जुगलका बिरामीमा मौसमी रुघाखोकी मात्र, सिटामोल अभावले फैलियो रोग

बिहिबार, फाल्गुन १, २०७६



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३, गुम्बा गाउँका ३ सय जना बिरामीमा सामान्य सिटामोलसमेतको अभावमा मौसमी रूघाखोकी फैलिएको चिकित्सकहरूले बताएका छन् ।

एकसाथ धेरैजना बिरामी परेपछि गाउँपालिकाले त्रासमा परेर कोरोना भाइरस को जस्तै लक्षण देखिएको भन्दै सरकारलाई सहयोगको अपिल गरेको थियो । गाउँपालिकाको आग्रहलगत्तै गाउँमा पुगेर बिरामीको स्वास्थ्य परीक्षण गरेका चिकित्सकहरूले सिटामोलसमेत खान नपाएर मौसमी रूघाखोकी फैलिएको बताएका छन् ।

गाउँमा त्रास फैलिएपछि बिरामीका खकारलगायतको परीक्षणका लागि भने काठमाडौं ल्याइने भएको छ ।

मौसमी रूघाखोकी र ज्वरोले एकै गाउँमा सयौँ बिरामी भएको र चिकित्सकसहितको विशेषज्ञ टोली गाउँमा नै गएर उपचार सुरू गरेपछि बिरामीहरू क्रमश: ठीक हुँदै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

गाउँपालिकाले कोरनाको लक्षणजस्तै बिरामी भेटिएको पत्र सार्वजनिक गरेपछि सिन्धुपाल्चोकसहित देशका सबै ठाउँका स्थानीय त्रासमा थिए । गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयको चिकित्सकहरूको टोली लिएर गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठ सहितको जनप्रतिनिधिको टोली रोग प्रभावित गुम्बामा पुगेको होे ।

स्थानीय सामुदायिक स्वास्थ्य संस्थामा बिरामीहरूको उपचार पछि औषधि दिइएको र क्रमश: ठीक हुन थालेको जलविरे अस्पतालका डाक्टर पिताम्बर खनालले जानकारी दिए ।

धेरै बिरामीहरू उपचारपछि घर फर्किसकेका छन् । राजधानीबाट समेत थप टोली गाउँ जाने भएपछि बिरामीहरूलाई तत्कालै अन्यत्र नपठाइने र बिरामीहरूको खकारलगायत अन्य टेष्टका लागि राजधानी नै लैजाने तयारी भएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

चिकित्सकहरूको टोली ३ दिनसम्म गाउँमा नै बसेर बिरामीहरूको उपचार गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । बिरामी हुँदा सामान्य सिटामोलसमेत नपाउँदा बिरामीको संख्या बढेको स्थानीयले बताएका छन् । मौसमी रूघाखोकी र ज्वरोबाट साना बालबालिकाहरू र वृद्धा बढी प्रभावित भएका छन् ।

विद्यालयका विद्यार्थीहरूमा समेत यो समस्या भएपछि विद्यालय नै बन्द भएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिले पनि गुम्बामा कोरोना नभई सिजनल फ्लु भएको जानकारी दिएको छ । विपद व्यवस्थापन समितिको बुधबार बैठक बसेर गाउँमा गएको स्वास्थ्यकर्मीको टोलीलेसमेत सिजनल फ्लु भएको आशंका गरेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट समेत विशेषज्ञ टोली रोगप्रभावित क्षेत्रमा पुगेर उपचार शुरू गरेपछि मात्रै सबै कुरा बाहिर आउने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments