बेलमती र सुम्नीमाकाे दशैं

दशैं विशेष कथा

शुक्रबार, अशोज १३, २०७४

- पवन न्याैपाने



घुमीफेरी फेरि दशैं आएको छ नयाँ गाऊँमा….आज दशैंको सप्तमी….बेलमतीलाई भने सास फेर्ने फुर्षद पनि छैन् । झिसमिसेदेखी नै कामको चटारो छ….घरआँगन लिपपोत गर..पुजापाठको सामग्री तैयार पार….पानी ओसार्न एक घंटा लगाएर पधेँरामा जाऊ…. दशैं भन्यो दशा नै हुन्छ वेलमतीलाई ….धारामा पुगेर पानी भर्दै गर्दा वेलमतीकी छिमेकी भाउजु सुम्नीमा र उनका श्रीमान पधेँरामा आईपुग्छन् ।
टोलाएर बसेकी वेलमतीलाई बोलाउँदै सुम्नीमा भन्छिन् ‘ बेलमती , गाग्री भरिएर पोखिइसक्यो त ……..अब हामी पनि पानी भर्न आईपुग्यौं हामीलाई भर्न दिने हैन ?’
एकोहोरो टोलाएर बसेकी वेलमती झस्कीन्छीन् ‘हँ …ए……..ओ हो सुम्नीमा भाउजु ? तपाईं ? ’
‘तिम्री प्यारी सुम्नीमा भाउजुलाई मात्र देख्या ? म पनि छु है । ’ सुम्नीमासंगै पँधेरामा आएका उनका श्रीमान दिपक बोले ।
दिपकलाई पँधेरामा देखेर वेलमतीले उनलाई जिस्क्याउन्छीन् ‘ल हेर हेर……….. दिपक सर ……..तपाईं पनि पँधेरामा, त्यो पनि अहिले यसबेला ? मैले झिसमिसेदेखी ५ ५ पटक ओहरदोहर गरेर ५ गाग्री पानी घर पुर्याईसकेँ ……..अब त यो २ गाग्री छ , एकैचोटीमा भ्याउँछु । अनी तपाईं चैं यतिखेर भर्खर नुहाउन ? ’
‘ल कुरा बुझदै नबुझी ……..फ्याटट कसरी भन्न सकेकी बेलमती नानी म पनि पानि लिन आ को । तिमीले बिहान देखी ५ पटक ओसार्दा ओसार्दा बिहानै बित्न लाग्यो । तर हामी त बुढाबुढी दुबैजना आएका छौं । …….एकैपटकमा २ गाग्री लान्छौं । यसले सुम्नीमालाई पनि हल्का भयो…….पानि ओसार्ने काम पनि छिटटै सकियो …….भएन त फाईदै फाईदा ’
दिपकको कुरामा सुम्नीमाले थपिन ‘ अनि बेलमती ? पाँचपाँच पटक तिम्ले पानी बोक्दा तिम्रा श्रीमान, अनी घरका अरु सदस्यले पालो दिन आएनन ? ’
सुम्नीमाको कुराले वेलमतीलाई एकोहर्यायो । आफ्नो घरभित्रको पिडा आफैंसंग थियो वेलमतीलाई …उनको परिवारका सदस्यले वेलमतीलाई काममा सघाएको कुनै दिनपनि थिएन्, त्यहीकारण चाडबाड पनि चाडबाड जस्तो कहिल्यै भएको थिएन् बेलमतीलाई ।
यत्तिकैमा सुम्नीमाले फेरि कोट्याईन् ‘बेलमती ? के सम्झेकी ?’
वेलमती झस्कीन्छीन् ‘ए ……भाउजु…….केहि हैन ……..श्रीमानपनि खसी किन्न बजार जानुभा’छ …….भोलीमात्र आईपुग्नु हुन्छ बरु मलाई ढिलो भयो । यो अर्को गाग्रीपनि यी यहाँ काँधमा हाल्दीनुस् त ……..म जान्छु । घरमा कहाँ हराई भनेर सासुआमा खोज्न आउन बेर छैन् । म जान्छु अब …..’
वेलमतीले खसी किन्न श्रीमान गएको कुरा बताएबित्तिकै सुम्निमाका श्रीमान दिपकले थप्छन् ‘ल खसी भन्दा सम्झो …….आज तिम्रोमा खसी आईपुग्ने रै न छ …….पानी पुर्याएर खाना खानेगरी एकछिन आउनु नी है बेलमती नानी । बा र आमाले देवीथानमा बोका पुजा गर्न जानु भा छ , त्यही प्रसाद खानुपर्छ । बरु तिम्रा बुढा बद्रीदाईलाई पनि लिएर आउनु …’
यत्ति भनिसकेपछि दिपक र सुम्निमाको गाग्री भरयो..उनीहरु एकएक वटा गाग्री लिएर घरतिर लागे । वेलमती दोधारमा परिन….जाऊँ कि नजाऊँ..जाऊँभने घरमा कामको ताँती लागेको छ..नजाऊँ भने त्यति सम्मानपुर्वक बोलाएका छन् ।

*********
मध्यान्हको समय…
कार्तिकको महिनाको घामपनि पारिलो लागेको छ…..तर वेलमतीको मन भने कामको तनावले थिचिएको भारीले धुम्म बादल मडारिएको जस्तो मडारिएको छ । तैपनि दिपक र सुम्निमाको घरमा पुग्दा दिपककी छोरी सुदिक्षा बाहिर आँगनमा खेलिरहेकी छिन् ..सुदिक्षालाई बाआमा कता हुनुहुन्छ सोधेर भित्र भान्सातिर पस्छन् बेलमती र उनका श्रीमान बद्री ।
दिपकले पिर्का दिएर बस्न आग्रह गर्छन् । दुवैजना बस्छन् ।
मासु पकाउन ब्यस्त दिपक बोल्छन् ‘ हेर्नोस् न बेलमती नानी .. बाआमा बिहान माथि देवीथानमा गएर बोका पुजेर ल्याउनु भा, आउँदा आउँदै ढिला भैहालेछ .. अनि त यी पकाउन पनि निक्कै बेर लाग्यो । तर अब पाकिहाल्यो .. एकैछिन है .. (छोपेको प्लेट झिक्दै) आहा .. बास्ना त गज्जबको आको छ । बरु सुम्नीमा .. यी यो एउटा टुक्रो लेउ त .. नुन चाख त .. पकाउन त म नामी मान्छे .. तर नुन अडकल्न चैं .. यस्तै हो बेलमती बैनी .. ’
बेलमती हाँस्छीन मात्र ..प्रतिक्रिया जनाउँदिनन् ।
मासु चाखेपछि सुम्नीमा को प्रतिक्रिया आउँछ ‘ अँ .. नुन त ठिक्क छ .. तर रस बनाउँदा चैं अलि थप्नुपर्छ है ’
त्यो काम त आफु गरिहाल्ने दिपकको जवाफ आउँछ ।
दिपकले भातभान्साको काम गरेको देखेर वेलमतीका श्रीमान बद्री छक्क पर्छन् ।
उनको मनमा कुरा खेल्छ ‘ ओ हो यी दिपक सर त भातभान्साको कामपनि आफैं गर्दा रहेछन् । बिहान पधेँरामा पानि लिन पनि संगै पधेंरा गएका थिए भनेर बेलमतीले त भन्दैथिई । हैन यी के जोईटिँग्रे भा होलान ? ’
यही बिचमा सुम्नीमाले वेलमतीलाई किन ढिला आईपुग्या भनेर सोधेको प्रश्नमा बेलमती जवाफ दिन्छिन् ‘ त्यही त हो नी भाउजु .. चाडबाड भन्यो .. काम जनि सप्पै आफैंलाई थपिन्छ .. कामबाट एकैछिन् सास फेर्न पाईदैन । मध्यरातमै उठेर घर लिपपोत गर, पधेँरामा पानी लिन जाऊ, ढिकीमा गएर चिउरा कुट, आएर खाना बनाउ, सबैलाई खुवाऊ, अब अझै जुठाभाँडा त बाँकी नै होलान .. गएर त्यो पनि भ्याउनु छ .. फेरि दशैं भनेर के गर्नु गाईवस्तुलाई पनि खुवाउनै पर्यो .. अब गएर बिहानको भाँडाधन्दा सकेर फेरि घाँस काटन जानु छ .. अनि फेरि बेलुकीको चटारो .. त्यहीँमाथि शहरबाट देवर नन्दहरु पनि आजै आईपुग्ने भन्दैथिए .. अब एकछिनमा त आई पनि पुग्छन् । अनि पाउनापासो त्यस्तै त हो नी भाउजु .. धन्न एकैछिनमा आईहाल्छु भनेर दौडेर आएकी .. ’
वेलमतीको कुरो सुनेर सुम्निमाले उनीप्रति सहानुभुति राख्छिन् ‘ धन्न है बेलमती .. तिम्रोे यो कामको चटारो सम्झँदा त .. कसरी गरिरहेकी छ्यौं जस्तो लाग्छ मलाई .. तिम्रो घर अनि मेरो घर सम्झन्छु कहिलेकाहीँ । ’
त्यही बिचमा सुम्नीमाको कुरो काटदै दिपकले थप्छन् ‘ हैन अनी बद्री भाई घरमा तिमीं, तिम्री आमा, बा अनि परिबारका अरु सदस्य पनि छन् । तिमींहरुले चाहीँ बेलमती बैनीलाई काममा सघाउन हुन्न कि क्या हो ? ’
बद्री अकमकाउँछन् र जवाफ दिन्छन् ‘ त्यस्तो त हैन सर ….तर अब घरधन्दाको काम हामी लोग्नेमान्छेले ………के गर्नु खै ? ’
दिपकले फेरि थप्छन् ‘ ल अब काम भनेको पनि यो लोग्नेमान्छेले गर्ने यो स्वास्नीमान्छेले गर्ने भन्ने हुन्छ र ? यी हामीलाई नै हेर्नोस न हामी घरमा सबै काम मिलेर गर्छौ …त्यस्ले गर्दा सबैलाई सजिलो भा छ । ’
दिपकको कुरा सुन्दैगर्दा वेलमतीको मनमा कुरा खेल्छ ‘ मेरा बुढाको दिमागमा यी कुरा कसरी पस्लान ? सुम्नीमा भाउजु त कत्ति भाग्यमानी हुनुहुन्छ । दिपक सर जस्तो सहयोगी श्रीमान, सुब्बा बाजे र गंगा बज्यै जस्ता माया गर्ने सासुससुरा, दिपिका नानी जस्ती आफ्नै बैनीभन्दा प्यारी नन्द, अनि सुदिक्षा जस्ती लक्ष्मी छोरीको रुपमा पाउनु भा’छ । ’
दिपकको कुराले बद्रीको दिमागमा पनि कुरा खेल्छ । दिपकको कुरामा समर्थन गर्दै उन िसम्झन थाल्छन् ‘ हैन…यी दिपक सरको कुरापनि गलत त होईन….एकअर्कालाई सघाउँदा एकअर्कालाई नै काममा सहज हुन्छ भने सघाउँदा केही त बिग्रँदैन नी ……यस्तो वाताबरण न आफुले कहिले घरमा पाइयो न त आफैंले बनाउन प्रयास नै गरियो………खै के खै के ’
फेरि बेलमतीले आफ्नो दुखेसो पोख्छिन् ‘ मलाई त यो चाडबाडै नआईदिए हुन्थ्यो जस्तो लाग्छ बरु । चाडबाडमा जति रमाउनु त्यही केटाकेटीमै रमाईयो .. अब त भयो ।’
बेलमतीको कुरालाई काटदै सुम्निमा भन्छिन् ‘ समस्या चाडबाडले गर्दा भएको हैन नी बेलमती .. यस्ता चाडबाडमा महिलाहरुले चाहिँ सप्पै कामै मात्र गर्नपर्ने, अनि पुरुष सदस्यले चाहिँ उपरखुट्टी ला’र, तासजुवा खेलेर, खाएर, रमाईलो गरेरै बिताउनपर्ने कुसंस्कारले पो यस्तो भएको त । कामपनि मिलेर गर्ने .. रमाईलो पनि मिलेरै गर्ने हुँदा त चाडबाड सबैका लागी रमाइलै हुन्छ नी .. ’
दिपकले बिचैमा ठट्टा गर्छन् ‘हाम्रै जस्तो हैन त सुम्नीमा ? ’
दिपककै कुरामा समर्थन गर्दै सुम्निमा बोल्छीन् ‘ हाम्रो घरमा यो महिलाले मात्र गर्ने काम, यो पुरुषले मात्र गर्ने भन्ने छुट्याएकै छैन । काम पर्दा पनि सबैले मिलेर गर्यो, रमाईलो पनि सबैले मिलेरै गर्यो । ’
सुम्निमाको यो कुराले फेरि बेलमतीको मनमा कुरा खेल्न थाल्छ ‘ तपाईको त हो नी .. आफ्नो त .. खै के रमाईलो भन्नु के नरमाईलो .. आफ्नो त नियती नै यहि भैसक्यो । बजारबाट किनमेल गरेर ल्याएपछि श्रीमान ससुराले आफ्नो सप्पै कामै सकियो भनेर बस्छन् .. आफुलाई भनेँ २ गाँस खानपनि नभ्याईने जस्तो हुन्छ । पोहरसाल पनि बाआमाको हातको टिका थाप्न जान पाईन .. बुढाको ताल यही हो .. . पोहर पनि घरमा सातादिनसम्म पाउना पासोको मानमनितो गर्दै बित्यो .. सुम्नीमा भाउजुलाई जस्तै .. यसो घरमा भएकाले पालो दिएपनि त बुढा भका बा आमा को हातको टिका थाप्न जान पाउँथेँ नि .. के गर्नु । ’
वेलमतीको मनमा कुरा खेलिरहेको बेलामा दिपकले मासु पाकेको र अब खाना खान बस्नको लागी बेलमती, सुम्नीमा र बद्रीलाई आग्रह गर्छन् र छोरी सुदिक्षालाई पनि बोलाउँछन् ….आफ्नी श्रीमतीलाई पहिले खान बस भनेको कुराले बद्रीलाई अचम्मीत पार्छ भने बेलमती आफ्नो र सुम्निमाको भाग्य तुलना गर्न थाल्छीन् ।
खाना खाईसकेर बद्री र बेलमती त्यहाँबाट बिदा मागेर हिँडछन् ।
जाँदैगार्द बेलमती सम्झन्छीन् ‘ कत्ति रमाईलो छ दिपक सर र सुम्नीमा भाउजु को जोडी अनि यो परिबार नै .. कत्ति सहयोगी छन् यो घरका सबैजना .. शायद मेरो पनि परिबार यस्तै बुझ्झकी भैदिए म पनि त आफ्नै परिबारसंग चाडबाडमा रमाउन सक्थेँ होला नी । तर .. ’
त्यहीबिचमा बद्रीको मनमा पनि कुरा खेलिरहेको हुन्छ ‘ हैन…यी दिपक सरको परिवार त साँच्ची नै रमाईलो रहेछ …….कति सुखी परिवार । ’

************
रातको समय
बाहिर चकमन्न अँध्यारो..
कुकुर भुकिरहेको छ…
नेपथ्यमा रेडियो बजिरहेको छ ….दशैं नै हो कि यो मेरो दशा फर्कि आएको…..।
गितको शब्द आफ्नैलागी सिर्जित हो कि भन्ने लाग्छ बेलमतीलाई …
फेरि तुलना गर्न थाल्छिन् उनको परिवार र सुम्निमाको परिवार…‘ साँच्ची .. मलाई नै भन्या हो कि क्या हो यो गीतले पनि .. दशा नै बनेर आउँछ मेरालागी यो चाडबाडपनि । चाडबाड भन्यो सबैलाई रमाईलो .. मलाई मात्र जोतिनुपर्ने .. कस्तो रै छ मेरो कर्म .. ? आफुलाई आजको दिनको काम सकिया छैन भोली सबेरको कामले झस्काउँ .. .सप्पै अराउने र खटाउने मात्रै हुन .. सघाउने कोही हैनन् । हरे .. सुम्नीमा भाउजुको जस्तो घर .. परिबारका सदस्य भए पो चाड आउँदा पनि चाडै आएजस्तो हुन्छ । आखिर त्यो घरका पनि मान्छे नै हुन् .. हाम्रापनि मान्छे .. तरपनि उनीहरु कत्ति खुशी छन्, कत्ति सहयोगी छन् .. आफ्नो घरको तालभने यस्तो छ ..’
ओछ्यानमा पल्टनै लाग्दा घडीलो रातको साढे एघार बजाईसकेको हुन्छ ….
फेरि डुब्छीन् आफैंभित्र ‘ खसी पकाउनुपरेपनि फर्सी पकाउनपरेपनि भोली बिहानै बाहिर पल्ट्या मुढो चिरिसक्नु छ .. के गर्नु सबैलाई चाडको रमझम .. आफ्नो दुख आफैंसँग छ .. खुइइइइइइइइइ .. अब पल्टीनुपर्यो । खै उता सर्नुस त ……..ल यी बुढा त निदाईसकेछन् । कस्तो यो जिऊ कट्क्क खाएर .. आफुलाई भने निद्रा नी नलाएको .. खुइइइइइइइइइइइइइइ ’
त्यही नयाँगाऊँ..त्यहीँका २ परिवार सुम्निमा र बेलमतीको तर चाडबाडलाई कहिल्यै चाडबाडको रुपमा मनाउन पाउँदिनन् बेलमतीले । रेडियोमा गित निरन्तर बजिरहन्छ, दशैं नै हो कि यो मेरो दशा…फर्किआएको…

623 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank