कालोसूचीमा ६ कम्पनि : पप्पु कन्स्ट्रक्सनलाई तीन वर्ष, अन्यलाई एक वर्ष

सोमवार, फाल्गुन ५, २०७६



काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ताहाचल, काठमाडौंले सोमबार सूचना प्रकाशित गर्दै विभिन्न ६ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ ।

समयमै काम पुरा गर्न नसक्ने पप्पु कन्स्ट्रक्सन, निशा सप्लायर्स, श्रीदेव सप्लायर्स, सूर्योदय निर्माण एन्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र एचबी केसी निर्माण सेवा कालोसूचीमा परेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको उक्त कार्यालयले विभिन्न सार्वजनिक निकायबाट भएको सिफारिसअनुसार सो कम्पनीहरूलाई कालोसूचीमा राखेको हो । सार्वजनिक गरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम ती कम्पनीलाई निश्चित अवधिसम्म कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको  छ ।

सूचना अनुसार ती कम्पनीहरू न्यूनतम एक वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा परेका छन्। थुप्रै निर्माणका कामहरू अलपत्र पारेको र गुणस्तरहीन काम गरेको भन्दै सर्वाधिक विवादमा आएको सुमित रौनियार मुख्य व्यक्ति रहेको श्री पप्पु कन्स्ट्रक्सन प्रालिलाई सडक विभाग अन्तरगतको काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरको उजुरीका आधारमा कालोसूचीमा राखिएको हो।

पप्पु कन्स्ट्रक्सन कालो सूचीमा परेका ६ कम्पनीमध्ये ३ वर्षको लागि प्रतिबन्धित हुने एकमात्र कम्पनी हो। कार्यालयले अन्य कम्पनीहरूलाई समान एक-एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको छ।

अशोक न्यासुर मुख्य व्यक्ति रहेको हेटौँडास्थित निशा सप्लायर्सलाई दि टिम्बर कर्पोरेशन अफ नेपाल (नेपाल वन निगम लि, शाखा कार्यालय बारा)को सिफारिसमा एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

यसैगरी श्रीदेव सप्लायर्सलाई प्रहरी प्रधान कार्यालय, मानवस्रोत तथा प्रशासन विभाग, प्रवन्ध निर्देशनालय नक्सालको सिफारिसमा एक वर्षका लागि कालोसूचीमा राखिएको छ । सरस्वतीनगर कार्यालय रहेको उक्त कम्पनीका मुख्य व्यक्ति दामोदर दुलाल हुन् ।

यस्तै, दोलखाको मेलुङ गाउँपालिकाको कार्यालयले गरेको सिफारिसका आधारमा सुर्योदय निर्माण एन्ड हाउजिङ कम्पनी प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । धुम्बाराही कार्यालय रहेको सो कम्पनीका मुख्य व्यक्ति विष्णुकुमार कडरिया हुन् ।

मेलुङ गाउँपालिकाको कार्यालयकै सिफारिसमा बारा कन्स्ट्रक्सनलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको सिफारिसमा एचबी केसी निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । लिसखुपाखा, सिन्धुपाल्चोक ठेगाना रहेको सो कम्पनीका मुख्य व्यक्ति हरिबहादुर खत्री हुन् ।

कालोसूचीमा परेका उनीहरूले अबदेखि तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्। सम्झौताअनुसार काम नगरेका कम्पनीहरुलाई सरोकारवाला सार्वजनिक निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने व्यवस्था छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments