केन्द्रीय कारागारका चार सय कैदीबन्दी बिरामी

बुधबार, साउन १६, २०७५



काठमाडौँ । काठमाडौँको जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदीबन्दी बिरामी भएका छन् ।

केन्द्रीय कारागार कार्यालयले दिएको जानकारी अनुसार कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिने लगायतका रोग देखा परेको छ ।

कारागार कार्यालय जगन्नाथदेवलका प्रमुख एवं उपसचिव वेदनिधि अधिकारी उपचारका लागि दैनिक १०० कैदीबन्दीलाई उपत्यकाका विभिन्न अस्पतालमा पठाउँदै आएको बताए । “सामान्य प्रकृतिका रोगको उपचार कारागारको आफ्नै अस्पतालमा गरिन्छ । गम्भीर प्रकृतिका रोगको उपचारका लागि उपत्यकाका विभिन्न अस्पतालमा पठाउने गरेका छौँ,” उनले भने ।

कारागार कार्यालयका अनुसार क्षमताभन्दा बढी भएका कारण पनि अधिकांश कैदीबन्दी बिरामी परेका हुन् । एक सय चार वर्ष पुरानो केन्द्रीय कारागार भित्रको तीनवटा भवनमा हाल दुई हजार ८०३ कैदीबन्दी तथा चार नाबालक रहेका छन् । केन्द्रीय कारागारमा एक हजार ६९५, भद्रगोल कारागारमा ७९० र महिला कारागारमा ३१८ कैदीबन्दी रहेका छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार हाल नेपालका ७२ जिल्लाका ७४ कारागारमा १८ हजारभन्दा बढी कैदीबन्दी रहेका छन् । पुरानो भौतिक संरचना र संख्या अत्यधिक भएकाले कारागार कार्यालयले हाल दैनिक चार पटक कैदीबन्दीको हाजिर गर्दै आएको छ ।

190 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank