कालो अर्थात अध्यारो अर्थात रात !

शनिबार, बैशाख ७, २०७६



कालो अर्थात अध्यारो अर्थात रात  !(कथा)

म त्यो समय सम्झिरहेछु, जतिखेर म ममबत्तीद्वारा चुरोट सल्काउथे । र यो समय, यो आजको समय  । यो अहिलेको समय । यतिखेरको समय… यतिखेर पनि म सोही कर्म गरिरहेछु  । यसो गर्नु उ: बेला बाध्यता थियो । यो शहर लोडसेडिङ मुक्त भएको त्यस्तै २/३ वर्ष न भयो  । र, यतिखेर यो टोलमा बत्ती छैन । बत्ती नहुनुको पछाडी  विभिन्न कारणहरु होलान् – त्यो  प्रावाधिक  समस्या भयो । सम्बन्धित मान्छेहरुले सुल्टाउलान यसलाई । र, हुनसक्छ बत्ती भर्खरै आइदिन सक्छ । या यो पनि त हुनसक्छ आज रातभर बत्ती नआइदिन पनि सक्छ  । भोलि पनि नआइदिन सक्छ ।… अब कहिल्यै नआइदिन पनि सक्छ ।

ममबत्ती सल्किदै छ । रात अध्यारिदै छ । बाहिर बत्ती आएन भन्ने खालका गुनासोहरु बोलिरहेछन् । हल्लाहरु कराईरहेछन् । बत्ती आइदिए मात्रै पनि यिनीहरु चुप लाग्थे कि !(मलाई यी आवाजहरु मनपरिरहेको छैन ।) टोलका कुकुरहरुलाई यति चाढै( रातको ८:३८ मै), यस्तो अध्यारिँदो वातावरण मन नपरेको हुदो हो । आकाशको जुन आकाशमा पनि देखिएको छैन । धारावाहिक देखीईरहने/भुकिरहने यी कुकुरहरुको आवाज बेग्लै लागिरहेको छ   हुँदो हो – यो मलाई मात्रै लागिरहेको हुँदो हो ।

झ्याल खोल्छु । पर्दा मेरो टाउको पछाडि पर्छ । सायद ढाड तिर । बाहिर हेर्दा देखिन्छ- बस् चकमन्नता । सुनसान । अँध्यारो । शुन्यताले निमोठेको छ यो टोललाई  । कुनै बूढी बोक्सीजस्तै डरमर्दो देखिएको छ – रात ।  जो हिजोको साँझ देखिएको थिएन  । अस्तिको साँझ पनि  । र, सायद भोलि पनि नदेखिदो हो  । हुँदो हो यस्तो आज मात्रै मैले देखेँ । एक युगमा एक दिन एकचोटि आउँछ (गोपालप्रसाद रिमाल) । एक युगमा एक रात एकचोटि आउँछ (म) ।

कुकुरहरु भुकिरहेछन्  । चित्कारको चित्रण गर्छु म – यी भुकाइहरुमा । एउटा अनौठो आवाज- यो रातको आवाज हो, आइरहेछ । गैरहेछ । भ्वाउँ भ्वाउँ…. । कहिलेकाही रात कुकुर झै भुक्छ कहिलेकाही कुकुर रात झै भुक्छ । हुँदो हो – यस्तो नहुँदो हो पनि  ।

भर्खरै एउटा बाइक कुद्यो  । अँध्यारो चिर्न हेडलाइट बालिएको रहेछ ।
भर्खरै पल्लो कोठा उज्यालियो । अँध्यारो हटाउन ममबत्ती सल्काइएको रहेछ  ।
भर्खरै एउटा मान्छे मोबाइल समाउदै पर मोडमा पुग्यो । अँध्यारो पन्छाउन फ्ल्यासलाइट बालीएको रहेछ  ।
म अच्चमित भइरहेको छु  । अँध्यारो चिर्न मान्छे किन उज्यालो बाल्छ ? उज्यालो बन्छ ?

अलि अघि(साँझ) ‘रुम’ आउदै गर्दा सडकका सब मोटरहरु हेडलाइट निभाएर कुदिरहेका थिए । म हैरान भएँ  । र, भईन पनि । र, फेरि यतिखेर रात छ, अँध्यारो छ  । मोटरहरु हेडलाइट बालेर दौडिरहेका छन् । म हैरान भईन  । र, भएँ पनि  ।   उज्यालो भएपनी हेडलाइट बाल्दा हुन्छ  । अँध्यारो हुँदा हेडलाइट निभाउदा पनि हुन्छ ।

मान्छे किन यत्ती उपद्रो गर्छ ? मान्छे प्रकृतिको विपक्षी बन्न किन रुचाउँछ ? यो त हामी मान्छेको आदत कम स्वभाव बेसि हो – हामिलाई प्रकृतिसँग लड्न मन पर्छ । पौठेजोरी खेल्न मन लागिरहन्छ । नदि बगेको मनपर्दैन- बाँध लगाईदिन्छौ  । नदि रोकिएको मनपर्दैन – बाढी बनाएर बगाईदिन्छौं । चरा उडेको मनपर्दैन – पिंजडा बनाइदिन्छौं(सिङ्गो आकाशलाई पनि) ।  रुखविरुवा हुर्केको मनपर्दैन – काटीदिन्छौं  । झरना खसेको मनपर्दैन – थुनिदिन्छौं । ताल बनेको मनपर्दैन- झारीदिन्छौं  । फुल फुलेको मनपर्दैन- चुडीदिन्छौं  । हामि मान्छे- जन्मसिद्द प्रकृतिको दुश्मन हौँ । र, मृत्युपर्यन्त पनि दुश्मनी मोलिरहन्छौँ  ।

ओह.. लौ ! भर्खर अर्को मान्छे बेस्मारी उता दगुर्यो । हुनसक्छ अध्यारोद्वारा लखेटियो ऊ  ।
आह… ला ! भर्खर फेरी अर्को मान्छे बेस्मारी यता दगुर्यो  । हुनसक्छ उद्वारा अँध्यारो लखेटियो  ।

झ्याल देखि ठ्याक्कै देखिन्छ- किराना पसल । टोलभरिका मान्छे जम्मा भएछन् क्यार ! अस्पस्ट आवाजहरु आइरहेका छन् । एउटा स्पस्ट तर रुखो आवाज आउँछ, ‘ह्याँ यो रात कति अध्यारो भा’को ?’, म खिस्स हासिदिन्छु  ।
फेरी अर्को तोते आवाज आउँछ, ‘ममि रात किन कालो भएको ?'(तोते आवाज कान हुँदै हृदयसम्म ठोकिन्छ । झंकृत हुन्छु  ।)
‘रात कालो छ किनभने रात तिम्रो ममिले झैं फेयर एण्ड लभली लगाउदैन ।’ दम्पतिको आपसी मुक्का प्रहार । वरपरकाहरुको गलल हाँसो  ।मलाई दिक्क लाग्छ । झ्याल बन्द गरिदिन्छु । पर्दा तानीदिन खोज्छु  । तर तान्दीन । अध्यारो आफैंमा पर्दा हो ।

तर ती हल्लागर्नेहरुका मोबाइल फ्ल्यासलाइटको चामकचुमुक आइरहन्छ- अन्तत: पर्दा तानीदिन्छु । पर्दा आफैमा अध्यारो पनि हो ।

रात अध्यारो हुनुमा, अँध्यारो कालो हुनुमा र उज्यालो सेतो हुनुमा सौन्दर्यपुजकहरुको/ रङ प्रेमीहरुको टाउको दुखाइ वर्षौ देखिको हो । म यस्ता कुरामा टाउको दुखाउदीन । तर कालो रङ कवितात्मक रङ हो भन्नेहरुको भिडमा म आफूलाई पनि घचेट्न रुचाउँछु । कारण तेति बिघ्न केही पनि होइन । अँध्यारो छ , यसैले त उज्यालो छ । अँध्यारो नहुँदो हो त माथि उल्लेखित ती कर्महरु सिद्द हुन सक्ने नै थिएन्  । उज्यालोको अस्तित्व अध्यारो हुनुमा नै छ । उज्यालोको अस्तित्व अँध्यारो हुनु नै हो । (र भाइस भर्सा पनि  ।)

म ममबत्ति निभाईदिन्छु  । व्याप्त अध्यारो छाउँछ- मृत्यु जस्तै ।  हलुका उज्यालो सायद ममा हुँदो हो – म आफ्नो कोठाको चिजवस्तुहरु ठम्माउन सकिरहेको छु  । अँध्यारो – सब्बै चिज/ वस्तु र हरेक अनुहारलाई आफ्नै अनुहारमा ढाल्न सक्छ । त्यो कुनाको रातो डस्ट्बिन पनि यतिखेर रात जस्तै अँध्यारो देखिएको छ  । त्यो ह्याङरमा झुण्डीरहेको पहेलो मफलर पनि यतिखेर रातकै अनुहारको छ  । ढोका देखि मसम्म आइपुगेको ‘मल्टिप्लक’को सेतो तार पनि कालो रङमा ढलेको छ । रात मायावी छ । आमाको माया जस्तै । आफैमा निर्लिप्त गराउने तागत राख्दछ  । एउटा न्यानो अनुभूत – जीवन जस्तै ।

ममबत्ती फेरी बाल्छु । पग्लीरहेको ममबत्तिमा चुरोट झोस्छु  ।…चुरोट पीईसक्छु  । ममबत्ति फेरी निभाईदिन्छु । बाहिर कोलाहल अलिक मत्थर हुँदै गएको छ । कुकुर भुकाइ अझ बढीरहेछ  । एक रात बत्ति नआइदिदा यी कुकुरहरुको यत्रो कर्कशता ! मलाई हामि मान्छेप्रति कुकुरहरुको सरासर व्यंग झैँ लाग्दछ यो । मलाई थाहा छ – यी कुकुरहरुलाई मान्छे भुकेको मनपर्दैन् ।   र, हामि मान्छेहरुलाई ? म प्रायः निदाउनु अघि हर रात कुकुर भुकाइको आवाज नै सुन्ने गर्दछु ।

ममबत्ति फेरी बाल्छु । ममबत्ति बालेर रात हेर्ने धोकोले । तर यो सम्भव भैदिएन्  । रात हेर्न सकिदैन । रात जम्मामा महशुश हो  । र, दिन ? दिन जम्मामा एक अवलोकन  । एक दृस्टी । बस् यत्ति  । यसकारण पनि मलाइ रात काव्यात्मक लाग्छ –  यो झन्झटिलो छैन/अप्ठ्यारो छैन/अटेरी छैन ।  ममबत्ती निभाइदिएँ, भर्खरै अँध्यारो भइदिन्छ । ममबत्ती बालें- यी, भर्खरै उज्याल्यो भैदियो  ।

 ममबत्ती निभाएर भोलि बिहान म यो कोठा अँध्यारो बनाउन कहाँ सक्छु  र ?
दिन सार्हो अटेरी छ । बेसि अपजसिलो । उज्यालो – कुनै हठी राजा जस्तो छ । तानाशाह जस्तो छ । अहमले पुलकित छ । स्वभावतः घमण्डी ।
***
रातको ब्राह बज्न ब्राह मिनेट नै बाँकी छ । ति तमाम हल्लाहरु चुपचाप लागिसकें(कुकुरका भुकाइ छाडेर ) । उज्यालो लेस मात्रै पनि छैन् । झ्याल हुँदै पसीरहेका चिसो बतासलाई मेरो न्यानो जीउमा बहेलिन दिन्छु । बास खोज्दै आएका – बरा चिसा बतासहरु ! ओत खोज्दै आएका  ! न्यानो हुन आएका ।… केहि बेर त्यसै उभीइरहन्छु  । बतास  मेरो जीउमा बहेलिरहन्छ ।

आकाशमा कतै बाट खुडे जुन टुपुल्किन्छ  । मलाई चिच्चाउन मन लाग्  । ए उठ्यो शहरबासिहरु ! तिमा’रुको इच्छा थोरै भएपनि पुरा भयो । तर यी शहरवासीहरु अन्तिम घुट्को जाँड धोकेर घुरीसकेका छन् । मेरो चिच्चाहट व्यर्थ सावित होइदिन्छ ।

म पर्दा जम्मै उघार्छु । चिसो हावा जस्तै गरि मन्द उज्यालो पनि कोठा भित्र छिर्छ। म आफूलाई व्यर्थ पाउँछु । ति तमाम सोचहरु व्यर्थ होइदिन्छन्  । थोरै उज्यालो पनि प्रयाप्त पाउँछु- यतो व्यापक अध्यारो चिर्न। मलाई आफ्नो निर्माणाधीन मानसिक सन्तुलन र सोचका पर्खालहरु लडाउन मन लाग्दैन् । म पर्दा फेरि तानीदिन्छु । झ्याल ड्यामडुम लगाईदिन्छु ।

शुरुको अवस्थामा फर्कन मलाई समय लाग्छ  । बलिरहेको ममबत्तीमा मेरो ओठ झोस्छु ।… लामो धुवाँ । फोक्सो न्यानो हुन्छ । मन पुलकित हुन्छ  । र, फेरी चुरोटको ठुटो  बलिरहेको ममबत्तीमा झोसीदिन्छु । आनन्द लाग्छ । अध्यारोमा हराउँछु । आफूलाई हेर्न खोज्दिन । बस् आखा ट्वाल पारेर बसीरहन्छु ।
आह..! यो अन्धाकारमय सौन्दर्यता  । यो रहस्यमय माहोल । यो सुगन्धित स्वतन्त्रा  । यो मातलाग्दो आत्मियता  ।

***
रातको दुइ बजेर सात मिनेट गएछ । मलाई पिसाब लाग्छ । तातो पिसाब चिसो मार्वलमा हुत्ताएर ब्ल्यांकेट भित्र लुकाउँछु- आफूलाई  । लाग्छ- यो प्राणहिन ब्ल्यांकेट मेरै प्रतीक्षामा थियो । बल्ल यो प्राणयुक्त भएको छ ।  हुँदो हो यो मेरो बहुलठ्ठी सोचाइ हुदो हो । अध्यारोमा अंकुरित सोचाइहरु यस्तै हुँदा हुन्  । बहुलठ्ठी किसिमका ।

बतास  झ्याल सुमसुम्साउदै फर्किरहेछन् । र, यी बतासले बोकी ल्याएका मिठा आवाज मलाई गुनगुनाइरहेछन्, मलाई यस्तै लाग्छ  । अनि यो एकान्त ।  म ढुक्कले सास निलीदिन्छु अनि फ्यालीदिन्छु । अर्कै मादकत्व छ यहाँ । बेग्लै स्वाद छ – यी हावामा । यी हावाहरु यति स्वादिस्ट मलाई प्रथमपटक लागेको हो । सायद यो कुनै प्राचिन युगको एक उर्वर समयको झल्को हुँदो हो ।

रात अझ ध्वासें हुँदै छ । आफ्नो सुन्दरताको चरम अवस्थामा पुग्दै छ – रात । आफ्नो सौन्दर्यको अत्तर छर्कीरहेछ  । अरे अरे ! समयको यो प्राणविहिन अवस्था । उफ्फ़…! मेरो छाति भुक्क फुल्छ । चरम आनन्दले । परम सुखले । आत्मसन्तुष्टिको त्यो अवस्था जहाँ – हामि आफूलाई नै बिर्सन्छौ । कल्पनाको उडान । युटोपियाको निर्वास  । आह…! यो रात यति प्रिय किन भइरहेछ ? यो गाढा अध्यारो यति आत्मीय किन बनिरहेछ ? यो काले/ध्वासें रात किन मसँग टासीईरहेछ ?

म ओठ तन्काइदिन्छु । चुमिदिन्छु । यो रातलाई । एउटा लामो चुम्बन । उफ्फ…! रातको यो डरलाग्दो प्रेमिल आलिंगन । स्व: बोधको एउटा स्थिति । मेरो हृदय भुक्क फुल्छ ।

***
बिहानको साढे चार बजे  ।
यो आकर्षण ! यो मोह ! यो अकल्पनीय सुख ! मन र मस्तिष्क मानौं एकै हुन्छ  । एउटै हुन्छ  । यो रात  । यो अध्यारो  । अनि यो सुन्दरता  । म कताकता डराउछु पनि  । ‘ज्यादा खुसि र ज्यादा पीडाबोध आत्महत्याको प्रमुख लक्षण हुन्  ।’ मलाई कुनै अखबारी पृष्ठको एउटा कुनो झल्यास्स याद आउँछ  । म हुत्त्त हुत्तिन्छु  । डोरी चुडेको चंगा झैँ  । र ठोकिन्छु- बादलहरुसँग । र लफ्रक्क भिज्छु  । मलाई अब फेरी पृथ्वीमा ओर्लन मन छैन  । अँह.., मलाई समयको यो नमिठो झापड कदापि स्वीकार्य छैन  ।

त्यै समय अचानक कोठाबाट अध्यारो भाग्छ  । मन चिसो हुन्छ  । जिउ तातो  । दिमाग मानौ बसालेको चिया हो- उम्लिरहेछ  । एक्कासि कोठा उज्यालो हुन्छ  । मलाई भाउन्न छुटेर आउँछ  । थुचुक्क बस्छु  ।
मलाई स्वीकार्य छैन उज्यालो  ।
अहँ मलाई बिल्कुल स्वीकार्य छैन यो उज्यालो  ।

आखाँ चिम्लिन्छु  । आफूलाई त्यो कल्पनाको दुनियाँदेखि ओराल्न हम्मेहम्मे पर्छ  । आँखा बिस्तारै खोल्छु  । कोठामा अध्यारो लेस मात्रै पनि छैन  । पुन: आँखा चिम्लनछु  । पुन: आँखा उघार्छु  । ‘तैट,  बत्ति पो आएछ !’ – होस् सम्हालेपछी मनमनै म यत्ति बोल्छु  ।

मलाई मेरो कोठाको सिलिंगको रङ मनपर्दैन  । त्यो पहेलो मफलर पहेलो नै रहिरहेको मनपर्दैन  । त्यो रातो डस्टबिन रातो रहिरहेको मनपर्दैन  । मलाई किताबका कभरको रंग मनपर्दैन  । किताबका सेता पानाहरु मनपर्दैन  । पर्दाको फिक्का पहेलो रंग देखि दिक्क लाग्छ  । पेंटिङका पहेला र हरिया रंगसँग घृणा पलाउँछ  । टेबुल र बेन्चका खैरा रंगहरु देखेर उदेक लागेर आउँछ  । मलाई आफ्नै छालाको रंग मनपर्दैन  । आफैले लगाईरहेको हरियो जकेट र निलो पाइन्ट खोलेर फ्याल्न मनलाग्छ  ।

 जुरुक्क उठेर बत्ति निभाउछु  । कोठामा कतैबाट  मधुरो प्रकाश छिरेको भान हुन्छ  । कालो रंग एक्कासि लुप्त भयो  । रात बिस्तारै हराउँदै गैइरहेछ  । र, हरेक चिजवस्तुहरु आफ्नो अनुहारमा क्रमश: देखिदै आइरहेका छन्  । कन्चटनेर तातो महसुस गर्छु  । निधार चिटचिट गर्छ  । म कोठामा आफूलाई बिल्कुल एक्लो र श्रापित पाउँछु  । ल्यापटपको कालो रंगको किबोर्ड बाहेक मलाई केहि मनपर्दैन  । मोबाइल स्वत: चार्ज भइरहेको हुन्छ  । पहेलो रंग फ्रन्ट क्यामरानेर  टिमिक..टिमिक गरिरहेको हुन्छ  ।  चार्जिंग प्लगबाट थुतिदिन्छु  ।…बल्लतल  मोबाइलको कालो स्क्रिनसँग मेरो प्रेम हुन्छ  ।

ममबत्ति पग्लिएर वैदिक संस्कृति(प्रा.शिवगोपाल रिसाल)को कभर पेज खराब भएछ  । नजिकैको चुरोटको बट्टा उठाउँछु  । रित्तो बट्टा पल्लो कुना तिर बताईदिन्छु  । उठेर चिया उमाल्छु  । बिहानको पाँच बजेर तेह्र मिनेट गएको छ  । मोजा छेडेर छिरेको भुइँको चिसोले दिमाग अझ अशान्त बनाउँछ  ।

***

चिया गिलासमा हाली पिउन शुरु गर्दा बाहिर मान्छेको हल्ला शुरु भइसकेको हुन्छ  । ‘क्लोसट्रल र रक्तचाप’का भुडीवाल घनिष्ठ साथिहरु घरदेखि बाहिरिने क्रम शुरु भएको छ  । ‘ल्याम्पपोस्ट’हरु शितले नुहाएर झन उज्याला र झनै प्रकाशिला देखिएका छन्  । म पर्दा लगाईदिन्छु  । मलाई यो उज्यालो कदापि स्वीकार्य छैन  ।

तर आवाजहरु पर्दा छेडेर कोठाभित्र भित्रीरहन्छन्  । मर्निङ वाँकमा बजारिएका  खुट्टाका आवाजहरुले मानौ मेरो छातीमा लात बर्साइरहेछन्  । मोटरबाइकहरु हेडलाइट बालेर दौडीरहेका छन्  । रिस उठछ- मिर्मिरे उज्यालोमा केको चटक हो ? बाटो देखिएकै त छ  ।

भजन सुनिन्छ  । रेडियोको विभिन्न अस्पष्ठ आवाज आउँछ  । शंख/घन्ट बज्न थाल्छन्  । झ्याल र ढोका खोलिएका आवाजहरु आउन थाल्छन्  ।  घर्याक…घुरुक्क,….ढ्याक्क, ठ्यांग. कुईई…ड्याम्म,….घर्याक्क….।

कोठा अझ उज्यालिदै जान्छ  । हल्लाहरु क्रमशः बढ्दै गइरहेछन्  ।  कुकुरहरू भुक्न छाडिसकेका छन्  । अब मान्छेहरु भुक्न थालेका छन्  । हास्न थालेका छन्  । सुस्केरा निकाल्न थालेका छन्  । लामालामा हाइ- काढिरहेछन्  ।
म एकफेर रातको त्यो एकान्तमा फर्कन खोज्छु  । तर त्यो सुनसान अब कहाँ ? त्यो चुपचाप अब खै कहाँ ?

म जबर्जस्ति चिया पिउँछु  । निन्द्रा अझ पनि आइपुगेको छैन मेरो आखाँमा  । म आँखा पुन: आँखा चिम्लन्छु  । तर आखाँमा कसोकसो घामका किरणहरु परे झैं लाग्छ  । आँखा बिझाउँछ – एक्कासि  ।

आँखा खोल्छु, हो त- पर्दाको एक कुनो बाट घाम मलाई चिहाइरहेछ  । म आंतकित हुन्छु  । टाउको समातेर रुन थाल्छु  । मलाई स्विकार्य छैन उज्यालो  । अहँ मलाई बिल्कुलै स्विकार्य छैन यो उज्यालो  ।

ढोकामा कसैले ढक् ढक् गर्छ  ।
आँसु पुछेर ढोका तिर लम्किन्छु  ।
‘को हो ?’ बाहिरबाट कुनै आवाज आउदैन  ।
ढोका उघार्छु  । कोहि पनि देखिन्न  ।

म ढोका ढ्यापीदिन्छु  । अब कोठा लगभग लगभग उज्यालो भइसकेको छ  । सर्टरहरु खोलिएको रुखो आवाज आइरहेछन् । गाडिहरु कुद्न थालेका छन्  । बाक्ला जकेटमा घुसारेर आफूलाई मान्छेहरु आ-आफ्ना काम तिर दौडने बेला हुन लागिसकेछ  । म झ्यालबाट आफूलाई हटाउछु  ।

बिहानको छायाँ फिक्का कालो रंङमा ढलिसकेछ  । उफ्फ..यो बिहान किन भयो ? यो उज्यालो किन भयो ?

फेरि एकफेर ढोकामा ढकढक सुनिन्छ  । मलाई रिस उठ्छ् । यति बिहान आएर को मसँग मजाक गरिरहेछ  । हत्त न पत्त ढोका उघार्छु  । ढोका बाहिर एउटा सानो चिट हुन्छ  । शितले भिज्दै गरेको  । उठाउँछु  । पढ्छु  । र च्यातिदिन्छु  ।

चिटमा लेखिएको थियो । “किन रिसाएको ? किन आत्तिएको ? किन डराएको ? के नै भएको छ र ? उज्यालो न भएको हो  । बिहान न आएको हो  । शान्त हुनुस् ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank