अमेरिकाको राष्ट्रपति पदका लागि जो बाइडेनको उम्मेद्वारी सुनिश्चित

शनिबार, जेष्ठ २४, २०७७



एजेन्सी । अमेरिकाको राष्ट्रपतिको आगामी कार्यकालका लागि डेमोक्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेद्वारी दिने सुनिश्चित भएको छ ।  यही बर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनु पर्नेछ ।

कोरोनाको महामारी, आर्थिक चुनौती र नागरिक अशान्ति लगायतका विषयलाई उनले मुख्य एजेण्डाको रुपमा अगाडि सार्ने जनाइएको छ । पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले आफ्नो पार्टीबाट उम्मेदबारी दिने निर्णय शुक्रबार राति भएको हो ।निर्णय भएपछि उनले भनेका छन्, “हाम्रो पार्टीमा धेरै विद्धान तथा क्षमतावान उम्मेदवारहरु अरु धेरै हुदा हुदै पनि मलाई अवसर दिनु भएकोमा म सबै प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

उनले पार्टीको एकतासहित आफूहरु आउँदो आम निर्वाचनमा जान लागेकोमा आफूलाई गौरव महसुस भएको पनि बताएका छन् । आफ्नो पार्टीबाट सहजै उम्मेदवार बन्न पाउने अवस्था आउनु उनका लागि सफल पक्ष भएको राजनीतिज्ञहरुले बताएका छन् । उनको पार्टीबाटै राष्ट्रपतिका लागि उम्मेदवार बन्न चाहेका कतिपय उम्मेदवारहरुले आफ्नो उम्मेदवारी अभियानलाई स्थगित गरेको घोषणा यसअघि नै गरिसकेका छन् ।

डेमोक्रयाटिक पार्टीबाटै उमेदवार बन्न खोजेका बेर्नी सन्डेर्सले गत अप्रिलमै चुनावी अभियानबाट आफू पछाडी हटेको घोषणा गरेका थिए । बाइडेनसँग अहिले एक हजार ९९५ जना डेलिगेडट्स रहेका छन् भने उनले चुनावी प्रचार प्रसारलाई अब झन सशक्त बनाउने बताएका छन् ।

तत्कालिन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति भएकाले उनलाई अमेरिकामा अहिले पनि निकै लोकप्रिय बनाउन ओबामाको ठूलो सहयोग हुने देखिएको छ । पछिल्लो समय बाइडेनलाई उम्मेदवार बनाउन पनि ओबामाले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । उनले आगामी चुनावी अभियानलाई थप प्रभावकारी बनाउने र नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

बर्तमान राष्ट्रपति ट्रम्पले ओबामालाई लगातार अभिव्यक्ति मार्फत् आक्रमण गरिरहने गरेकाले पनि ट्रम्पलाई हराउन ओबामा सक्रिय हुने अनुमान गरिएको छ । ओबामाको समर्थनका कारण बाइडेनलाई अश्वेत मतदाताहरुको थप सहयोग हुने विश्लेषण गरिएको छ ।

ओबामा उपराष्ट्रपति हुनुभन्दा अगाडी बाइडेन झण्डै ३६ वर्ष सिनेटको सदस्यका रुपमा रहेका थिए । उनी अहिले ७७ वर्षको भएका छन् । उनलाई अमेरिकामा अनुभवी, परिपक्क र सन्तुलित नेताका रुपमा लिने गरिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments