संसद् निलम्बन गर्ने जोनसनको निर्णय अवैध : अदालत

बिहिबार, भदौ २६, २०७६



स्कटल्याण्डको उच्च अदालत ‘कोर्ट अफ सेसन’ ले संसद निलम्बन गर्ने प्रधानमन्त्री बोरिस जोनसनको निर्णय र त्यसबारे महारानी एलिजाबेथलाई दिएको सल्लाह अवैध भएको फैसला गरेको छ।

न्यायाधीशहरूले एकमतले प्रधानमन्त्री जोनसनको संसद् निलम्बन गर्ने निर्णय संसद्लाई अवरुद्ध पार्ने अनुचित उद्देश्यले प्रेरित बताएका छन् ।

गत सोमबारको सत्र सकिनासाथ पाँच हप्ते निलम्बन सुरु भएको थियो । बेलायत युरोपेली युनियन (इयू) बाट अलग हुने मिति नजिकिदै गर्दा संसद निलम्बन गरिएको हो । उच्च अदालतको यो निर्णयविरुद्ध सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।

हालै एक तल्लो अदालतले सरकारको पक्षमा फैसला गरेको थियो । सोही विषयमा इंग्ल्यान्ड तथा वेल्समा दर्ता भएका छुट्टाछुट्टै मुद्दाको सुनुवाइ पनि सर्वोच्च अदालतमा हुँदैछ।

स्कटल्याण्डको अदालतको फैसलाले सरकारको निर्णयमा के असर पर्छ भन्ने स्पष्ट छैन । यद्यपि अदालतको निर्णयले जोनसनको ब्रेक्जिट रणनीतिमा अर्को धक्का लागेको छ।

स्कटल्याण्डको अदालतका न्यायाधीशहरूको फैसलामा भनिएको छ, ‘अदालतले अब आदेश जारी गर्दै प्रधानमन्त्रीले महारानीलाई दिएको सल्लाह तथा लगत्तै भएको संसद्को निलम्बन अवैध भएको घोषणा गर्नेछ।’

सो आदेश ७० जनाभन्दा धेरै स्कटिश नेशनल पार्टी एसएनपीका ब्रेक्जिट विरोधी सांसदहरूले दर्ता गराएको मुद्दाको सुनुवाइका क्रममा भएको हो । यसको अगुवाइ गरेकी एसएनपी सांसद जोआना चेरीले फैसला लगत्तै तत्काल संसद्को अधिवेशन बोलाउन माग गरेकी छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata