१३बर्षीय बालिका बलात्कार पछि हत्या भएको भन्दै संसद मार्फत सरकारको ध्यानाकर्षण

आइतवार, साउन १३, २०७५



काठमाडौं। कञ्चुनपुर भीमदत्त नगरपालिका–२  निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि भएकाे हत्याकाे विषयमा संघीय संसदको ध्यानाकर्षण गरिएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा अधिकांश सांसदले महिला तथा बालिका बलात्कारको घटनामा दोषी देखिएकाहरुलाई कडाभन्दा कारवाही गरिनुपर्नेमा जोड दिए ।

दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति नदिइकन शव नबुझ्ने भन्दै स्थानीयवासीले कञ्चनपुरमा विरोध गरिरहेका छन् । केही दिन पहिले १३ वर्षीया निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेर उखु बारीमा फालेको अवस्थामा फेला परेको थियो ।

सांसद डिला संग्रौला, तेजुलाल चौधरी र दीपकप्रसाद भट्टले तत्काल दोषीलाई पक्राउ गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन तथा महिला र बालिका बलात्कारको घटना हुन नदिन सुरक्षा निकायलाई प्रभावकारी रुपमा परिचालन गर्न आग्रह गरे ।

सांसद नीरुदेवी पालले पनि तीन दिन पहिले बलात्कार गरी हत्या गरिएकी पन्त परिवारलाई क्षतिपूर्ति दिन र पीडकलाई सर्वस्वसहित कडा कारवाही गर्न माग गरे । सांसद दिलेन्द्रप्रसाद बडुले अभियुक्तलाई अझै कारवाही हुन नसकेकामा आपत्ति जनाउँदै शीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउन आग्रह गरे । सांसद प्रमिला राईले महिला एवम् बालबालिकाको सुरक्षामा ध्यान दिन आग्रह गरे ।

सांसद बालकृष्ण खाँडले महंगी नियन्त्रण गर्न सरकारको ध्यानकर्षण गराए। शून्य समयमा देवप्रसाद गुरुङ, देवप्रसाद तिमिल्सिना, नन्दलाल रोकाया क्षेत्री, नवराज रावत, नवराज सिलवाललगायतले राष्ट्रिय तथा स्थानीय समस्याको समाधानमा सरकारको ध्यानाकर्षण गराए।

 

271 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank