कानो(बहिरो) कानून

बुधबार, जेष्ठ १५, २०७६



|| कानो(बहिरो) कानून ||

असन्तुष्टिको कटघरामा
उभ्भिएको लेखक
कमजोर कलमको
कोमल मसिले
हरेक विकृतिको
अंत्येष्टि गर्ने कसम खान्छ….

कागजको स्वीकृति लिई
औसीको कालो रातमा
कालो मसिले लेखिएका
शब्दहरुको एक हूल
अर्थ लिई निस्किन्छन्
निदाइरहेको
कानूनको कान सम्म ….

गुहार्छन्,
चिच्याउछन्,
घचघच्याउछन्,
बिन्ती गर्छन्,

एकैछिनमा…
कानूनको कान नजिकै
उभ्भिएका
चिल्ला हात भएका
हत्याराहरुको
एक हूल आउछ

शब्दहरुको घाँटी रेटी
कानूनलाई भेटि चढाउछन्

अनि अचानक
एक भयानक
आवाज गुंजिन्छ
चारैतिर,

लेखक मुस्कुराउछ….

जुन कलमले
हरेक विकृतिको
अन्त्येष्टिगर्ने
कसम खाएको थियो,
त्यो कलम उठाउछ
आक्रोशसँग प्रजनन गर्छ

बदलाको कोखबाट
नवजात शब्दहरु जन्माउछ,

अनि ती नवजात शब्दहरु
मरिसकेका शब्दहरुलाई
श्रद्धाञ्जली दिन जान्छन् !

यतिक्कैमा….

एक लहर अझै आउँछ
शमशानबाट
स्वाभिमान मरिसकेका
केहि भौतिक शरीरहरुको….

जसले,
नवजात शब्दहरुको
अपहरण गर्छन्,
जन्मिन नसकेका शब्दहरुको
गर्भपात गर्छन् र,
बाकी किशोर शब्दहरुको
बलात्कार गर्छन् !

कानूनको कानमा
तेल हालेर बसेका
कयौं कुख्यात शोषकहरु
यो सब देखेर ताली बजाउछन् !

लेखक हैरान हुन्छ….!

स्वतन्त्रता कुनै जेलमा
कैदी बनी रोइरहेको छ,
न्यायको तराजूको
सन्तुलन बिग्रिसकेको छ,
संविधानका पंक्तिहरु
धरहरासँगै उजाड भइसकेका छन,
चामल पाक्ने कयौं कुकरहरु
प्रेसरमा पड्कीरहेका छन,
असंख्य निर्दोषहरु
गुहार मागिरहेका छन,
गुहार्दै यायावर झै
भट्कीरहेका छन,
देशको दशाको दशै सर्वत्र देखिन्छ….

तर,
कानूनको
आँखा,
कान,
नाकले
शून्य महसूस गरेपछि,

अन्ततः
लेखकले कलम छोड़ी
बन्दूक उठाउने निर्णय गर्छ !!

– प्रचण्ड भाष्कर

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata