तेस्रोलिंगी गुरुङको पक्षमा सर्वोच्च फैसला

बुधबार, जेष्ठ २२, २०७६



तेस्रोलिंगी जुनू गुरुङको हत्यामा संलग्न रहेका उनका पार्टनरलाई सर्वोच्च अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ । करिब तीन महिनाअघि उनको हत्या भएको थियो । सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले आइतबार जुनूको पक्षमा फैसला गरेको नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन् ।

उनका अनुसार तेस्रालिंगी महिलाका रूपमा खुलिसकेकी ३२ वर्षीया जुनू पोखराकी हुन् । उनी लाजिम्पाटमा बस्थिन् । उनका पार्टनर २१ वर्षे विदेश कार्की उनीसँगै बस्थे । जुनूको मृत्यु हुनुभन्दा ३ दिनअघि पनि कार्कीले नराम्ररी पिटेका थिए । जुनू प्रहरीकहाँ पुगेकी थिइन् । प्रहरीले उनीसँग मेडिकल रिपोर्ट लिएर आउनु भनेको थियो । उनले मेडिकल जाँच गरिनन् ।

३ दिनपछि उनी मृत भेटिएकी थिइन्   । ‘शरीरभरि पूरै निलडाम थियो’, सम्झँदै पिंकीले भनिन्, ‘मुखबाट रगत निस्किएको थियो ।’ अत्यधिक कुटाइका कारण उनको मृत्यु भएको भन्दै हत्यारा पत्ता लगाउन प्रहरीमा पिंकीको अगुवाइमा जाहेरी परेको थियो । लगातार दबाब र फलोअप गरेपछि फरार हत्यारा कार्की पक्राउ परेका थिए । स्थानीयले पनि छानबिनमा साथ दिएको पिंकीको भनाइ छ ।

तेस्रोलिंगी समुदायमा सर्वोच्चको फैसलाले उत्साह थपिदिएको पिंकी बताउँछिन्, ‘पहिलो पटक तेस्रालिंगी समुदायले न्याय पायो ।’ घटनामा संलग्न कार्कीलाई फौजदारी कार्यविधि संहिताको दफा १७८ अनुसार सजाय भएको हो । जुनूको पक्षमा जिल्ला, पुनरावेदन र सर्वोच्चले तीनै तहका अदालतले समान फैसला गरेका हुन् ।

यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata