाल गरेर खोस्दा

 

तब त

दमनले जति फुकेर निभाउन खोजेपनि

शोषणले जति छोपेर निभाउन खोजेपनि

अत्याचार, अन्याय, र क्रुरताले दबाएर

जति निभाउन खोजेपनि

न्यायको झिल्को

शोषितको झिल्को

पीडितको झिल्को

सबै सबै आँसु, रगत र पसीनको झिल्को

एउटै ठाउँमा झोसिएर

एउटै आवाज भएर

एउटै मुठ्ठी कसेर

एउटै विजयको लक्ष ताकेर

क्रान्तिको राँको बलिरहन्छ

 

तब कसरी निभ्छ?

निभाउने कसको तागत?

क्रान्तिको राँको कहिल्यै निभ्दैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank